काठमाडौँ- देशभरका कलिला बालबालिकाको प्रतिभालाई अवसर दिएर प्रस्फुटित गराउँदै आएको किड्स हङ्गामा युट्युब च्यानलले देउसी भिडियो रिलिज गरेको छ। २०७८ सालको तिहार नजिकिँदै गर्दा च्यानलले स-साना बालबालिकाको मौलिक प्रस्तुति समेटिएको देउसी भिडियो सार्वजनिक गरेको हो।
देशैभरिका बालबालिकाहरूलाई कलाकारिता तथा शिक्षाको क्षेत्रमा विभिन्न अवसर प्रदान गर्दै उनीहरू भित्र अन्तर्निहित प्रतिभालाई उजागर गर्ने उद्देश्य अनुरूप भिडियो बनेको किड्स हङ्गामाका व्यवस्थापक श्याम कुमार रायमाझी बताउँछन्। पहिलो पटक बालबालिकाको सहभागितामा देउसी भैलो कार्यक्रम गरेको च्यानलले काठमाडौँको मण्डिखाटारमा रहेको राइजिङ स्टार बोर्डिङ स्कुलका बालबालिकालाई अवसर दिएको छ। साना बालबालिका पनि अवसर पाउने हो भने साँच्चै कुशल काम गर्न सक्छन् भन्ने सन्देश भिडियोले दिएको छ।
अति कलात्मक ढङ्गले प्रस्तुत भिडियोमा बालबालिकाहरू उच्च मनोबलका साथ प्रस्तुत भएका छन्। भिडियोमा उनीहरूले समूहमा देउसी गाएर उपयुक्त आशीर्वाद दिनुका साथै आफैँ वाद्यवादन पनि प्रयोग गरेको देख्न सकिन्छ। इलेक्ट्रोनिक गेममा बढी रमाउने यो पुस्ताका बालबालिकाले सांस्कृतिक पोसाकमा सजिएर आफ्नो संस्कृति र चाडपर्व प्रति देखाएको सम्मानको तारिफ सुरु भएको छ। त्यही कारण भिडियो सार्वजनिक भएको छोटो समयमै यसले राम्रो प्रतिक्रिया पाइरहेको छ।
भिडियो हेर्नुहोस्: