Matra Education बुधबार, भाद्र ३ २०८३

‘लर्न, अर्न एण्ड रिटर्न’ को नारामा जोड दिँदै नेक्साको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

‘लर्न, अर्न एण्ड रिटर्न’ को नारामा जोड दिँदै नेक्साको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

  • मात्र एजुकेशन
  • शनिबार, साउन ३० २०८३


काठमाडौँ- नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) को दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिवार नयाँ वानेश्वर स्थित एभरेस्ट होटेलमा आयोजित एक औपचारिक समारोहका बिच संस्थाले आफ्नो स्थापना दिवस मनाएको हो। ‘लर्न, अर्न एण्ड रिटर्न’ अर्थात् विदेशमा सिक, कमाऊ र फर्क भन्ने मूल नारा सहित कार्यक्रम सम्पन्न भएको हो। साधारण सभाको उद्घाटन सत्रमा बोल्ने वक्ताहरूले यो नारा व्यवहारमा लागु हुने हो भने नेपाल छिटै समृद्ध मुलुक बन्न सक्नेमा जोड दिए।

नेक्सा अध्यक्ष सन्तोष खनालको सभापतित्वमा सम्पन्न साधारण सभामा रास्वपा सांसद तथा संसदीय समिति अन्तरगत शिक्षा उपसमितिका संयोजक गणेश पौडेल प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा दक्षिण कोरिया बाट पिएचडी अध्ययन पुरा गरी नेपालमा आ-आफ्नो क्षेत्रमा स्थापित डा जीवन खनाल, डा. निरञ्जन कोइराला र डा विवेक तामाङ विशेष अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा सञ्चारकर्मीहरू, विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरू तथा नेक्सा सँग आबद्ध संस्थाका प्रतिनिधिहरू अतिथिका रूपमा उपस्थित रहँदा नेक्सा सदस्य शैक्षिक परामर्श व्यवसायीहरू र शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो।

 

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै नेक्साका वरिष्ठ उपाध्यक्ष आशिष कुँवरले पहिलो वर्षमै नेक्साले आफूलाई सदस्यमैत्री संघका रूपमा स्थापित गर्न सफल भएको बताए। सबैको साथ, सहयोग र रचनात्मक सुझावले यो यात्रालाई अर्थपूर्ण बनाएको भन्दै उनले सम्बद्ध सबैलाई धन्यवाद दिए।

 

कार्यक्रमलाई सम्बोधन गर्दै दक्षिण कोरियामा अध्ययन गरेर फर्किएका डा खनालले नेपाली विद्यार्थी विदेशमा प्राप्त ज्ञान, सिप र दक्षता लिएर नेपाल नफर्किएसम्म देश समृद्ध बन्न नसक्ने बताए। आफ्नो कोरिया अध्ययनको अनुभव सुनाउँदै उनले नेपालीले काम सानो ठुलो हुँदैन भन्ने बुझ्नुपर्ने बताए। “म कोरियामा पिएचडी गर्दै थिएँ तर भाँडा माझ्ने काम गर्थे। जब हामीले सबै कामलाई समान सम्मान गर्छौ तब मात्र हामी आत्मनिर्भरताको बाटोमा जान्छौँ” उनले अगाडी भने, “हामीले स्थानीय ज्ञान सिप बिर्सँदै गएका छौँ, त्यसैले पछि पर्‍यौ। नेपालमा अहिले सबैभन्दा ठुलो आवश्यकता पढ्दै कमाउँदै जस्ता कार्यक्रमको हो।” कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरू अत्यधिक खुसी रहेको आफूले पाएको उनले बताए।

