काठमाडौं- शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ सम्बन्धमा १४ वटा शैक्षिक परामर्शसम्बद्ध संघ–संस्थाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यसँग छलफल गरेका छन्।
रास्वपाको केन्द्रीय कार्यालयमा सम्पन्न छलफलमा शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा सरोकारवालाहरूले आफ्नो धारणा राख्दै संयुक्त रूपमा तयार गरिएको ज्ञापनपत्र महामन्त्री आचार्यलाई हस्तान्तरण गरेका थिए।
ज्ञापनपत्रमा शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ का विभिन्न व्यवस्थाबारे सरोकारवालाको धारणा, सुझाव तथा माग समेटिएको जनाइएको छ।
भेटका क्रममा महामन्त्री आचार्यले ज्ञापनपत्रमा उठाइएका विषयहरूको गम्भीर अध्ययन गर्ने, पार्टीका सभापतिसँग आवश्यक छलफल गर्ने तथा यस विषयमा आगामी दिनमा आवश्यक समन्वय र संवाद अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको सहभागीहरूले बताएका छन्।
शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित नियमावलीबारे सरकार र सरोकारवालाबीच निरन्तर संवाद आवश्यक रहेको सहभागीहरूको भनाइ छ। यस विषयमा हुने आगामी प्रगतिबारे समयानुकूल जानकारी गराइने जनाइएको छ।