काठमाडौँ- परामर्श व्यवसायको क्षेत्रमा नेपालको पहिलो बि टु बि कम्पनी युनि कन्सल्ट्यान्स अलायन्स (युसिए) को ‘एनुअल रिट्रिट प्रोग्राम ७.०’ भव्यताका साथ सम्पन्न भएको छ। शुक्रवार र शनिवार भक्तपुर स्थित फर्चुनेट रिसोर्टमा आयोजित कार्यक्रम युसिएलाई नयाँ उचाइमा पुर्याउने साझा प्रतिबद्धता सहित सम्पन्न भएको हो।
युसिएका अध्यक्ष रामशरण ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रमको औपचारिक सत्रमा संस्थाको हालको अवस्था बारे समीक्षा र आगामी रणनीतिहरू तय गरिएको थियो। उक्त सत्रमा संस्थाका निवर्तमान अध्यक्ष विनोद कुमार सुवेदी,अन्तर्राष्ट्रिय विभाग प्रमुख ईश्वर कुमार घिमिरे, बोर्ड सदस्यहरू रामचन्द्र ओली, सुवास विक्रम राई, बालकृष्ण बिस्ट, उमाकान्त शर्मा र त्रिलोचन अधिकारी उपस्थित थिए। त्यस्तै विभिन्न अन्तर्राष्ट्रिय शैक्षिक संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, अन्य आमन्त्रित अतिथिहरू, युसिएका साझेदारहरू र संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै संस्थाका अन्तर्राष्ट्रिय विभाग प्रमुख घिमिरेले नेपालीहरूले सञ्चालन गरेको पहिलो बि टु बि कम्पनीका रूपमा युसिए कार्यरत रहेको बताए । ३५० भन्दा बढी विदेशी शैक्षिक संस्था सँग आबद्ध संस्थाले जुनसुकै देश र शैक्षिक संस्थाको फाइल भए पनि त्यसको विकल्प दिने उनले बताए। घिमिरेले आज सम्मको साथ र सहकार्यका लागि सबैलाई धन्यवाद दिँदै भोलिका दिनमा पनि त्यो रहने विश्वास व्यक्त गरे । उनले सबैको सामूहिक प्रयास बाट युसिए सफल हुने भनाई राखे।
कार्यक्रममा युसिएको स्थापना काल देखि हालसम्म गरेका गतिविधिहरू समेटिएको प्रोफाइल भिडियो प्रदर्शन गरिएको थियो भने युसिए मार्फत उत्कृष्ट व्यवसाय गर्ने साझेदारहरूलाई पुरस्कृत गरिएको थियो। त्यस्तै वर्षभरि उत्कृष्ट कार्य सम्पादन गर्ने दुई कर्मचारीहरू समेत सम्मानित भएका थिए।
कार्यक्रममा युसिएका साझेदार संस्थाहरूका तर्फबाट विभिन्न देश तथा त्यहाँ रहेका शैक्षिक संस्थाका प्रतिनिधिहरूले ती अध्ययन गन्तव्य र आफूले प्रतिनिधित्व गर्ने शैक्षिक संस्थाहरू बारे जानकारी गराएका थिए। यस क्रममा युनिभर्सिटी अफ युरोप फर एप्लाइड साइन्सेस जर्मनीकी प्रतिनिधि रक्षा कर्माचार्य, एल्महर्स्ट युनिभर्सिटी अमेरिकाका प्रतिनिधि ज्याक्सन सुवेदी र ब्रिट्स इम्पेरियल युनिभर्सिटी दुबईका प्रतिनिधि सञ्जीव सापकोटाले प्रस्तुतीकरण दिएका थिए। त्यस्तै आइडिबि ग्लोबल सर्भिसेसका ‘बिजनेस डेभलपमेन्ट म्यानेजर’ सुवास पुडासैनीले फिनल्यान्ड अध्ययन बारे जानकारी गराएका थिए।
कार्यक्रममा युसिएका तिन जना नयाँ साझेदारहरूले पनि आफ्नो अनुभव बाँडेका थिए। यस क्रममा दिवाकर कुइँकेल, अमित शाह र विद्या राज सिवाकोटीले युसिए अरू बि टु बि कम्पनी भन्दा फरक रहेको र आवश्यकता अनुसार सहयोग पाएको बताए। उनीहरूले कर्मचारीहरूको सहकार्य र सहयोग, शैक्षिक संस्थाहरूको पहुँचमा सहजता र युसिएले साझेदारहरूलाई दिने उच्चतम सुविधाको विशेष प्रशंसा गरे।
कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति ढकालले भव्य उपस्थितिका साथ कार्यक्रम सफल बनाउन योगदान गरेको भन्दै सबै प्रति आभार प्रकट गरे। उनले ३५० भन्दा बढी विश्वविद्यालयहरू सँग काम गर्दै आएको जानकारी गराउँदै हाल भएका कमजोरीहरू सुधारेर संस्थालाई अब्बल बनाउनु आफूहरूको उद्देश्य रहेको बताए। सदस्यहरूलाई अधिकतम सुविधा र लाभ तथा झन्झटरहित काम गराउने प्रतिबद्धता व्यक्त गरेका उनले युसिएले परामर्श व्यवसायी मैत्री भएर काम गर्ने उल्लेख गरे। संस्था सफल बनाउन सबै सदस्यहरूको साथ सहयोगका लागि अनुरोध गरेका उनले व्यवसायीहरूको अधिकतम हितलाई संस्थाले सधैँ प्राथमिकतामा राखे बताए।
औपचारिक कार्यक्रमको सञ्चालन संस्थाका बोर्ड सदस्य रामचन्द्र ओलीले कुशलतापूर्वक गरेका थिए।
कार्यक्रमका थप तस्बिरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्: