Matra Education बुधबार, भाद्र २४ २०८३

बौद्ध दर्शन र यसको शैक्षिक उपयोग

बौद्ध दर्शन र यसको शैक्षिक उपयोग

  • लवाङ डोल्मा
  • शुक्रबार, फाल्गुन १३ २०७८


परिचयः 
नेपालमा जन्मिएका गौतम बुद्धबाट प्रतिपादित दर्शन ‘बौद्ध दर्शन’ हो । बुद्ध शब्द “बोध” शब्द बाट बनेको हो । जसको अर्थ ‘बुझ्नु’ हुन्छ । बौद्ध धर्म बौद्ध दर्शनमा आधारित छ । यो निरीश्वरवादी (नास्तिक) दर्शन हो । गौतम बुद्धले भगवान पूजामा कहिल्यै विश्वास गरेनन् । गौतम बुद्धको दृष्टिकोण र उपदेशमा आधारित दर्शन नै बौद्ध दर्शन हो । यस दर्शनको सर्वश्रेष्ठ ग्रन्थ नै त्रिपिटक हो । सोही त्रिपिटकमा आधारित र चार आर्यसत्यद्घारा निर्देशित शिक्षा नै ‘बौद्ध शिक्षा’ हो । बौद्ध शिक्षा बौद्ध गुम्बा, मठ, तथा विहारहरुमा केन्दित भिक्षुहरु बाट दिइन्छ । वर्तमान समयमा विभिन्न विश्वविद्यलयहरु स्थापना भइसकेका छन् । बौद्ध शिक्षा संस्कार अन्य धर्म तथा दर्शन भन्दा भिन्न किसिमको पाइन्छ । यसले रङ्गभेद र जातिवादमा विश्वास गर्दैन । जुनै समुदायका बालबालिकाले पनि बौद्ध शिक्षा आर्जन गर्न पाउँछ ।गौतम बुद्धको जीवनकाृ तीन प्रमुख घटनाहरु जन्म, बुद्धत्व प्राप्त र परिनिर्वाण भएको समय वैशाख पूर्णिमाका दिन भएको थियो । त्यसैले वैशाख पूर्णिमा बौद्ध धर्मावलम्बीको लागी विशेष महत्व राख्दछ । गौतम बुद्धको अन्त्यपछि यो दर्शन विभिन्न सम्प्रदायमा (महायान, हीनयान, वज्रयान, लामावाद) बाँडियो । महायानले बुद्धलाई भगवानको रुपमा स्वीकार गरेको छ, हीनयानले ईश्वर अस्वीकार गर्छ, वज्रयानले तान्त्रीक माध्यम अपनाई बुद्ध धर्म र शिक्षालाई आफ्नै तरिकाले व्याख्या गरेका छन् भने लामावादले पुनर्जन्ममा विश्वास गर्दछ ।