त्यस्तै अर्का वक्ता डा कोइरालाले दक्षिण कोरिया अध्ययन गर्न जाँदा पहिले पहिले भाषा-संस्कृति लगायत विषयमा समस्या आएको भए पनि त्यसलाई चिरेर अघि बढेको अनुभव सुनाए। भाषा शिक्षणमा शैक्षिक परामर्शदाताले र कोरिया सरकारको छात्रवृत्ति नेपाली विद्यार्थीलाई दिलाउने काममा दूतावासले खेलेको भूमिकाको प्रशंसा गरेका उनले कोरिया-नेपाल सम्बन्ध राम्रो भएको र नेपाली विद्यार्थीलाई पनि कोरियन प्राध्यापकहरूले माया गर्ने गरेको बताए। नेक्साको ‘लर्न, अर्न र रिटर्न’को नारा एकदमै मन परेको भए पनि नेपालमा मानव श्रमको मूल्य काम भएको र जीवनयापन चुनौतीपूर्ण रहेको अवस्थालाई पनि नजरअन्दाज गर्न नसकिने उनको भनाई थियो। कोइरालाले नीतिगत तह बाटै सुधार गरेर गरिखान सक्ने वातावरण बनाउने हो भने बिदेसिएकालाई फर्काउन सजिलो हुने बताए। सकारात्मक पहल थालेकोमा उनले नेक्सालाई धन्यवाद दिए।

 

डा तामाङले भने अध्ययन पूरा गरेर नेपाल फर्किन आफ्नै प्रोफेसरबाट प्रेरणा पाएको उल्लेख गरे। कोरियामा अध्ययन गर्ने क्रममा प्रोफेसर तथा विश्वविद्यालयबाट पाएको सहयोगले आफूलाई पढाइप्रति थप प्रेरित गरेको र जापानमा पढाई सकेर कोरिया फर्केका आफ्ना प्राध्यापककै कारण आफू पनि देश फर्किएको उनले बताए। उनका अनुसार कोरियामा अध्ययन गर्न जाने नेपालीमध्ये ९० प्रतिशतभन्दा बढी स्वदेश फर्किने गरेका छन्। अहिलेको विश्व नै ग्लोबल भिलेज बनिसकेको अवस्थामा विदेश जान रोक्न नसकिने भन्दै विदेशमा गएर सिकेको ज्ञान, सीप र अनुभवलाई नेपालमा प्रयोग गर्ने वातावरण बनाउनुपर्ने उनले बताए। प्लस टु पढेपछि ‘त्रिभुवन विश्वविद्यालय होइन त्रिभुवन विमानस्थल’ भन्ने मानसिकता राखेर विदेश जाने विद्यार्थीलाई रोक्न नसकिने भन्दै उनले विदेश जाने क्रमलाई रोक्नेभन्दा पनि अध्ययन सकेपछि स्वदेश फर्किने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। कोरियाबाट नेपालले शिक्षा, प्रविधि, व्यवस्थापन लगायत धेरै कुरा सिक्न सक्ने उनको भनाइ थियो।

विदेशी कम्पनी बन्द गरौँ भन्ने बहस गर्ने हो भने त्यसको विकल्पमा नेपालका कम्पनीले रोजगारी र अवसर दिन सक्ने अवस्था बनाउनुपर्ने पनि उनले बताए। विदेशबाट फर्किएका जनशक्तिको ज्ञान, सीप र अनुभवलाई देश निर्माणमा जोड्न सके नेपालले त्यसबाट ठुलो लाभ लिन सक्ने उनको धारणा थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेक्सा सल्लाहकार सिद्धि बरालले २५ वर्षकै उमेरमा दक्षिण कोरिया गएको आफू त्यही शिक्षाको जगमा आज आफ्नो क्षेत्रमा सफलतापूर्वक काम गरिरहेको बताए। त्यति बेला नेपालीले पाएको दुख, त्यहाँ भएको विभेद लगायतका विषयमा आन्दोलन गरेको, त्यहाँको सरकार सँग श्रमिकहरूका माग बारे पैरवी गरेको र सन् २००७ मा सम्झौता भएको स्मरण गर्दै उनले त्यसकै जगमा आज श्रमिकहरू तथा विद्यार्थीहरूको अधिकार सुनिश्चित भएको बताए। बरालले नेपाली विद्यार्थी स्वदेश फर्काउने अभियानमा सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमका प्रमुख अतिथि पौडेलले विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूले राम्रा–राम्रा विश्वविद्यालयमा अध्ययन गर्ने, त्यहाँबाट ज्ञान, सीप र अनुभव हासिल गर्ने र त्यसपछि स्वदेश फर्किने वातावरण बनाउनुपर्ने बताए। आफूहरू देश बनाउने हुटहुटीमा भए पनि त्यो अनुसार काम हुन सकेको छ कि छैन भन्ने विषयमा विश्लेषण गर्नुपर्ने उनको भनाई थियो। विदेश अध्ययनका लागि जाने विद्यार्थी सिक्न मात्रै गएको हो कि कमाउन पनि गएको हो भन्ने कुरा बुझ्न आवश्यक रहेको बताएका उनले नेपालमै कमाउँदै, पढ्दै गर्ने वातावरण बनाउन सक्ने हो भने विदेश जानेको सङ्ख्या कम हुने बताए।

कोरिया पढेर फर्केका वक्ताहरूको कुरा सुनेर खुसी लागेको बताएका पौडेलले यसै गरी नेपाली विद्यार्थीले आफ्नो क्षेत्रको सम्भाव्यता नेपालमै खोज्नुपर्नेमा जोड दिए। यसका लागि सरकारले पनि काम गरिरहेको भन्दै उनले सरकारले जनताका लागि, देशलाई समृद्ध बनाउन काम गरिरहेको बताए। शैक्षिक परामर्श सरोकारवालाको भनाई सम्बन्धित ठाउँमा पुर्‍याउन भूमिका खेल्ने उनको प्रतिबद्धता थियो।

कार्यक्रमका सभापति खनालले नेक्सा स्थापना हुनुको पृष्ठभूमि, शैक्षिक परामर्श क्षेत्रमा देखिएका समस्या तथा यो एक वर्षमा नेक्साले गरेका कामहरू बारे चर्चा गरे। उनका अनुसार छाता संघका रूपमा व्यवसायीलाई बचाउने काम मात्रै नभई नेक्साले विदेशमा समस्यामा परेका विद्यार्थी र तिनका अभिभावकलाई समेत सहयोग गरेको छ। त्यस्तै रानीपोखरी प्रहरी वृत्त सहित विभिन्न प्रहरी चौकीहरूको मर्मत गरी पुनर्स्थापनाका लागि पनि संघले सहयोग गरेको छ।

शैक्षिक परामर्श क्षेत्रमा नियमन आवश्यक रहेको भए पनि नियन्त्रण स्वीकार्य नभएको उनले स्पष्ट पारे। कन्सल्टेन्सीका लागि आवश्यक पूर्वाधार निर्माण गर्न आफूहरू तयार रहेको भए पनि त्यसका लागि पर्याप्त समय दिनुपर्ने उनको धारणा थियो। विद्यार्थीको जिम्मेवारी लिने सन्दर्भमा अहिले पनि आफूहरूले समन्वय गर्दै आइरहेको बताउँदै उनले सबै जिम्मेवारी व्यवसायीले मात्रै लिने अवस्था उचित नहुने बताए । विद्यार्थीको जिम्मेवारी राज्यले पनि लिनुपर्ने र सबै पक्षलाई समेटेर समान रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो। ‘हामीले सरकारलाई बिना लगानी ४८ प्रतिशत कर बुझाइरहेका छौँ,’ उनले भने । ‘सरकार र व्यवसायीबिच समन्वय गरेर समस्या समाधानतर्फ अघि बढ्न सके आन्दोलन गर्ने अवस्था नै आउने थिएन।’

 

साधारण सभाले महासचिव गणेश बेल्वासेको प्रतिवेदन र कोषाध्यक्ष सन्दीप तिवारीको आर्थिक प्रतिवेदन पास गरेको छ भने आजीवन सदस्य तथा साधारण सदस्यहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको छ।

कार्यक्रम संचालन संचारकर्मी संगीता कटवालले गरेकी थिइन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड