काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) ले रसुवा, नुवाकोट तथा धादिङमा आएको बाढीका कारण ज्यान गुमाएका दिवंगत आत्माहरूको स्मृतिमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।
सोमबार साँझ काठमाडौँको पुतलीसडकस्थित शंकरदेव कलेज नजिक आयोजित कार्यक्रममा फेकनका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बाढी तथा विपद्का कारण ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको चिरशान्तिको कामना गरिएको थियो।
दीप प्रज्वलन गर्दै सहभागीहरूले विपद्मा परी ज्यान गुमाएका व्यक्तिका परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए। साथै, बाढीका कारण प्रभावित भएका परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै विपद्को समयमा मानवीय सहयोग र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो।
फेकनले शैक्षिक क्षेत्रसँगै सामाजिक उत्तरदायित्वका गतिविधिमा समेत आफ्नो भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै यस्ता विपद्का घटनाले पुर्याएको मानवीय क्षतिप्रति सम्पूर्ण शैक्षिक तथा परामर्श क्षेत्र संवेदनशील हुनुपर्ने धारणा सहभागीहरूले व्यक्त गरेका थिए।
कार्यक्रममा दिवंगत आत्माहरूको सम्मानमा दीप प्रज्वलन गर्दै मौन श्रद्धाञ्जलीसमेत अर्पण गरिएको थियो। कार्यक्रममा सहभागीहरूले बाढी तथा प्राकृतिक विपद्का कारण पीडित बनेका परिवारको दुःखमा आफूहरू साथमा रहेको सन्देश दिएका थिए। फेकनले यस अघि नै यस बाढी बाट प्रभावितहरूका लागि नुवाकोट पुगेर राहत वितरण गरेको थियो।
