Matra Education आइतबार, साउन १० २०८३

नेपाललाई विश्वकै आकर्षक शैक्षिक गन्तव्य बनाउन सकिनेमा सरोकारवालाको जोड

नेपाललाई विश्वकै आकर्षक शैक्षिक गन्तव्य बनाउन सकिनेमा सरोकारवालाको जोड

  • मात्र एजुकेशन
  • शुक्रबार, असोज १८ २०८१


काठमाडौँ- नेपाललाई विश्वभरका विद्यार्थीहरूका लागि आकर्षक शैक्षिक गन्तव्य बनाउन सकिने विषयमा शैक्षिक परामर्शदाताहरू, सञ्चारकर्मीहरू र शिक्षा क्षेत्रका सरोकारवालाहरूले विशेष जोड दिएका छन्। बिहीबार राजधानीमा सम्पन्न ‘विदेश अध्ययनलाई व्यवस्थित गर्न र नेपालमा अध्ययनलाई प्रवर्द्धन गर्ने सन्दर्भमा शैक्षिक परामर्शदाताहरूको बदलिँदो भूमिका’ विषयक प्यानल छलफलमा उनीहरूले समयको परिवर्तन सँगै विदेश अध्ययनलाई व्यवस्थित गर्न र नेपालमै गुणस्तरीय शिक्षा प्रदान गरी यसलाई अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय बनाउन सामूहिक प्रयास आवश्यक रहेको औँल्याए।

शैक्षिक परामर्श क्षेत्रमा नेपालकै पहिलो ‘बि टु बि प्लेटफर्म’ युनि कन्सलट्यान्स अलायन्स (युसिए )ले लाजिम्पाट स्थित दुसित प्रिन्सेस होटलमा आयोजना गरेको एक कार्यक्रमका बिच राखिएको प्यानल छलफलले यस्तो निष्कर्ष निकालेको हो। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराई, राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) का अध्यक्ष सन्तोष प्याकुरेल, जुपिटर मिडियाका प्रबन्ध निर्देशक सुनिल आचार्य र मात्र एजुकेसनका प्रधान सम्पादक रमेश लामिछाने प्यानलिस्टका रूपमा रहेको उक्त छलफलको सहजीकरण वरिष्ठ परामर्शदाता तथा युसिएका अन्तर्राष्ट्रिय विभाग प्रमुख रामशरण ढकालले गरेका थिए।

प्यानल छलफलमा परामर्श व्यवसायी छाता संगठनका दुई अध्यक्ष भट्टराई र प्याकुरेलले तालिम प्राप्त परामर्श दाताको महत्त्व, विदेश अध्ययनलाई स्तरिकृत गर्नुपर्ने आवश्यकता, नेपाललाई अध्ययन गन्तव्य बनाउनुको अवसर, चुनौती लगायत बारे आफ्नो धारणा राखेका थिए। त्यस्तै उनीहरूले नीति निर्माण लगायत विषयमा राज्यले खेल्नुपर्ने भूमिका नखेलेको र नेपालमा शिक्षाको विकास गर्ने कुरामा उदासीनता देखाएकै कारण विदेशी विद्यार्थी ल्याएर अध्यापन गराउने काम सहज बन्न नसकेको धारणा राखे। राज्यले उपयुक्त वातावरण निर्माण गरिदिए विद्यार्थी विदेश पठाउने मात्रै नभई अध्ययनका लागि नेपाल ल्याउन समेत परामर्श व्यवसायीहरू तयार रहेको बताए।

छलफलमा आ-आफ्नो धारणा राख्दै दुई सञ्चारकर्मीहरू आचार्य र लामिछानेले विदेश अध्ययन र नेपालमा अध्ययन लगायत विषयहरूले आमसञ्चार माध्यममा पाएको स्थान, यी दुई विषयका सकारात्मक/नकारात्मक पाटोहरू, पत्रकारिता क्षेत्रले सम्बन्धित निकायमा यी विषय पुर्‍याउन खेल्न सक्ने भूमिका लगायत बारे चर्चा गरे। उनीहरूले विश्वका प्रतिष्ठित शैक्षिक संस्थाहरूको उदाहरण प्रस्तुत गर्दै नेपालमा सम्भावना खोज्न सकिने विषय, विदेश अध्ययनलाई व्यवस्थित बनाउने विषय र शैक्षिक परामर्श व्यवसायीका छाता संगठनले नेपालमा अध्ययन प्रवर्द्धनका लागि गर्नुपर्ने प्रयासहरू लगायत बारे सुझाव दिए।

छलफलको सहजीकरण गरेका ढकालले छाता संगठनहरु बिच एउटै एजेन्डामा देखिएको मतभेद, काम भन्दा जस लिने होडबाजी लगायत विषयमा प्रश्नहरू राखेका थिए। त्यस्तै उनले आमसञ्चार माध्यममा विदेश अध्ययनका सकारात्मक भन्दा नकारात्मक पाटो बढी आएको, नेपाल मा अध्ययन गर्ने विषयले प्राथमिकता नपाएको लगायत विषयहरू समेत उठाएका थिए। सहभागीहरूले राखेका केही प्रश्नहरूको जवाफ समेत प्यानालिस्टहरु बाट दिइएको थियो।

कार्यक्रमलाई युसिएले केही दिन अगाडी सञ्चालन गरेको तालिमको प्रमाणपत्र वितरण गर्ने अवसरका रूपमा समेत सदुपयोग गरेको थियो। कार्यक्रमका सभापति तथा युसिएका अध्यक्ष विनोद कुमार सुवेदी, प्रमुख अतिथि पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा प्रेम नारायण अर्याल तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा ७ दिने परामर्श तालिम प्राप्त गरेका २० जना सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अर्यालले युसिएले अत्यन्तै महत्त्वपूर्ण प्रयास गरिरहेको भन्दै धन्यवाद दिए। उनले पोखरा विश्वविद्यालयले २ जना विदेशी विद्यार्थी भर्ना गरेर नेपालमा अध्ययन छ भन्ने उदाहरण प्रस्तुत गरिसकेको र त्यो सङ्ख्या अब बढ्दै जाने उल्लेख गरे। पछिल्लो पुस्तामा बढेको विदेश मोह र हाम्रा शैक्षिक संस्थामा भइरहेको राजनीति बारे चिन्ता व्यक्त गरेका उनले विदेश गएकाहरूले सिप सिकेर नेपाल आएर आफ्नै देशमा योगदान गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरूले आसन्न चाडपर्वहरूको लागि शुभकामना दिएका थिए।

कार्यक्रमका सभापति सुवेदीले युसिएले ‘बि टु बि प्लेटफर्म’ का रूपमा गर्दै आएको काम र आगामी योजनाहरूका बारेमा चर्चा गरे। स्थापनाकाल देखि लिएको उद्देश्य, विद्यार्थी र परामर्श व्यवसायी दुवैलाई पुर्‍याएको फाइदा आदि बारे समेत जानकारी दिएका उनले परामर्श व्यवसायलाई सिपमूलक र गुणस्तरीय बनाउनका लागि यस किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको बताए। विदेश अध्ययनलाई स्तरिकृत गर्ने र नेपालमा अध्ययनलाई प्रोत्साहन गर्ने दुवै उद्देश्यमा सफल हुनका लागि सबैको साथ सहयोगको अपिल गर्दै उनले कार्यक्रम समापन गरे।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड