राइटपाथ करियर काउन्सिलिङले मनायो नवौँ वार्षिकोत्सव, औपचारिक रूपमा १०औँ वर्षमा प्रवेश
काठमाडौँ– राजधानीको पुतलीसडकमा रहेको शैक्षिक परामर्शदाता संस्था राइटपाथ करियर काउन्सिलिङले आफ्नो नवौँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। उक्त अवसरसँगै संस्था औपचारिक रूपमा १०औँ वर्षमा प्रवेश गरेको छ।
बिहीबार प्रधान कार्यालय, पुतलीसडकमा आयोजित एक विशेष समारोहका बिच शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा वार्षिकोत्सव सम्पन्न भएको हो। कार्यक्रममा शैक्षिक परामर्श संघ नेपाल (इक्यान) का अध्यक्ष शेषराज भट्टराईको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले विभिन्न चुनौती र समस्याका बाबजुद पनि राइटपाथ करियर काउन्सिलिङले शैक्षिक परामर्श क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकोमा खुसी व्यक्त गरे। उनले भने, “विदेश अध्ययन तथा उच्च शिक्षासम्बन्धी क्षेत्रमा पछिल्लो समय थुप्रै चुनौतीहरू देखिए पनि राइटपाथले इमान्दारिता, निरन्तरता र सेवामुखी सोचका कारण बजारमा आफ्नो छवि मजबुत बनाएको छ।”
कार्यक्रममा राइटपाथ करियर काउन्सिलिङका प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलिप डिसीले संस्थाको यात्रा, उपलब्धि र भावी योजनाबारे प्रकाश पारे। उनले राइटपाथले विद्यार्थीको भविष्य सुरक्षित र सुनिश्चित बनाउने उद्देश्यका साथ विगत नौ वर्षदेखि सेवा प्रदान गर्दै आएको बताए। “१०औँ वर्षमा प्रवेशको अवसरमा हामीले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि विभिन्न आकर्षक अफरहरू ल्याएका छौँ,” उनले भने, “विद्यार्थीलाई सही मार्गदर्शन, पारदर्शी प्रक्रिया र विश्वसनीय सेवा प्रदान गर्नु हाम्रो मुख्य लक्ष्य हो।”
सिइओ डिसीले विदेश अध्ययनका लागि विद्यार्थीलाई सही देश, विश्वविद्यालय र विषय छनोट गर्न सहयोग गर्नु राइटपाथको प्रमुख जिम्मेवारी रहेको उल्लेख गरे। साथै, उनले आगामी दिनमा सेवा विस्तार, डिजिटल काउन्सिलिङ र विद्यार्थी केन्द्रित कार्यक्रमहरू थप प्रभावकारी बनाइने जानकारी दिए।
राइटपाथ करियर काउन्सिलिङले आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रदान गर्दै नेपाली विद्यार्थीको अन्तर्राष्ट्रिय शिक्षा यात्रालाई सहज र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। हाल राइटपाथले काठमाडौँको पुतलीसडकमा मुख्य कार्यालय रही बानेश्वर, कीर्तिपुर, ललितपुर, चितवन, हेटौँडा, दाङ, बुटवल, धनकुटा र इटहरीबाट पनि सेवा प्रदान गर्दै आएको छ।