Matra Education आइतबार, साउन १० २०८३

फेकन र जाल्सानका नवनिर्वाचित पदाधिकारीलाई इक्यानको बधाई

फेकन र जाल्सानका नवनिर्वाचित पदाधिकारीलाई इक्यानको बधाई

  • मात्र एजुकेशन
  • मंगलबार, जेष्ठ १३ २०८२


काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) र जापनिज भाषा स्कुल संघ (जाल्सान) का नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेको छ। मंगलबार नक्साल स्थित अरन्या बुटिक होटेलमा आयोजित एक औपचारिक कार्यक्रमका बिच इक्यानले दुई परामर्श व्यवसायी संघलाई बधाई तथा शुभकामना दिएको हो।

इक्यान अध्यक्ष शेषराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोजक संस्थाका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, केन्द्रीय सल्लाहकारहरू महेश कुमार कार्की, थिरलाल भट्ट लगायत उपस्थित थिए। त्यस्तै इक्यानका अन्य पदाधिकारीहरू तथा सदस्यहरू रहेको कार्यक्रममा फेकन र जाल्सनको नवनिर्वाचित कार्यसमितिको समेत उपस्थिति रहेको थियो।

कार्यक्रम बारे संक्षिप्त जानकारी दिँदै कार्यक्रम सञ्चालक तथा इक्यान महासचिव दिपकराज भुसालले जुन सुकै नाममा खुलेका परामर्श व्यवसायी संघ संगठन भए पनि तिनको उद्देश्य व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनु रहेको बताए। परामर्श व्यवसाय क्षेत्रलाई नकारात्मक दृष्टिकोणले हेर्ने गरिएको उल्लेख गरेका उनले यस क्षेत्रका चुनौतीहरूलाई व्यवस्थापन गर्न इक्यान र ती संस्थाहरूको सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै इक्यानका प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल एन्ड्रयुले शैक्षिक परामर्श व्यवसायीहरूका विभिन्न संघ संगठन रहेको भए पनि सबैको उद्देश्य व्यवसायलाई मर्यादित, व्यावसायिक र व्यवस्थित बनाउने काम गर्नु रहेको बताए। उनले सबै मिलेर यो व्यवसायलाई स्तरीय बनाउँदै देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिए। परामर्श व्यवसाय क्षेत्रमा फेकन र जाल्सानले खेलेको भूमिकाको प्रशंसा गरेका उनले भोलिका दिनमा पनि यी दुई संस्थाको इक्यान सँग सहकार्य रहोस् भन्ने कामना गरे।

इक्यानका निवर्तमान अध्यक्ष पाण्डेले मित्र संघहरुलाई बधाई दिने कार्यक्रम राखेर इक्यानले स्वागतयोग्य कदम चालेको भन्दै धन्यवाद दिए। परामर्श व्यवसायका विभिन्न संघहरु रहेको भए पनि तिनीहरू बिचमा वैचारिक मतभेद मात्रै नभई सहकार्य पनि हुने गरेको उनले स्मरण गराए। जुन नामको संघमा रहे पनि सबैले परामर्श व्यवसायलाई मर्यादित गर्ने काम गरिरहेको बताएका उनले परामर्श व्यवसायीहरूको महासंघमा सबै जोडिन सके नीतिगत तहमा एकीकृत आवाज पुर्‍याउन सकिने र व्यवसायीहरूको हित गर्न सकिने उल्लेख गरे। पाण्डेले जाल्सान यस अघि नै महासंघमा जोडिइसकेको भन्दै फेकनका लागि पनि ढोका खुल्लै राखिएको बताए। फेकनलाई समेट्न अन्तिम सम्म प्रयास भएको भए पनि घोषणा गर्दा त्यो सम्भव नभएको उल्लेख गर्दै फेकन सदस्यहरूलाई त्यसको महत्त्व बुझाएर सँगै लैजान आफूहरू अझै तयार रहेको बताए। उनले नवनिर्वाचित दुवै कार्यसमितिको कार्यकाल सफल होस् र नीतिगत सुधारमा काम गर्न सकियोस् भन्ने शुभकामना दिए।

फेकनका वरिष्ठ उपाध्यक्ष छविन्द्र ओझाले यस किसिमको कार्यक्रमको सुरुवातका लागि इक्यानलाई धन्यवाद दिए । सहकार्य, संवाद र यस्ता कार्यक्रमले शैक्षिक परामर्श व्यवसाय आन्दोलनलाई एउटै दिशामा लान सकिने उनको भनाई थियो। एक्लै लड्ने होइन संयुक्त रूपमा जानुपर्छ भन्ने विषयमा फेकनको पनि सहमति रहेको भए पनि महासंघमा फेकन जान्छ कि जाँदैन भन्ने विषय संस्थाको वार्षिक साधारण सभाले मात्रै निर्णय गर्न सक्ने उनले बताए। नयाँ कार्यसमितिले यस विषयमा छलफल गर्ने जानकारी उनले गराए।

जाल्सान अध्यक्ष रमेश देवकोटाले नयाँ चलन सुरु गरेकोमा इक्यान अध्यक्ष र इक्यानलाई धन्यवाद दिए । एउटा संघको पदाधिकारी देख्दा अर्कोले मुन्टो बटार्ने परिस्थिति बाट दुई जना नवनिर्वाचित अध्यक्षलाई एकै ठाउँ राख्न सक्ने अवस्था सम्म शैक्षिक परामर्श व्यवसाय आइपुग्नु शुभ संकेत भएको उनले बताए। परामर्श व्यवसायीहरूको एउटा माउ संस्था चाहिन्छ भनेर महासंघ बनाइएको बताएका उनले व्यक्तिगत स्वार्थ भन्दा पनि व्यावसायिक हितको काम गर्ने उद्देश्य रहेको भनाई राखे। फेकनलाई पनि महासंघमा समेटिएर जान उनले आमन्त्रण गरे।

कार्यक्रमका सभापति तथा इक्यान अध्यक्ष भट्टराईले शैक्षिक परामर्श क्षेत्रमा दरिलो उपस्थिति रहेका दुई संघलाई बधाई दिन कार्यक्रम राखिएको बताए। महासंघको तर्फबाट नभई इक्यानको कार्यक्रम भएकाले त्यस विषयको धारणा वक्ताको निजी धारणा भएको उनले उल्लेख गरे। परामर्श व्यवसाय क्षेत्रका साझा उद्देश्य प्राप्तिका लागि सहकार्य आवश्यक छ भन्ने सन्देश दिनु कार्यक्रमको मुख्य उद्देश्य भएको बताएका उनले आफूहरूले यो क्षेत्रलाई अझ बढी प्रभावकारी, व्यावसायिक र एकताबद्ध बनाउन चाहेको उल्लेख गरे। परामर्श व्यवसायी संघहरुले मनिटरिङ गर्न प्रभावकारी भूमिका खेल्दा यो क्षेत्रका विकृतिहरू धेरै हदसम्म कम गर्न सकिने भनाई राखेका उनले दर्ता भएका परामर्श व्यवसायीहरूको विरुद्ध हाल मन्त्रालयमा कुनै उजुरी नभएको उदाहरण दिए। इक्यान र फेकन बारे बजारमा हल्ला चलाइए जस्तो केही नरहेको भन्दै उनले आफूहरू सहकार्य मै रहेको प्रस्ट पारे।

कोभिडको समयमा विभिन्न संघहरुले संयुक्त रूपमा खेलेको भूमिकाकै कारण त्यतिखेर अन्तर्राष्ट्रिय शिक्षा राम्रो भएको उल्लेख गरेका उनले यसरी अन्तर्राष्ट्रिय मामिलाहरूमा समेत सँगै काम गर्न सकिने बताए। महासंघमा जान एजिएमले म्यान्डेट दिए जाने फेकनको धारणाको प्रशंसा गरेका उनले त्यसो हुन नसके बाहिरै बसेर पनि सहकार्य गर्न सकिने बताए। संस्थागत सम्बन्धको खाडल कम गरेर सहकार्यमा जोड दिँदै उनले औपचारिक कार्यक्रम समापन गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड