Matra Education आइतबार, साउन १० २०८३

पत्रकार ऋषि धमलाले रातभर सडकमा काटेको त्यो रात

पत्रकार ऋषि धमलाले रातभर सडकमा काटेको त्यो रात

  • रमेश लामिछाने
  • शुक्रबार, मंसिर ३ २०७८


(तपाईँ मात्र एजुकेसनले पत्रकार ऋषि धमलाको विद्यार्थी जीवन र सङ्घर्ष माथि लेखेको सामग्री पढ्दै हुनुहुन्छ। यो सामग्रीको आजको भाग दोस्रो भाग हो। तपाईँले पहिलो भाग पढ्नुभएको छैन भने यहाँ क्लिक गरेर  पढ्न सक्नुहुन्छ। यो सामग्री मात्र एजुकेसनको विशेष प्रस्तुति “फर्केर हेर्दा विद्यार्थी जीवनको भाग ५” मा गरिएको अन्तर्वार्तामा आधारित छ )

…भोकाएका धमलाले त्यहाँ सुन्तला किनेर खाएपछि गाडी चढ्ने ठाउँ थाहा पाए। १० वर्षीय यी बालकले एउटा ट्रक काठमाडौँ जाँदै छ भन्ने थाहा पाएपछि त्यसैमा चढे। त्यसपछि धमलाको पहिलो चोटि काठमाडौँको यात्रा सुरु भयो।

केही घण्टाको यात्रा पछि राति करिब १:३० बजे ट्रक सुन्धारा आएर रोकियो। सामान बोकेर आएको ट्रक त्यहाँ सामान झारेपछि त्यसका स्टाफले आफूहरू त्यहीँ रहने हुँदा आ-आफ्नो बस्ने व्यवस्था गर्न सबैलाई भने। ट्रकमा काठमाडौँ आएका सबै त्यसपछि आफ्नो झोला च्यापेर राति नै गन्तव्य तिर लागे। त्यहाँ एउटा सानो बालक बाँकी रह्यो जसलाई न त ठाउँ थाहा थियो न त जाने कुनै गन्तव्य नै। बालक धमलाले धरहरा बारे पढेका थिए। आफू त्यही धरहरा नजिक रहेको थाहा पाएपछि उनले चिसो रात करिब ४ घण्टा त्यहीँ बिताए।

बिहान उज्यालो भएपछि उनलाई अब कसैको आश्रय खोज्नुपर्छ भन्ने लाग्यो। केही बेर सोचेपछि उनलाई कालधारामा एकजना आफन्त छन् भन्ने दिमागमा आयो। उनका मावली गाउँका एक सम्पन्न साह परिवार त्यहाँ बस्थ्यो। उनी सोधपुछ गर्दै त्यहाँ पुगे। सानो बालक एक्लै काठमाडौँ आएको देखेर ती आफन्तहरू छक्क परे। यति बेला धमलाको भाग्य बलियो थियो र ती आफन्तले उनलाई आफूसँगै राख्नका लागि तयार भए। तिनै आफन्तले उनलाई संस्कृत पाठशालामा कक्षा ६ मा भर्ना गरिदिए। काम गर्न नलजाउने र गाह्रो नमान्ने धमला ती आफन्तको घरमा काम सघाउन पनि थाले। उनी घर भित्र बाहिर परेको सबै काम गर्नका लागि तयार हुन्थे।

कक्षा ६ मा भर्ना भएको ६ महिनापछि नै उनका बुबाले छोरो कालधारामा आफन्तको घरमा बस्छ भन्ने थाहा पाए र लिनका लागि काठमाडौँ आए। बुबाले आफू एक्लै भएकाले निन्द्रा नलागेको, खाना नरुचेकाले लिन आएको बताए। त्यतिबेला गाउँको स्कुलको कक्षा समेत बढेर ५ बाट ७ पुगेको थियो। उतै पढाउने सर्तसहित बुबा लिन आएपछि धमला पुनः गाउँ फर्किए।

उनले गाउँको स्कुलमा भर्ना भएको २ महिनामै कक्षा ६ को परीक्षा दिए। अर्को एक वर्ष कक्षा ७ गाउँमा पढिसकेपछि पुनः धमलालाई पढ्ने ठाउँ भएन। पढेर जिन्दगीमा केही गर्नुपर्छ भन्ने उनको भोकलाई त्यसपछि पनि कुनै चुनौतीले रोक्न सकेन। उनले पुनः काठमाडौँ आउनका लागि बुबालाई आग्रह गरे। उनका बुबाले बहुत कठिन मान्दै अनुमति दिए। उनी जनप्रभात माविमा कक्षा ८ मा भर्ना भए। राजनीतिज्ञ ऋषि सुवेदी (जो उनका आफन्त पनि पर्थे) ले धमलालाई आफ्नो घरमा बसे आफूले पढाइदिने प्रस्ताव राखे। धमलालाई यो प्रस्ताव ढुङ्गा खोज्दा देउता भेटे जस्तै भयो। यसरी उनी काठमाडौँ आएर दोश्रोपटक पढ्न थाले। यहाँ पनि उनी घरायसी काम सघाउने गर्थे।

यही समय २०४६ सालको आन्दोलन सुरु हुन लाग्यो। त्यतिबेला ऋषि धमलाको जीवन सिम्खडा, प्रेम तिवारी, रामचन्द्र भट्टराई आदि सित भेट भयो। उनीहरूले ऋषि धमलालाई आन्दोलन र पत्रकारितामा लगाउने प्रस्ताव राखे। आफूहरूले पत्रकारिता मार्फत प्रजातन्त्रको बिगुल फुक्नका लागि मिसन पत्रकारिता सुरु गर्न लागेकाले धमलाले त्यसमा साथ दिनुपर्ने उनीहरूको प्रस्ताव थियो। गणेशमान सिंहको घरमा बसेको बैठकको रिपोर्टिङ गर्ने पहिलो जिम्मेवारी पाएसँगै धमलाको पत्रकारिताको औपचारिक यात्रा सुरु भयो।

त्यो बैठकमा नेपाली प्रजातान्त्रिक नेता, वाम नेताका साथै भारतीय हस्ती नेताहरू पनि सहभागी थिए। फागुन ७ गते आन्दोलन सुरु भयो र पत्रिका पनि त्यही दिन बाट निस्कियो। बजारमा त्यो पत्रिका लिएर जान अरू डराउने हुँदा धमला आफैँ पत्रिका बेच्ने काम पनि गर्न थाले। दुर्भाग्यवश पत्रिका बजार लाने क्रममा उनलाई प्रहरीले समात्यो र थुनामा राख्यो। क्रमशः

(ऋषि धमलाले एउटा अन्तर्वार्ताका लागि रातभर पानीमा भिजेर एक नेतालाई बाटोमा कुरेको रोचक घटना र पत्रकारिताका लागि गरेको अन्य सङ्घर्ष बारे थप लेख केही दिनमा प्रकाशित हुनेछ । तपाईँ यो लिङ्कमा क्लिक गरेर पुरा भिडियो पनि हेर्न सक्नुहुनेछ)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड