Matra Education मंगलबार, भाद्र २३ २०८३

बाढीपीडितका लागि फेकनको राहत, नुवाकोट पुगेर १३ लाख बराबरका सामग्री वितरण

बाढीपीडितका लागि फेकनको राहत, नुवाकोट पुगेर १३ लाख बराबरका सामग्री वितरण

  • मात्र एजुकेशन
  • शुक्रबार, भाद्र १९ २०८३


काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को टोलीले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रका पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ। भदौ १८ गते नुवाकोट पुगेको फेकनको टोलीले करिब १३ लाख रुपैयाँ बराबरका अत्यावश्यक सामग्री प्रभावित परिवार तथा आश्रय स्थलमा पुगेर वितरण गरेको हो।

बाढीका कारण घर, सम्पत्ति र दैनिक जीवन गुमाएका परिवारलाई लक्षित गरी फेकनले विभिन्न होल्डिङ सेन्टर तथा प्रभावित बस्तीमा रहेका आश्रय स्थलमा राहत पुर्‍याएको जनाएको छ। राहत वितरणका क्रममा प्रभावित परिवारको अवस्था तथा बालबालिकाको पीडा प्रत्यक्ष देख्दा टोलीका सदस्यहरू भावुक बनेको फेकनका कोषाध्यक्ष तथा राहत वितरण कार्यक्रम संयोजक गौतम पुडासैनीले बताएका छन्।

फेकनले राहतमा भान्सामा आवश्यक पर्ने खाद्यान्न तथा सामग्रीसँगै महिलाका लागि कपडा र स्यानिटरी प्याड, बालबालिकाका कपडा, लिटोको पिठो, ल्याक्टोजेन मिल्क, चकलेटलगायत सामग्री वितरण गरेको पुडासैनीले बताए। विपद्बाट विस्थापित परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउने उद्देश्यले राहत सामग्री छनोट गरिएको उनको भनाई छ।

राहत वितरणका क्रममा नेपालमा काम गर्दै आएका र बाढीका कारण विस्थापित भएका करिब ५० जना भारतीय नागरिकलाई समेत फेकनले सहयोग गरेको थियो। विपद्को समयमा पीडितको पहिचान देश, जात वा सीमाका आधारमा नभई मानवीय आधारमा हुनुपर्ने सन्देश यो घटनाले दिएको फेकनको भनाइ छ।

राहत वितरणपछि फेकनका महासचिव दिपेन्द्र पोखरेलले बाढीले धेरै परिवारका घर र सम्पत्ति मात्रै नभई उनीहरूका वर्षौँका सपना समेत बगाएको बताए। राहत सामग्री वितरणले तत्काल केही आवश्यकता पूरा गर्न सके पनि विस्थापित बालबालिका र परिवारले फेरि कहिले आफ्नो घरको आँगनमा फर्किन पाउने भन्ने प्रश्न अझै बाँकी रहेको उनको भनाइ छ।

नुवाकोटमा राहत वितरणका क्रममा मच्छिन्द्र नरसिंह प्याकुरेल, राजेन्द्र न्यौपाने , नारायण नेपाल, दिनेश घिमिरेलगायतले सहजीकरण तथा स्थानीय स्तरमा आवश्यक सहयोग गरेको फेकनले जनाएको छ। राहत अभियान सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा श्रम, समय, आर्थिक तथा मानवीय सहयोग गर्ने सबैप्रति फेकनले आभार व्यक्त गरेको छ।

फेकन अध्यक्ष उमेश कुश्वार विपद्को समयमा आफूहरूले केही राहत सामग्री मात्र वितरण गरेको नभई पीडामा रहेका परिवारलाई उनीहरू एक्लो नभएको अनुभूति गराउने काम पनि गरेको बताउँछन्। पीडित नागरिकको साथमा उभिनु पनि यस अभियानको महत्त्वपूर्ण उद्देश्य रहेको उनको भनाइ छ। राहत वितरणका लागि संघको वर्तमान कार्यसमितिका पदाधिकारीहरू, फेकन सदस्यहरू र शुभचिन्तकहरू सहित संस्थापक अध्यक्ष मान बहादुर राई, निवर्तमान अध्यक्ष राजु निरौला लगायत पनि नुवाकोट पुगेका थिए।

बाढीले ठुलो क्षति पुर्‍याएको भए पनि विपत्तिको समयमा विभिन्न क्षेत्रबाट प्राप्त सहयोग र सहकार्यले मानवता अझै जीवित रहेको अनुभूति भएको फेकनले जनाएको छ। पीडाको कुनै सीमा नहुने र विपद्का बेला मानवीय सहयोग नै सबैभन्दा ठुलो आधार बन्ने सन्देशसहित फेकनले आफ्नो राहत अभियानलाई अघि बढाएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड