काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) उपलब्ध गराउने तथा विदेशबाट प्राप्त शैक्षिक उपाधिको नेपालमा समकक्षता निर्धारण गर्ने प्रक्रिया सहज बनाउन मन्त्रालयले आवश्यक काम गरिरहेको बताएका छन्।
नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेससँग मंगलबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री पोखरेलले यस्तो बताएका हुन्। भेटमा नेपाल र साइप्रस बिचको द्विपक्षीय सम्बन्ध, आपसी हित, उच्च शिक्षामा सहकार्य विस्तार तथा साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीका सवालमा छलफल भएको थियो।
मन्त्री पोखरेलले विगतमा त्रिभुवन विश्वविद्यालयबाट हुँदै आएको शैक्षिक उपाधिको समकक्षता निर्धारणसम्बन्धी काम अहिले विश्वविद्यालय अनुदान आयोगमार्फत भइरहेको जानकारी दिँदै यस प्रक्रियालाई सहज बनाउन आवश्यक नीतिगत सुधारका कामसमेत भइरहेको बताए। भेटका क्रममा साइप्रसका विभिन्न विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीलाई आवश्यक सहयोग उपलब्ध गराउने, उनीहरूको हित संरक्षण गर्ने र अध्ययनका क्रममा आउन सक्ने समस्याको समाधानका लागि सहजीकरण गर्ने विषयमा पनि छलफल भएको थियो।
साइप्रस नेपाली विद्यार्थीका लागि उच्च शिक्षा हासिल गर्ने गन्तव्यमध्ये एक रहेकाले त्यहाँ अध्ययनरत विद्यार्थीको हितका लागि साइप्रस सरकारका तर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्ने विषयमा समेत कुराकानी भएको थियो। दुवै पक्षले उच्च शिक्षाको क्षेत्रमा विगतदेखि हुँदै आएको सहकार्यलाई निरन्तरता दिँदै आगामी दिनमा थप विस्तार गर्ने विषयमा विचार विमर्श गरेका थिए।
सो अवसरमा राजदूत भ्रीयोनिडेसले नेपाल र साइप्रस बिचको आपसी हित तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै उच्च शिक्षाको क्षेत्रमा सहकार्य विस्तार गर्ने विश्वास व्यक्त गरे।