Matra Education आइतबार, साउन १० २०८३

शैक्षिक परामर्श नियमावली आवश्यकता अनुसार संसोधन गर्न सरकार तयार: मन्त्री पोखरेल

शैक्षिक परामर्श नियमावली आवश्यकता अनुसार संसोधन गर्न सरकार तयार: मन्त्री पोखरेल

  • मात्र एजुकेशन
  • बिहिबार, साउन ७ २०८३


काठमाडौं-  शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले शिक्षा क्षेत्रको सुधार र व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताएका छन् ।

शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका सरोकारवालासँग भएको छलफलमा मन्त्री पोखरेलले निजी क्षेत्र सरकारको साझेदार भएकाले समन्वय र सहकार्यलाई प्राथमिकता दिइने बताए। उनले विद्यार्थीको हितलाई केन्द्रमा राखेर गुणस्तरीय शैक्षिक परामर्श दिन कन्सल्टेन्सीहरूको पनि महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गरे।

मन्त्री पोखरेलले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी, जिम्मेवार र गुणस्तरीय बनाउन नयाँ नियमावली ल्याइएको जानकारी दिँदै आवश्यक परे कानुनी प्रक्रियाअनुसार संशोधन गर्न सरकार तयार रहेको बताए। उनले नाफामुखी सोचभन्दा गुणस्तरीय सेवा र सही परामर्शलाई प्राथमिकता दिन व्यवसायीलाई आग्रह गरे।

प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले निजी क्षेत्रका जायज माग सम्बोधन गर्न सरकार र संसद् दुवै सकारात्मक रहेको बताए। नियमावलीमा रहेका कमजोरी प्रक्रियाअनुसार सुधार गर्न सकिने उल्लेख गर्दै उनले विद्यार्थी ठगी नियन्त्रणसँगै व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिए।

छलफलमा सहभागी कन्सल्टेन्सी व्यवसायीहरूले शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ लाई समग्रमा सकारात्मक रहेको बताए। तर संस्था दर्ताका लागि धरौटी रकम, स्वीकृति शुल्क र नवीकरण शुल्कजस्ता व्यवस्थालाई व्यवहारिक बनाउनुपर्ने सुझाव दिए। साथै नेपाललाई ‘ग्लोबल एजुकेसन हब’ का रूपमा विकास गर्न सरकार र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको धारणा राखे।

मन्त्रालयका अनुसार छलफलमा शैक्षिक परामर्श क्षेत्रका समसामयिक विषय, गुणस्तरीय सेवा प्रवर्द्धन, नीतिगत सुधार, नियामकीय व्यवस्था तथा निजी क्षेत्रले भोगिरहेका समस्या र चुनौतीबारे सुझाव संकलन गरिएको थियो।

कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान), स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन), सक्रिय शैक्षिक परामर्श संघ (एइक्यान), शैक्षिक परामर्श व्यवसायी संस्था (एरी), जापानिज भाषा स्कुल संघ (जालसान), नेपलिज एसोसिएसन अफ अस्ट्रेलियन एजुकेशन रिप्रिजेन्टेटिभ (नायर), नेशनल एजुकेसन कन्सल्टेन्सी एसोसिएसन (नेका) लगायत विभिन्न संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड