काठमाडौँ- चाबहिल क्षेत्रमा रहेका शैक्षिक व्यवसायीहरूलाई एउटै साझा मञ्चमा जोड्ने उद्देश्यले गठन गरिएको चाबहिल शैक्षिक व्यवसायी संघको संस्थापक नेतृत्व चयन भएको छ।
एक वर्षदेखि चाबहिल क्षेत्रका शैक्षिक व्यवसायीहरूबिच सहकार्य, आपसी सम्बन्ध र साझा हितका विषयमा छलफल तथा समन्वय हुँदै आएकोमा उक्त प्रयासले औपचारिक र संस्थागत रूप लिएको हो।
संघको संस्थापक अध्यक्षमा सुदीप राज पुरी, प्रथम उपाध्यक्षमा ईश्वर काफ्ले, महासचिवमा प्रेम तामाङ र कोषाध्यक्षमा विज्ञान दाहाल चयन भएका छन्। अन्य पदाधिकारी तथा सदस्यसहित संस्थापक कार्यसमिति गठन गरिएको जनाइएको छ।
चाबहिल क्षेत्रमा सञ्चालनमा रहेका शैक्षिक परामर्श संस्थादेखि ट्युसन सेन्टरलगायत शिक्षा तथा शैक्षिक सेवासँग सम्बन्धित विभिन्न संस्थाहरूलाई एउटै छातामुनि जोड्ने संघको उद्देश्य रहेको जनाइएको छ। संघले आपसी सहकार्य, व्यावसायिक एकता, संस्थाहरूको साझा हित, व्यावसायिक मर्यादा र आपसी विश्वासलाई प्राथमिकतामा राखेर अघि बढ्ने अपेक्षा गरिएको छ।
संस्थापक नेतृत्व चयनसँगै एक वर्षदेखि अघि बढेको अभियानले औपचारिक स्वरूप पाएको र आगामी दिनमा चाबहिल क्षेत्रका सम्पूर्ण शैक्षिक संस्थालाई समेट्दै संघलाई थप बलियो तथा प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।