तपाईँ आफ्नो जीवन सँग कतिको सन्तुष्ट हुनुहुन्छ ? अथवा तपाईँलाई आफ्नै जीवन सँग कति गुनासो छ? हामी दैनिक जीवनमा यो वा त्यो भएन भनेर दुखेसो पोखिरहेका हुन्छौँ । अझ मध्यम वर्गीय परिवारमा जन्मिएका व्यक्तिहरूमा त यो समस्या झन् सामान्य हुन्छ। विश्वमा केही व्यक्ति भने यस्ता पनि छन् जसले आफ्नो त्यही अभावको स्थितिमा आफ्नो जीवनको लक्ष्य निर्धारण गर्दछन् र त्यो सफलताको शिखर चुम्न सफल हुन्छन् । आजको उत्प्रेरणात्मक कथा त्यस्तै खालको छ।
यो कथा त्यस्तै एउटा विन्दुबाट सुरु हुन्छ जति बेला एउटा बालकलाई कुकिज खान मन लाग्छ तर कुकिज किन्ने पैसासमेत उसको आमा सँग हुँदैन । त्यो बालक आफ्नो सबैभन्दा मन पर्ने खानेकुरा किन्न नपाएकोमा गुनासो गर्दैन बरु आफ्नी आमासँग एकदिन धेरै पैसा कमाएर कुकिजको उद्योग किन्ने आफ्नो सपना रहेको बताउँछ । त्यही टन्न कुकिज खाने सङ्कल्प र उ भित्र रहेको प्रतिभा, लगनशीलता र कडा मेहनतले त्यो बालकलाई आज २०० बिलियन डलर सम्पत्तिको मालिक र प्रसिद्ध फुटबल खेलाडी नेइमार जुनियर बनाएको छ।
ब्राजिलको एक सामान्य परिवारमा जन्मिएका तिनै बालक नेइमार आज धेरै फुटबल प्रेमीहरूको ढुकढुकी बनिसकेका छन् । उनलाई फुटबलमा लाग्न प्रेरित गर्ने उनका बुबा पनि फुटबल खेलाडी थिए। फुटबल खेलेर परिवार पाल्न नसक्ने भएपछि उनले आफ्नो सपना त्यागेर ३ वटा जागिर गर्दै गुजारा गर्थे। आफ्नो छोराको पनि फुटबल प्रति उतिकै लगाव देखेपछि उनले छोरालाई फुटबल खेल्न लगाएका हुन् । आजका यी महान् खेलाडी कुनै दिन गल्लीमा फुटबल खेलेर आफ्नो करियर सुरुवात गरेका थिए।
सन २००३ मा उनको परिवार स्यान्टोस सरेपछि उनले सान्टोस फुटबल क्लबमा प्रवेश पाए( यो त्यही क्लब हो जसमा प्रसिद्ध ब्राजिलियन फुटबल खेलाडी पेलेले आफ्नो अधिकांश घरेलु खेल खेले) । १४ वर्षकै उमेरमा उनले रियल म्याड्रिडले लिएको ट्रायल पास गरे जसका कारण सान्टोस फुटबल क्लबले उनलाई टिकाउनका लागि तलब, सुविधा बढाउनु पर्यो।
खेलमैदानमा सधैँ आत्मविश्वासी र उत्कृष्ट खेल कौशल प्रदर्शन गर्न सफल यी खेलाडीले क्लबलाई लिबर्टाडोस् नामक प्रतिष्ठित कप दिलाए र सन् २०११/१२ को साउथ अमेरिकन वर्ष फुटबल खेलाडी को उपाधि प्राप्त गरे।
सन् २०१३ मा बार्सिलोना फुटबल क्लब सँग ५ वर्षे सम्झौता सहित प्रवेश गरेका नेइमार झन्डै ७६ मिलियन ( इतिहासकै थोरै महँगा सरुवा मध्य एक) डलरमा अनुबन्धित भए। त्यहाँ उनले क्लबलाई ३ पटक लालिगा च्याम्पियनसिप, एउटा कोपा डेल रे र एउटा यु. इ. एफ. ए च्याम्पियन्स लिग जिताए। बार्सिलोनाको यी जितहरूमा मुख्य भूमिका खेलेका उनले त्यो अवधिमा १८६ खेलबाट १०५ गोल गरे।
सन् २०१७ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनमा हालसम्मकै सबैभन्दा धेरै मूल्य, २६३ मिलियन ट्रान्सफर फि सहित अनुबन्धित भएका नेइमारले उक्त क्लब सँगको पहिलो सिजनको खेलमा जम्मा ३० खेल खेलेका छन् भने २८ गोल गरेका छन् । यी युवा खेलाडी चर्चित पत्रिका फोर्ब्सको सूचिमा तेस्रो धेरै मूल्यको खेलाडीका रूपमा आज सूचीकृत छन् ।
तपाईँले नेइमारको उत्प्रेरणात्मक जीवन कथाबाट दृढ सङ्कल्प, लगनशीलता र केही गरी छोड्ने अठोटले पक्कै व्यक्तिलाई सफल बनाउँछ भन्ने कुरा बुझ्नुभयो होला। एउटा कुकिज खाने पैसा नहुँदा निराश भएर बसेको भए त्यो बालक आज ब्राजिलमा ठुला ठुला च्यारिटी सोहरूको सञ्चालक र विश्वकै महँगो खेलाडी हुने थिएन। त्यसैले जुनसुकै अवस्थामा पनि विचलित नभई निरन्तर प्रयास गर्नुभयो भने सफलता तपाईँको दास बन्नेछ।