Matra Education आइतबार, साउन १० २०८३

‘स्टडी इन नेपाल’ अभियान अघि बढाउन इक्यान र आइप्यानबीच रणनीतिक सहकार्य

‘स्टडी इन नेपाल’ अभियान अघि बढाउन इक्यान र आइप्यानबीच रणनीतिक सहकार्य

  • मात्र एजुकेशन
  • मंगलबार, असार १६ २०८३


काठमाडौँ- नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेशनल एजुकेसन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) बिच रणनीतिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। सोमबार राजधानीको म्यरियट होटलमा आयोजित एक कार्यक्रममा यस सम्बन्धि सम्झौता भएको हो।

दुवै संस्थाले संयुक्त रूपमा ‘स्टडी इन नेपाल’ अभियानलाई प्रभावकारी रूपमा अघि बढाउँदै गुणस्तरीय शिक्षा, उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण तथा नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थीका लागि अध्ययन केन्द्रका रूपमा विकास गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

इक्यानले विगत तीन दशकदेखि नेपाली विद्यार्थीलाई विभिन्न मुलुकका प्रतिष्ठित शैक्षिक संस्थासम्म सुरक्षित, पारदर्शी र गुणस्तरीय शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएको छ। त्यस्तै, आइप्यानले विदेशी विश्वविद्यालयको सम्बन्धन तथा शिक्षा मन्त्रालयको स्वीकृतिमा नेपालमै अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा सञ्चालन गर्ने संस्थाहरूको साझा संगठनका रूपमा काम गर्दै आएको छ।

समझदारीपछि इक्यानका सदस्य संस्थाहरूले आइप्यानमा आबद्ध कलेज तथा शैक्षिक संस्थामा सञ्चालित कार्यक्रम, अध्ययनका अवसर, भर्ना प्रक्रिया, छात्रवृत्ति, प्रवेश मापदण्ड, करियर सम्भावना लगायतका विषयमा प्रत्यक्ष जानकारी प्राप्त गर्नेछन्। यसबाट विद्यार्थी तथा अभिभावकलाई अझ तथ्यपरक, अद्यावधिक र गुणस्तरीय शैक्षिक परामर्श सेवा दिन सहज हुने अपेक्षा गरिएको छ।

दुवै संस्थाले नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थीका लागि आकर्षक अध्ययन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न, विदेशी विद्यार्थी भर्ना बढाउन, शैक्षिक ब्रान्डिङ, अनुसन्धान, अन्तर्राष्ट्रिय साझेदारी तथा शैक्षिक कूटनीतिलाई सुदृढ बनाउन पनि संयुक्त रूपमा काम गर्ने सहमति गरेका छन्।

समझदारीअनुसार क्षमता अभिवृद्धि कार्यक्रम, अन्तरक्रिया, शैक्षिक अभिमुखीकरण, अनुसन्धान, नीतिगत संवाद, व्यवसाय–व्यवसाय (बीटुबी) सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय शिक्षा सम्मेलन तथा ‘स्टडी इन नेपाल’ अभियानअन्तर्गत राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रवर्द्धनात्मक कार्यक्रमहरू समेत संयुक्त रूपमा सञ्चालन गरिनेछ।

यसैगरी, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा अवसरबाट वञ्चित विद्यार्थीलाई आइप्यानका सदस्य संस्थामा छात्रवृत्ति तथा विशेष शैक्षिक अवसर उपलब्ध गराउन पनि दुवै संस्था सहमत भएका छन्।

समझदारी हस्ताक्षर समारोहमा दुवै संस्थाका नेतृत्वले यस सहकार्यले नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी, विश्वसनीय र विद्यार्थीमैत्री बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै, ‘स्टडी इन नेपाल’ अभियानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन सरकार, विश्वविद्यालय, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य विस्तार गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड