काठमाडौँ- शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) ले लुम्बिनी प्रदेश समिति निर्माण गरेको छ। गत शनिवार रुपन्देहीमा परामर्श व्यवसायीहरूको एक भेला योजना गर्दै गणेश गौडेलको नेतृत्वमा १३ सदस्यीय प्रदेश समिति गठन गरिएको हो ।
नव निर्वाचित समितिको उपाध्यक्षमा सुशील पाण्डे, सचिवमा नारायण पोख्रेल, सह-सचिवमा आषिका पोख्रेल र कोषाध्यक्षमा सन्तोष पाण्डे रहेका छन्। त्यस्तै सदस्यहरूमा आयुष सापकोटा, धिरज ज्ञवाली, दुर्गा प्रसाद पन्थी, विकास पन्थी, अनिष विक्रम सेन्चुरी, माधव बन्जाडे, सुनिल चौधरी, योगेश ढकाल चयन भएका छन् ।
कार्यक्रममा नवनिर्वाचित प्रदेशका अध्यक्ष गणेश गौडेलले परामर्शदाताहरूलाई एकताबद्ध गर्दै संस्थागत रूपमा व्यवस्थित गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । केही परामर्शदाताका कारण समग्र पेसा व्यवसायमा आएको चुनौतीलाई चिर्ने गरी काम गर्ने उनले बताए ।
कार्यक्रमको लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको उप-सचिव दिवाकर भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै संस्थागत एकता र अधिकार प्राप्तिमा लाग्न सुझाव दिए ।
कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष सूर्य पोखरेलले नेकाले विशुद्ध परामर्शदाताहरूको हकहितमा काम गर्ने संस्थाको रूपमा पहिचान बनाएको दाबी गरे । सदस्यहरूलाई नियमित तालिम र अभिमुखीकरणलाई जोड दिँदै सही परामर्श दिन प्रोत्साहन गर्दै आएको उनले बताए । संस्था विगतबाट नै सरकार र सरोकारवाला निकायसँग सहकार्य गर्ने हुँदा पनि सधैँ विश्वसनीय काम गर्ने उनले बताए ।
कार्यक्रममा नेका केन्द्रीय अध्यक्ष सन्तोष प्याकुरेल, केन्द्रीय महासचिव दिपक कोइराला, लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका अधिकृत विष्णुप्रसाद भुसाल, पूर्व क्रिकेटर शक्ति गौचन, नारायण पौडेल, विकास भण्डारी लगायतले मन्तव्य राखेका थिए ।