बौद्धदर्शन अनुसार दुःख नै संसारबाट मोक्ष प्राप्त गर्न नसक्ने एक मात्र कारण हो । अज्ञानता, तृष्णा, र आशक्ति नै दुःखका कारणहरु हुन् । दुःखबाट मोक्ष प्राप्त गर्न बौद्ध दर्शनले बताए अनुसारको ज्ञान प्राप्त गर्नु पर्छ । दुःख निवारणका उपायहरु प्राप्त गर्नु नै शिक्षा प्राप्त गर्नु हो । गौतम बुद्घ सांसरिक दुःखबाट मुक्त हुन आफ्नो सुखसयल जीवन त्याग गरि हिडेका थिए । कयौँ वर्ष तपस्या गरे पछि उनले चार आर्यसत्यहरु प्राप्त गरे । ती हुन्ः संसार दुःखमय छ, दुःखको कारण छ, दुःख निवारण गर्न सकिन्छ र निर्वाण प्राप्त गर्न सकिन्छ । निर्वाण प्राप्तका लागि अष्टमार्ग लाई पछ्याउनुपर्छ । ती अष्टमार्ग हुन्ःसम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वाक, सम्यक् कर्म, सम्यक् आजीवन, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि । अष्टमार्गको हरेक शब्द सम्यक् बाट सुरु भएको छ । “सम्यक्” को अर्थ “सही” हुन्छ । सम्यक् दृष्टिको अर्थ जे छ, जस्तो छ, त्यस्तै देख्नुु हो । बीचमा कुनै पनि धारणा नल्याउनु हो । सम्यक् संकल्पको अर्थ कुनै कार्य गर्दा जिद्दी, देखावटी, अहंकार, प्रतियोगिता आदिको रुपमा नलिई आफ्नै समझदारी वा जीवनअनुभवको रुपमा लिनु हुन्छ । सम्यक् वाकको अर्थ आफ्नो बोली त्यती मात्र प्रयोग गर्न जति आवश्यक छ, अरुलाई चोट नपुग्ने गरी बोल्नुपर्छ । सम्यक् कर्मको अर्थ जति आवश्यक छ, त्यति मात्र कार्य गर्नु हो । अनावश्यक कार्यमा अल्झिदा समय, उर्जा र श्रम नष्ट हुन्छ । सम्यक् आजीवनको अर्थ सादा जीवन उच्च विचार हो । जिविकोपार्जनको लागि कार्य गर्दा अरुको अहित नहुने, हिंसा नहुने ,आत्मासन्तुष्टि हुने कार्य गर्नुपर्दछ । सम्यक् प्रयासको अर्थ गर्न योग्य कामलाई धैर्य र शान्त मनले गर्नु,कर्मको आवश्यकता अनुसार श्रम र समय लगााउनुपर्छ । सम्यक् स्मृतिको अर्थ स्मृतिमा राम्रा अर्थात् आवश्यक कुराहरु मात्र राख्नुपर्दछ, पछि ती कुराहरु स्मरण गर्दा मन आनन्दित होस् । सम्यक् समाधीको अर्थ होसपूर्वक समाधि वा अन्त्य हुनुपर्छ । जब होस्मा समाधि हुन्छ, तब प्रसन्न, आनन्द, प्रज्ञावान भइन्छ ।अष्टमार्ग बाट प्रज्ञा, शील र समाधि जस्ता शिक्षाका उदेश्यहरु प्राप्त हुन्छ ।

बौद्ध दर्शनमा शिक्षाको उदेश्यहरुः
यस दर्शनमा शिक्षाको संस्कार अन्य दर्शन भन्दा पृथक किसिमको पाइन्छ । यस दर्शनमा शिक्षाको संस्कार तथा उदेश्य निम्न छन्ः

-प्रवज्या संस्कार: साधारण जीवन त्याग गरी भिक्षु जीवनमा प्रवेश गर्नु नै प्रवज्या संस्कार हो । यस संस्कारमा प्रवेश गर्ने बालकलाई श्रमणेर भनिन्छ । यस संस्कारमा बालकले “बुद्घम्, शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी,सङ्घम् शरणम् गच्छामी”उच्चारण गरी दश शिक्षापद पालना गर्ने आदेश प्राप्त गर्दछ । ती हुन: चोरी नगर्नु , जीव हत्या नगर्नु , असत्य नबोल्नु , अशुद्ध आचरण नगर्नु , बर्जित समयमा नखानु ,मादक पदार्थ सेवन नगर्नुृ , कसैले दिएको वस्तु बाहेक अन्य वस्तु ग्रहण नगर्नु , श्रृंगारका वस्तु प्रयोग नगर्नु , नृत्य संगीत र तमासा नहेर्नु , सुन चाँदी जस्ता बहुमूल्य वस्तु दान नलिनु ।

-उपसम्पदा संम्पदा:  ज्या संस्कार पछि बौद्ध संघको स्थायी सदस्यता प्राप्त गर्नका लागि दिइने शिक्षा उपसम्पदा संस्कार हो । यस संस्कारमा गर्न हुने कार्यमा वृक्षको फेदमा बास बस्नु , साधारण वस्त्र धारण गर्नुृ , सात्विक भोजन ग्रहण गर्नु , भोजनका लागि भिक्षा माग्नु , औषधिको रुपमा गौमुत्र प्रयोग गर्नु , र गर्न नहुने कार्यमा चोरी र जीवहत्या नगर्नु , अलौकिक शक्तिको दावा नगर्नु , स्त्रीसंग यौन सम्पर्क नगर्नु ।

-लोकभाषालाई प्रोत्साहन दिनु: बौद्ध शिक्षामा लोकभाषालाई प्राथमिकता दिईन्छ । प्राचीन समयमा जहाँ बौद्ध शिक्षा दिईन्थ्यो , त्यहाँको लोकभाषा ‘पाली’ भाषा थियो । यो भाषा भारतीय उपमहाद्धिपमा मध्ययुगमा प्रचलित प्राकृत (हिन्द–आर्यन) भाषा हो । “सम्राट अशोक” ले लुम्बिनीमा स्थापित अशोक स्तम्भमा यही भाषाको प्रयोग गरी ‘हिद बुधे जाते’ अर्थात् ‘यहाँ बुद्ध जन्मिए’ लेखेका थिए । हाल नेपालको विद्यालयको आधारभूत तहमा मातृभाषा अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ ।

-सार्वजनिक प्रारम्भिक शिक्षा प्रदान गर्नु: बौद्ध शिक्षा प्राप्तका लागि जुनसुकै जाती , धर्म , सम्प्रदाय , वर्ग आदि बाट आए पनि प्रवेश गर्न सकिन्छ ।

-शिक्षाको प्रजातान्त्रिक आभार:  बौद्ध शिक्षाले प्रजातान्त्रिक ढंगबाट सबैका लागि समान शिक्षा प्रदान गर्दछ । प्राचीन समयमा ल्याईएका नीति वर्तमान समयमा “सबैका लागि शिक्षा–२००१”नारा नेपाल सरकारले अघि सा¥यो ।

-संगठित शैक्षिक संस्थाको विकास: संगठित शैक्षिक संस्थाको रुपमा बौद्ध विहार , मठ , गुम्बाहरु विकास भएको पाइन्छ । यसप्रकार विकास हुदै बौद्ध विश्वविद्यालयहरु नदिया विश्वविद्यालय , बल्लभी विश्वविद्यालय , विक्रमशिला विश्वविद्यालय , तक्षशिला विश्वविद्यालय , नालन्दा विश्वविद्यालय आदि स्थापना भए । नेपालमा लुम्बिनी विश्वविद्यालय स्थापना भएको छ ।

त्रिपिटकको अध्ययन: बौद्ध दर्शनको मुख्य धार्मिक ग्रन्थ त्रिपिटक हो । त्रिपिटक अन्तर्गत सुत्त पितक , अभिधम्म पिटक र विनय पिटक पर्दछन् । बौद्ध धर्मको व्याख्या शास्त्र नै सुत्त पिटक हो । बुद्ध स्वयंम र उनका उत्कृष्ट चेलाहरु सारीपुत्त , आनन्द र मोगलानाका उपदेशहरु समावेश रहेको पाइन्छ । सुत्त पिटकमा पनि दीर्घ निकाय , मध्यम निकाय , संयुक्त निकाय , अंगुत्तरा निकाय र खुद्दक निकाय गरी पाँच भागमा विभाजित छन् । मानसिक निकाय वा तत्वहरुको विश्लेषणात्मक सिद्धान्तलाई अभिधम्म पिटक भनिन्छ । बौद्ध दर्शनको ज्ञान यस पिटक मार्फत् दिइन्छ । विनय भनेको अनुशासन हो । बुद्धले भिक्षु भिक्षुणीहरुका लागि नैतिक र आचरणगत कुरा दिएको संहिता हो । बुद्धको अनुसार विनयको उत्तम पक्ष भनेको मनलाई अनुशासित गर्नु , असल व्यवहार गर्नु एंव कर्म गर्नु हो । बुद्धले प्रदान गरेको आचारसंहितालाई दुुृई भागमा बाँडिएको छ–पहिलो आचारसंहितास् सर्वव्यापी नैतिक आचरण जुन खराब काम र अनैतिक कार्यबाट बच्नका लागि सर्वसाधारणले समेत अनुसरण गर्न सक्छन् । दोस्रो आचारसंहितास् बौद्ध भिक्षु भिक्षुणीहरुका लागि उनीहरुको सदाचार , परम्परा , कर्तव्य र शिष्टचारलाई व्यवस्थित र अनुगमनका लागि प्रयोग गरिन्छ ।

बौद्ध शिक्षाको पाठ्यक्रम र यसको शिक्षण विधि:
बौद्ध शिक्षाको पाठ्यक्रममा धर्मशास्त्रको प्र्रमुख स्थान छ । पाठ्यक्रमको मुल आधार त्रिपिटक हो । बौद्ध शिक्षा प्राचीन समय देखि नै वर्तमान समयमा जस्तो प्राथमिक र उच्च गरी दुई समुहमा रहेको थियो । प्राथमिक तहमा ६ वर्षको उमेरमा प्रवेश गरी १२ वर्षको उमेरमा पूरा हुन्थ्यो भने उच्च शिक्षामा १२ वर्षको उमेर देखि २५ वर्षको उमेरमा पूरा गर्नु पर्ने हुन्थ्यो । त्रिपिटकको अध्ययन नै बौद्ध शिक्षा हो । साथै पञ्चस्कन्धमा रुप, वेदना, संज्ञा, संस्कार, विज्ञान समावेश हुन्छन् भने द्धादश आयतन र अष्टदश धातुमा इन्द्रिय तथा त्यस सम्बन्धी विषय पाठ्यक्रम समावेश हुन्छन् । यस दर्शनमा उच्च शिक्षा दुई किसिमका छन् । साधारण नागरिकका लागि तथा धार्मिक र सामाजिक जीवनका लागि सुयोग्य नागरिक तयार गर्ने पाठ्यक्रम ‘लौकिक’ र भिक्षुभिक्षुणीका लागि दिइने शिक्षा ‘धार्मिक’ हुन् । यसमा प्रवचन, व्याख्या, प्रश्नोत्तर, छलफल, वादविवाद, श्रवणमनन, श्रुतिस्मृति जस्ता माध्यम द्धारा शिक्षण विधि अपनाइन्थ्यो ।

निष्कर्ष :

प्राचिन समयमा गौतम बुद्धबाट प्रतिपादित दर्शन वर्तमान समयमा पनि महत्वपूर्ण छ । यो दर्शन बौद्ध भिक्षुभिक्षुणीका लागि मात्र नभएर साधारण नागरिकले पनि अपनाई अगााडि बढेमा संसारमा दुःखी कोही हुनुपर्ने छैन जस्तो लाग्छ । प्रचीन समयमा बौद्ध विहार, मठ, गुम्बा बाट सुरुवात भएको शिक्षा विश्वविद्यालय सम्म विकसित हुनु नै गौरवको विषय हो । बौद्ध दर्शन वा शिक्षाको मुख्य उदेश्य विवेकशील, नैतिक, प्रभावशाली, अहिंसावादी मानव उत्पादन गर्नु हो । गौतम बुद्ध नेपालमा जन्मिए, भारतमा ज्ञान प्राप्त गरे यसरी भारतीय उपमहाद्धिप पार गरी विश्वका विभिन्न देशमा बौद्ध अनुयायी बढ्र्र्र्दै गइरहेको पाइन्छ । अन्तमा मलाई के भन्न मन लाग्यो भने गौतम बुद्धले भगवान पूजामा विश्वास कहिल्यै गरेनन्,उपसम्पदा संस्कारमा भनिएको छ अलौकिक शक्तिको दावा नगर्नु तर पनि मानिसहरु उनको पूजा गर्न छोड्दैनन्, अलौकिक शक्तिको दावा पनि गर्न छाड्दैनन् । हामीले गौतम बुद्धको उपदेश लाई मनन गरी जीवनमा लागू मात्र ग¥यौ भने सधै खुसी र सुखी हुन्छौ ।

लेखक सानोठिमी क्याम्पसमा स्नाकोत्तर तह अध्ययनरत छन्  

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड