Matra Education मंगलबार, भाद्र २३ २०८३

रसुवा–नुवाकोटका बाढी पीडितका लागि भोलि राहत लैजाँदै फेकन, आजै सामग्री जुटाउन आग्रह

रसुवा–नुवाकोटका बाढी पीडितका लागि भोलि राहत लैजाँदै फेकन, आजै सामग्री जुटाउन आग्रह

  • मात्र एजुकेशन
  • बुधबार, भाद्र १७ २०८३


काठमाडौँ- अविरल वर्षापछि आएको बाढी तथा पहिरोबाट प्रभावित रसुवा र नुवाकोटका परिवारलाई सहयोग गर्न स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) राहत अभियानमा जुटेको छ। विपद्का कारण प्रभावित बनेका परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले फेकनले आफ्नै नेतृत्वमा राहत सामग्री संकलन सुरु गरेको हो।

फेकनले संकलन भएका सामग्री भोलि (बिहीबार) प्रभावित क्षेत्रमै पुगेर प्रत्यक्ष रूपमा पीडित परिवारलाई वितरण गर्ने तयारी गरेको जनाएको छ। अभियानअन्तर्गत आज संकलन गरिएका राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएर वितरण गर्ने तयारी गरिएको छ।

बाढी पहिरोका कारण घरबास गुमाएका तथा दैनिक उपभोगका सामग्रीको अभाव झेलिरहेका परिवारलाई लक्षित गर्दै फेकनले खाद्यान्नदेखि स्वास्थ्य र अस्थायी आवाससम्मका सामग्रीलाई प्राथमिकतामा राखेको छ। राहतका लागि चामल, दाल, चिउरा, प्रशोधित खानेपानी, कम्बल तथा लत्ताकपडा संकलन भइरहेको छ। त्यस्तै, अस्थायी बसोबासका लागि आवश्यक टेन्टसमेत अभियानमा समेटिएको छ।

स्वास्थ्यतर्फ प्राथमिक उपचारका सामग्री र आवश्यक औषधिका साथै महिलाका लागि स्यानिटरी प्याड पनि संकलन गर्न फेकनले आग्रह गरेको छ। विद्युत् तथा उज्यालोको समस्या भएका प्रभावित क्षेत्रमा उपयोगी हुने टर्च र ब्याट्रीसमेत राहत सामग्रीका रूपमा उपलब्ध गराउन सकिने बताइएको छ।

फेकनले आफ्ना सदस्य संस्था, व्यवसायी, शुभेच्छुक तथा सहयोग गर्न चाहने सबैलाई अभियानमा जोडिन आग्रह गरेको छ। विपद्का बेला सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न प्रयास भइरहे पनि प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न सामूहिक सहयोग आवश्यक रहेको फेकनको भनाइ छ।

संकलन हुने राहत सामग्री वास्तविक प्रभावित परिवारसम्मै पुग्ने गरी प्रत्यक्ष वितरणको व्यवस्था मिलाइएको फेकनले जनाएको छ। सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले आजै राहत सामग्री उपलब्ध गराउन सक्नेछन्।

राहत सामग्री बुझाउन वा अभियानबारे थप जानकारी लिन ९८४३४८१३७९ मा सम्पर्क गर्न सकिनेछ। फेकनले बाढी पहिरोबाट प्रभावित परिवारलाई विपद्को यो कठिन समयमा सहयोग गर्न सबैलाई आफ्नो क्षमताअनुसार साथ दिन आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड