काठमाडौँ- वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौँ गोर्खाजसँग सहकार्य गर्ने भएको छ। यस सहकार्य अन्तर्गत काठमाडौँ गोर्खाजको मस्कटको पछाडि वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीको लोगो राखिनेछ।
काठमाडौँको सोल्टीमोडस्थित होटेल क्राउन इम्पेरियलमा आयोजित कार्यक्रममा दुवै संस्थाबिच सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का सचिव आशिक कार्की र काठमाडौँ गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वार सिरोहियाले हस्ताक्षर गरे।
सम्झौतापछि वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीका सिइओ कार्कीले नेपाली क्रिकेटप्रतिको आफ्नो विशेष रुचि र लगावका कारण काठमाडौँ गोर्खाजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। काठमाडौँमै जन्मिएर हुर्किएका उनले नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा निजी क्षेत्रले पनि आ–आफ्नो तर्फबाट योगदान दिनुपर्ने धारणा व्यक्त गरे।
कार्कीले काठमाडौँ गोर्खाजसँगको सहकार्यलाई एउटा टोलीसँग जोडिने विषयमा मात्र सीमित नराखी नेपाली क्रिकेटप्रतिको समर्थन र खेलकुदको विकासमा योगदान पुर्याउने प्रयासका रूपमा लिएको बताए। वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी परिवार नेपाली क्रिकेटलाई सहयोग गर्न इच्छुक रहेको उल्लेख गर्दै उनले एनपीएलको तेस्रो संस्करणमा काठमाडौँ गोर्खाजले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। उनले टोलीका खेलाडी, व्यवस्थापन तथा सम्पूर्ण टिमलाई सफलताको शुभकामनासमेत दिए।
काठमाडौँ गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वार सिरोहियाले टोलीमाथि विश्वास गर्दै सहकार्यका लागि अघि आएकोमा वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीप्रति आभार व्यक्त गरे। खेलकुदको विकासमा निजी क्षेत्रको सहभागिता र सहयोग महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले यस्तो सहकार्यले टोलीलाई थप हौसला र प्रेरणा प्रदान गर्ने बताए।
सिरोहियाले काठमाडौँ गोर्खाजमा ऊर्जा, उत्साह र केही गरेर देखाउने दृढता रहेको बताउँदै टोलीले आफ्नो क्षमता र प्रतिबद्धता मैदानमा प्रस्तुत गर्ने लक्ष्य राखेको उल्लेख गरे। समर्थकको विश्वास र साझेदार संस्थाहरूको सहयोगलाई आत्मसात् गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न टोली प्रतिबद्ध रहेको उनको भनाइ थियो।
वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी र काठमाडौँ गोर्खाजबीचको यस सहकार्यले एनपीएलको तेस्रो संस्करणमा टोलीलाई थप हौसला प्रदान गर्नुका साथै नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने विश्वास दुवै पक्षले व्यक्त गरेका छन्।