काठमाडौँ- राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) ले अन्तर्राष्ट्रिय शिक्षा प्रदायकहरू सँग अन्तर्क्रिया गरेको छ। बिहीबार हात्तीसार स्थित नेपाल हाउस रेस्टुरेन्टमा आयोजित एक कार्यक्रममा लामो समयदेखि नेपालमा कार्यरत अन्तर्राष्ट्रिय शिक्षा प्रदायकका प्रतिनिधिहरू बोलाएर उसले परामर्श क्षेत्रमा पछिल्लो समय देखिएका विभिन्न चुनौतीहरू बारे छलफल गरेको हो। कार्यक्रममा नेकाका सदस्यहरू सहित आमन्त्रित अन्तर्राष्ट्रिय शिक्षा प्रदायकका प्रतिनिधिहरू उपस्थित थिए।
कार्यक्रममा आफ्नो प्रस्तुतीकरण सहितको सम्बोधन राख्दै नेका अध्यक्ष सन्तोष प्याकुरेलले नेपाल सरकार विभिन्न विभेदकारी नीति ल्याउने तयारीमा रहेको भन्दै त्यसले व्यवसायमा ठुलो प्रभाव पार्ने उल्लेख गरे। उनले व्यक्तिको स्वतन्त्रता हनन गर्ने गरी ल्याइने कुनै पनि नीति स्वीकार्य नहुने भन्दै त्यसको प्रतिकारका लागि सहकार्य गर्न परामर्श व्यवसायी तथा समकक्षी संघ संगठनलाई अपिल गरे। परामर्श क्षेत्र व्यवस्थित हुनुपर्छ भन्ने आफूहरूको पनि धारणा रहेको भए पनि यो व्यवसाय नै धराशायी बनाउने किसिमको नीति बनाए किमार्थ स्वीकार्य नहुने उनको भनाइ थियो। वर्तमान कार्यसमिति निर्माण पश्चात् नेका गतिशील हुन खोजेको बताएका उनले देशको जिम्मेवार शैक्षिक परामर्श संघ भएकाले यो व्यवसायलाई मर्यादित र असल कर्म गर्ने थलो बनाउने प्रयत्न स्वरूप नेकाले यस्ता गलत कदमहरू विरुद्ध बोल्ने काम थालेको बताए।
कार्यक्रममा अन्तर्राष्ट्रिय शिक्षा प्रदायकका प्रतिनिधि तथा नेकाका सदस्य परामर्श व्यवसायीहरूले आ- आफ्नो धारणा राखेका थिए। सिंगो क्षेत्र बचाउने बारे समयमै चासो देखेको भन्दै उनीहरूले नेका कार्यसमितिलाई धन्यवाद दिए। आफ्नो हक हितका लागि सबै एकजुट भएर लाग्ने सन्देश उनीहरूले कार्यक्रम मार्फत दिए।
कार्यक्रमको फोटो फिचर हेर्न यहाँ क्लिक गर्नुहोस् ।