काठमाडौँ – नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) ले शिक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको परामर्श संस्थाहरूको नवीकरण सूचीप्रति आपत्ति जनाएको छ। संघका अनुसार उक्त सूचिमा तथ्यगत त्रुटि, अपूर्णता र कतिपय मान्यता प्राप्त संस्था समेत छुटेका कारण विद्यार्थी, अभिभावक र सेवाग्राहीहरूमा अनावश्यक भ्रम फैलिएको छ।
संघले मन्त्रालयले दिएको विवरणले परामर्श क्षेत्रमा पारदर्शिता भन्दा उल्टो अविश्वास बढाएको भन्दै असन्तुष्टि प्रकट गरेको छ। साथै, प्रदेश सरकारले दर्ता गरेको संस्थालाई समेत मान्यता दिनुपर्ने र शिक्षा मन्त्रालय र प्रदेश सरकार बिच सहकार्य गरी एउटै एकीकृत विवरण सार्वजनिक गर्नुपर्ने माग गरेको छ।
नेक्साका अनुसार विद्यार्थी र अभिभावकको पारदर्शिता, विश्वास र हित पहिलो प्राथमिकता हुनुपर्छ। संघले सुरक्षित, सहज र विश्वासिलो शैक्षिक वातावरण सिर्जना गर्दै विद्यार्थीलाई गुणस्तरीय परामर्श सेवा उपलब्ध गराउनु सबैको साझा दायित्व भएको स्पष्ट पारेको छ।
