काठमाडौँ- राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) ले शैक्षिक परामर्श संस्थाहरूमाथि भइरहेको अनुगमन, अनुसन्धान तथा नियमन प्रक्रियालाई सकारात्मक रूपमा लिएको जनाएको छ। संघले विद्यार्थी तथा अभिभावकको हित संरक्षण, सेवा प्रवाहमा पारदर्शिता कायम गर्ने तथा शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यले गरिने कानुनी तथा नीतिगत पहलमा आफूहरू सधैँ सहयोगी रहने स्पष्ट पारेको छ।
संघले जारी गरेको प्रेस विज्ञप्तिमा शिक्षा क्षेत्रको नाममा हुने ठगी, भ्रामक आश्वासन, नक्कली कागजातको प्रयोग, अवैध आर्थिक कारोबार तथा मानव तस्करीसँग सम्बन्धित गतिविधिलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने उल्लेख गरिएको छ। यस्ता गतिविधिमा संलग्न व्यक्ति वा संस्थामाथि निष्पक्ष, पारदर्शी र प्रभावकारी कारबाही हुनुपर्नेमा संघ सहमत रहेको जनाएको छ।
यद्यपि, अनुसन्धान तथा सोधपुछकै प्रारम्भिक चरणमा रहेका घटनाका आधारमा सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई एउटै दृष्टिकोणबाट हेर्ने, संस्थाहरूलाई सामूहिक रूपमा शंकाको घेरामा राख्ने वा अपराधीकरण गर्ने प्रवृत्तिप्रति संघले गम्भीर चासो व्यक्त गरेको छ। कुनै पनि अनुसन्धान व्यक्तिगत जिम्मेवारीको सिद्धान्तमा आधारित हुनुपर्ने र सम्पूर्ण व्यवसायलाई सामूहिक रूपमा बदनाम गर्ने शैली उचित नभएको नेकाको भनाइ छ।
साथै, अनुसन्धानको अन्तिम निष्कर्ष नआउँदै सम्बन्धित संस्था वा व्यवसायीहरूको नाम, विवरण तथा तस्बिर सार्वजनिक गरिनु प्राकृतिक न्यायको सिद्धान्त र प्रक्रियागत निष्पक्षताको भावना विपरीत हुन सक्ने संघले जनाएको छ। यस्ता गतिविधिले संस्था तथा व्यवसायीहरूको प्रतिष्ठा, लगानी वातावरण र नेपालको अन्तर्राष्ट्रिय शैक्षिक छविमा समेत नकारात्मक असर पर्न सक्ने भएकाले सम्बन्धित निकाय तथा सञ्चार माध्यमलाई संवेदनशील र जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरिएको छ।
प्रेस विज्ञप्तिमा अधिकांश शैक्षिक परामर्श संस्थाहरू कानुनी प्रक्रिया, नियामकीय मापदण्ड तथा व्यावसायिक आचारसंहिताभित्र रही सेवा प्रवाह गरिरहेको उल्लेख गर्दै वास्तविक दोषीलाई कानुनी दायरामा ल्याउने र इमानदार व्यवसायीहरूको मनोबल तथा प्रतिष्ठा जोगाउने दिशामा ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
संघका अध्यक्ष भूपेन्द्र सिटौलाद्वारा जारी विज्ञप्तिमा विद्यार्थी तथा अभिभावकलाई विदेश अध्ययनसम्बन्धी निर्णय गर्दा नेपाल सरकारबाट स्वीकृति प्राप्त, दर्ता भएका तथा विश्वसनीय शैक्षिक परामर्श संस्थासँग मात्र सम्पर्क राख्न पनि अनुरोध गरिएको छ।

