काठमाडौँ- राजधानीको तीनकुने शान्तिनगर गेट स्थित टि.टि. वर्ल्ड एजुकेसन कन्सल्टेन्सीले दक्षिण कोरिया जाने विद्यार्थीहरूका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कोरियन विश्वविद्यालयका प्रोफेसरहरू ल्याएर नेपाली विद्यार्थीहरूका जिज्ञासा मेटाउने काम मङ्गलवार टि.टि. वर्ल्डले गरेको हो। कोरिया बारे बुझ्न चाहने विद्यार्थीको ठुलो समूह भए पनि नेपाल सरकारले तोकेको मापदण्ड अनुसार २५ जना विद्यार्थी मात्रै राखेर कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा सजाङ र सिन्साङ विश्वविद्यालयबाट आएका प्रोफेसरहरूले विद्यार्थीका जिज्ञासा मेटाउने काम गर्नुका साथै कोरिया अध्ययनका अवसर र ध्यान दिनुपर्ने कुराहरू प्रस्ट पारेका थिए।
कोरियन प्रोफेसर चुलओन जङले मात्र एजुकेसनलाई प्रतिक्रिया दिँदै आफू विशेष उद्देश्यले नेपाल भ्रमणमा रहेको बताए। उनले भने, “पछिल्लो समय नेपालबाट कोरिया अध्ययनका लागि आवेदन दिने विद्यार्थीहरूको भिसा रिफ्युजल धेरै भएको छ। हाम्रो टोली कोरियन एम्बेसी पुगेर के कारणले यसो भएको हो बुझ्नेछ। त्यसपछि हामी डकुमेन्ट बनाउने देखि लिएर यो समस्या समाधान गर्नका लागि नेपाली विद्यार्थीलाई सहयोग गर्नेछौँ”। विद्यार्थीका समस्या बुझेर दूतावास जाँदा अझै समस्याको गहिराइसम्म पुग्न सकिने हुँदा टोलीले आज विद्यार्थीसँग छलफल गरेको थियो। आफू टि.टि. वर्ल्डले गरेको अन्तर्क्रियात्मक कार्यक्रममा नेपाली विद्यार्थीको उत्साहजनक सहभागिताले प्रफुल्लित भएको प्रोफेसर बताउँछन् ।
कार्यक्रममा टि.टि. वर्ल्ड सहित अन्य कन्सल्टेन्सीका विद्यार्थीहरू समेत लाभान्वित भएका थिए। विद्यार्थीहरूले विशेष गरी रिजेक्सन केस, ग्र्याजुएसन पछि कोरियामा भविष्य, अध्ययन पछिको अवसर, कामदार भिसामा परिवर्तन हुने प्रक्रिया आदि विषयमा चासो देखाउँदै प्रश्न गरेका थिए। कार्यक्रम पछि सहभागी विद्यार्थीहरूले आफ्ना सबै जिज्ञासा समाधान भएको भन्दै टि.टि. वर्ल्ड प्रति आभार व्यक्त गरे।
के थियो विशेष आकर्षण?
अन्तर्क्रियात्मक कार्यक्रममा नेपाली विद्यार्थीलाई एक बिलकुल नयाँ विषयसँग परिचित पनि गराइएको थियो। विदेश अध्ययन गर्न जानका लागि भाषा कक्षा बाधक भएर आफ्नो सपना त्याग्न बाध्य विद्यार्थीलाई एक सरल विकल्प कार्यक्रममा प्रदान गरिएको थियो। खास गरी आइएल्टिएस, पिटिई, आदि भाषा परीक्षा दिन गाह्रो मान्ने विद्यार्थीलाई लक्षित गरी फरक खालको भाषा परीक्षाको जानकारी गराइएको हो। क्याम्ब्रिज विश्वविद्यालयबाट मान्यता प्राप्त सि.इ.एफ.आर. नामक यो भाषा परीक्षाबारे सम्भवतः नेपालमै पहिलो पटक जानकारी गराइएको हो। आइएल्टिएस परीक्षा जस्तै अन्तर्राष्ट्रिय मान्यता प्राप्त यो परीक्षा अन्य परीक्षाको तुलनामा निकै कम शुल्कमा दिन पाइन्छ भने कोरियाका लागि सुनाइ (लिसनिंङ) र पढाइ (रिडिङ) को मात्रै परीक्षा दिए पुग्छ। त्यसबाहेक डिजिटल पद्धतिबाट दिइने यो परीक्षामा अघिल्लो उत्तर मिलेमा पछिल्लो प्रश्न कठिन आउँछ भने अघिल्लो प्रश्न गलत भएमा पछिल्लो प्रश्न सजिलो आउँछ। यसो हुँदा विद्यार्थीले आफ्नो सिकाइको स्तर मापन गर्न सक्ने र सुधार गर्न सक्ने अवसर पाउँछन्।
कार्यक्रम सम्पन्न भएपछि मात्र एजुकेसनलाई प्रतिक्रिया दिँदै टि.टि. वर्ल्ड एजुकेसन कन्सल्टेन्सीका सञ्चालक गणेश बेलबासेले कार्यक्रम अर्थपूर्ण भएको बताए। उनले भने “विद्यार्थीको सक्रिय सहभागिताले जसरि यो अन्तर्क्रियात्मक कार्यक्रमलाई सफल बनायो, त्यसरी नै प्रोफेसरहरूको दूतावास भ्रमणले कोरियन भिसा सम्बन्धी पछिल्लो समय देखिएको समस्या पनि हल हुनेमा हामी आशावादी छौँ”। यो कार्यक्रम मार्फत टि.टि. वर्ल्डले विश्वविद्यालय र विद्यार्थी दुवैलाई फाइदा पुर्याउने काम गरेको उनको भनाइ थियो।
टि.टि. वर्ल्ड एजुकेसन कन्सल्टेन्सी छोटो समयमै कोरिया जाने विद्यार्थीको पहिलो रोजाई र विश्वासिलो परामर्शदाता बन्न सफल संस्था हो। तपाईँ टि.टि. वर्ल्डका बारे थप जानकारी चाहनुहुन्छ भने यहाँ क्लिक गरेर मात्र एजुकेसनले तयार पारेको विशेष सामग्री पढ्न सक्नुहुन्छ।
