काठमाडौँ- रिलायन्स इन्टरनेसनल एकेडेमी, कपनकी प्रयुषा अधिकारीले ‘जिनियस स्टार अफ नेपाल’ प्रतियोगिताको नृत्य विधातर्फको उपाधि जितेकी छन्। जिनियस डिजिटल म्युजिक प्रालिको आयोजनामा सम्पन्न प्रतियोगितामा बिहानी तामाङ द्वितीय र सायाङ लामा तृतीय भएका छन्।
बालबालिकामा रहेको नृत्य तथा गायन प्रतिभा उजागर गर्ने र उनीहरूको प्रतिभालाई सम्मान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको नृत्य विधातर्फ वरिष्ठ नृत्य निर्देशक कमल राई, वरिष्ठ नृत्य निर्देशक तथा डिडानका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ र कलाकार पुजना प्रधान गुरुङ निर्णायक थिए। गायन विधातर्फ वरिष्ठ संगीतकार राजु सिंह, गायक तथा संगीतकार भानुभक्त ढकाल र गायिका जुनु रिजाल निर्णायकका रूपमा रहेका थिए।
चलचित्र कलाकार संघका पूर्व अध्यक्ष तथा वरिष्ठ कलाकार मोहन निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष तथा वरिष्ठ कलाकार उत्तम केसी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा वरिष्ठ पत्रकार तथा मिलाप मासिकका प्रधान सम्पादक कृष्ण भुसाल, महाकाव्यकार क्षेमनाथ दाहाल, प्रस्तोता समाजका अध्यक्ष नरहरि प्रेमी, पत्रकार गीता अधिकारी, गायिका सारिका घिमिरे, गायक तथा संगीतकार योगेश काजी शाह, कार्यक्रम व्यवस्थापन संघका अध्यक्ष राजेन्द्र लुइँटेल, गायक तथा संगीतकार राजेन्द्र बजगाईँ र चेतन राईलगायत कला, संगीत तथा पत्रकारिता क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।
रिलायन्स इन्टरनेसनल एकेडेमीले विद्यार्थीमा रहेको मौलिक प्रतिभालाई सधैँ प्राथमिकता दिँदै आएको विद्यालयका सहायक प्रधानाध्यापक श्रीधरप्रसाद पौडेलले बताए। विद्यालयले अतिरिक्त क्रियाकलापलाई विशेष प्राथमिकतामा राखेर विद्यार्थीको रुचि र क्षमता उजागर गर्न विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए।