काठमाडौँ- परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को १२ औँ वार्षिक साधारण सभा असार २३ गते सम्पन्न हुँदै छ। आगामी २ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति समेत चयन गर्ने भएको हुँदा यो साधारण सभालाई अत्यन्तै महत्वका साथ हेरिएको छ। खास गरी संस्थाको नेतृत्व अब कसको हातमा जान्छ भन्ने विषयले फेकनमा प्राथमिकता पाएको छ। फेकनको अध्यक्ष पदका लागि अहिलेसम्म दुई जनाले उम्मेदवारी घोषणा गरेका छन्। संस्थाका वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेत र महासचिव राजु निरौला बिच नेतृत्वका लागि प्रतिस्पर्धा हुने लगभग तय भएको छ।
हालसम्म यी दुई बाहेक अन्य कसैले अध्यक्षका लागि दाबी गरेको छैन। २३ गते साधारण सभा मार्फत घोषणा गर्नुअघि सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न फेकन लागिपरेको छ। सबैलाई मान्य हुने नेतृत्व छनोट गर्ने र संस्थाको सर्वोपरि हितमा एकताबद्ध रूपमा व्यवसायीलाई उभ्याउने घोषणा यसअघि नै अध्यक्ष बासु नेपालले गरेका थिए। आज पनि आफ्नो जोड त्यसैमा रहेको भन्दै उनले साझा नेतृत्व ल्याउनका लागि अधिकतम प्रयास गर्ने जनाएका छन्। साधारण सभा नजिकिँदै गर्दा उम्मेदवारहरू तथा अन्य फेकन अगुवाहरू सर्वसम्मत नेतृत्व चयनका लागि बैठकहरूमा व्यस्त छन्।
सर्वसहमतिमा विशेष जोड दिने अर्को एउटा धार पनि फेकनमा सक्रिय छ। अघिल्लो पटक पनि दुई कित्तामा विभाजन हुनु भन्दा एकताबद्ध फेकन बनाउनुपर्छ भन्ने आवाज उठाएको यो समूह यसपालि पनि त्यो प्रयासमा लागेको हो। खासगरि आफूहरूलाई तेस्रो धार बताउने व्यवसायीहरू गगन विष्ट, आरसी केसी, निराजन सिवाकोटी लगायतले फेकन एकताबद्ध हुनुपर्ने, कुनै गुट वा समूह हुन नहुने, बाह्य हस्तक्षेप संस्थामा भित्रिन दिन नहुने र आत्मनिर्णयको अधिकार संस्थालाई प्रदान गर्दै गतिशील बनाउनुपर्ने आवाज उठाउँदै आएको छ। यो पटक आफूहरूको प्रयास सफल हुने क्रममा रहेको र करिब ९०% सफलता मिलिसकेको दाबी यो समूहले गर्दै आएको छ। बाँकी केही कुराहरूमा पनि दुवै पक्षलाई छलफल गराई छिटै निर्णयमा पुग्ने र सर्वमान्य फेकन कार्यसमिति बनाउने यो समूहको दाबी छ।
यो पटक अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका दुई उम्मेदवार बस्नेत र निरौला पनि संस्थाको हितका लागि सर्व सहमत नेतृत्व नै चयन गर्नुपर्ने पक्षमा रहेको बुझिएको छ। स्रोतले दिएको जानकारी अनुसार दुवै पक्षले अधिकतम लचकता अपनाई मिलन विन्दु खोजेर नेतृत्वको छलफल टुङ्गाउने तयारी गरिएको छ। एक पक्षको माग सम्बोधन हुँदै गर्दा अर्को पक्षले समेत आफूले ‘पाएको’ महसुस गर्ने गरी अन्य पदहरूमा समायोजन गर्ने र ‘विन विन सिचुएसन’ बनाउने तयारी संस्था भित्र भइरहेको छ।
सहमति नभए के हुन्छ ?
सहमतिका लागि अधिकतम प्रयास गर्दा पनि नेतृत्वको विषय टुङ्गाउन नसके लोकतान्त्रिक प्रक्रिया अपनाउने तयारी संस्थामा छ। फेकन कार्यसमितिको केही दिन अघि बसेको बैठकले त्यसको विधि समेत तय गरिसकेको छ। उक्त निर्णय अनुसार यदि सर्वसम्मत रूपमा कार्यसमिति चयन हुन नसके निर्वाचनको प्रक्रिया सुरु गरिनेछ। यसका लागि असार १८ गतेसम्म सदस्यता नवीकरणको समय दिइएको छ। १९ गते सदस्यहरूको नामावली प्रकाशन हुनेछ भने २० गते ५ बजे सम्म मनोनयन दर्ता गरिनेछ। त्यस्तै २१ गते १२ बजे सम्म दाबी, विरोध र मनोनयन फिर्ताको लागि समय दिइएको छ भने २१ गते ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी असार २३ गते निर्वाचन सम्पन्न गरिनेछ।
निर्वाचनका लागि प्रविधिको प्रयोग
निर्वाचन प्रक्रियाका लागि फेकनले प्रविधिको प्रयोग गर्ने भएको छ। राम लक्ष्मण दाजुभाइले बनेको ‘भोटिङ मेसिन’ को प्रयोग गर्दै संस्थाले यो नवीन अभ्यास गर्न लागेको हो।त्यसका लागि पाँच वटा मेसिन तयारी अवस्थामा राखिएको छ। तिन वटा मेसिन बाट मतदान हुनेछ भने एउटा डेमो देखाउन र अर्को आकस्मिक अवस्थाका लागि रिजर्भ राख्न प्रयोग हुने बताइएको छ। यो मेसिनले मतदान सकिएको १० मिनेटमै अन्तिम नतिजा दिनेछ भने मत बदर हुने सम्भावना रहँदैन। मतदानलाई निष्पक्ष, विवाद रहित र विश्वसनीय बनाउन प्रविधिको प्रयोग गर्न लागेको फेकन ले जानेको छ।
को बन्ला त अध्यक्ष ?
अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका दुवै उम्मेदवार फेकनमा आ-आफ्नो बलियो पकड भएका उम्मेदवार हुन्। संस्थामा सचिव र महासचिव बनेर सक्रिय भूमिका खेलेका निरौला परामर्श व्यवसाय क्षेत्रमा देखिएका विभिन्न समस्या तथा मुद्धाहरुमा सक्रिय भूमिका खेलेर संस्था भित्र लोकप्रिय छवि बनाउन सफल भएका छन्। परामर्श व्यवसाय सँग सम्बन्धित विभिन्न संस्थाहरू तथा नियोगहरूमा राम्रो सम्बन्ध बनाएका उनी आफू नेतृत्वमा आए अझै उत्कृष्ट भूमिका खेलेर सुदृढ फेकन बनाउने बताउँछन्। त्यस्तै फेकनमा उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षमा दुई कार्यकाल आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका बस्नेत फेकनको स्थापनाकालदेखि नै सक्रिय रूपमा संस्थामा रहेका छन्। आफू निर्वाचित भए यस क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने तथा शैक्षिक क्षेत्रमा देखिएका विकृतिलाई हटाउन लागिपर्ने उनको दाबी छ। बस्नेत र निरौलाका पक्षमा रहेका व्यवसायीहरू दुवैले आफ्नो पक्षले सहजै जित्ने दाबी गर्दै आएका छन्। तर निर्वाचन भएमा त्यसो नभई यी दुई उम्मेदवार बिच कडा प्रतिस्पर्धा हुने लगभग निश्चित छ। सर्वसहमतिका लागि अहिले बनिरहेको खाका कार्यान्वयन भएमा भने अवस्था फरक देखिन सक्छ।