Matra Education बुधबार, भाद्र २४ २०८३

विद्यार्थीहरूको उत्साहजनक सहभागितामा सम्पन्न भयो नेक्साको ‘कोरियन एजुकेसन फेयर’

विद्यार्थीहरूको उत्साहजनक सहभागितामा सम्पन्न भयो नेक्साको ‘कोरियन एजुकेसन फेयर’

  • मात्र एजुकेशन
  • शनिबार, कार्तिक २२ २०८२


काठमाडौँ – नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) ले आयोजना गरेको पहिलो ‘कोरियन एजुकेसन फेयर’ विद्यार्थीहरूको उत्साहजनक सहभागितामा सम्पन्न भएको छ। शनिबार काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा आयोजित उक्त शैक्षिक मेलामा करिब ५००० विद्यार्थी सहभागी भएका थिए। दक्षिण कोरियामा उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई लक्षित गरेर मेला आयोजना गरिएको थियो।

मेलामा सहभागी विद्यार्थीहरूले कोरियाका विश्वविद्यालयका आधिकारिक प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी अध्ययन कार्यक्रम, शुल्क संरचना, छात्रवृत्ति अवसर र भविष्यका रोजगारी सम्भावनाबारे जानकारी लिएका थिए। कार्यक्रममा Daewon University College, Yewon Arts University, Dong-Eui University का प्रतिनिधिहरू प्रत्यक्ष रूपमा उपस्थित भएका थिए भने र Namseoul University का प्रतिनिधिले अनलाइन परामर्श प्रदान गरेका थिए। साथै, करिब ३० वटा प्रतिष्ठित शैक्षिक परामर्श संस्था पनि सहभागी भएका थिए।

मेलामा सहभागी विद्यार्थीहरूले प्रत्यक्ष परामर्शका साथै शतप्रतिशत सम्म छात्रवृत्ति,’अन–स्पट एडमिसन’, ‘मुभि टिकट’ र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए। सहभागी विद्यार्थीहरूले मेला अत्यन्तै उपयोगी भएको भन्दै नेक्साले यस किसिमका कार्यक्रम आगामी दिनमा समेत गर्नुपर्ने सुझाव दिए।

नेक्सा अध्यक्ष सन्तोष खनालले फेयरले दक्षिण कोरियालाई एक आकर्षक अध्ययन गन्तव्यका रूपमा नेपाली विद्यार्थीहरूबिच स्थापित गर्न सहयोग पुर्‍याएको बताए। मेलाले विद्यार्थी, अभिभावक र परामर्शदाता बिचको विश्वास बढाउँदै शैक्षिक परामर्श क्षेत्रको पारदर्शिता र विश्वसनीयता सुदृढ गर्ने कार्य गरेको उनको भनाई छ।

अनेक चुनौतीका बाबजुद पनि शैक्षिक मेला सफलतापूर्वक सम्पन्न भएको भन्दै उनले सहकार्य गर्ने सबैलाई धन्यवाद दिए। कार्यक्रम समापन पश्चात् मात्र एजुकेसन सँग उनले भने, “हरेक क्षेत्रमा नकारात्मकता ल्याउन खोज्नेहरू हुन्छन्, हाम्रो यो क्षेत्रमा त्यो प्रवृत्ति अझै बढी देखिन्छ। राज्यको नीति नियम भित्र रहेर, कोरियाका विश्वविद्यालयलाई नेपाल ल्याएर गरिएको यो तहको कार्यक्रमलाई समेत बिथोल्न खोज्नेहरू हाम्रै क्षेत्रमा देखिए। त्यसैले उद्घाटन सत्रमा केही असहज भयो। तर पनि कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। ती चुनौतीले हामीलाई झनै ऊर्जा थपेको छ। सबैलाई धन्यवाद भन्न चाहन्छु।”

नेक्साले यस किसिमका कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड