काठमाडौँ- रचना रिमाल यो पुस्ताकी चर्चित गायिका हुन्। उनले गाएका थुप्रै गीत दर्शक श्रोताको जिब्रोमा झुन्डिएका छन्। ‘फोटो फिरिममा’, ‘मिनिरल वाटर’, ‘उनको प्रीति’ लगायतका गीत चर्चित छन् भने ‘नमुछे आमा दहीमा टीका’ को नयाँ भर्सन, ‘सुनन पियारी’ ‘चाहन्छु’, ‘सम्झिनी पानी छम्किनी’, ‘भन साइँला’ जस्ता उनका थुप्रै गीतहरू पनि रुचाइएका छन् । उनी यतिसम्म व्यस्त बनिन कि एकैदिन ३-४ वटा गीत रेकर्डिङ गर्नुपर्ने अवस्था समेत आयो। सांगीतिक करिअर सुरु गरेको छोटो समयमै यो स्तरको सफलता हात पारिसकेकी रचनाको यो सफलतामा एउटी शिक्षिका, डायरी र पाँच सय पुरस्कारको ठुलो भूमिका रहेको छ। आज मात्र एजुकेसनले उनकै सफलताको बारे एक उत्प्रेरणात्मक सामग्री तपाईँका लागि लिएर आएको छ।
१८ वर्षको सानो उमेरमै र छोटो अवधिमै लोभलाग्दो सफलता हात पारेकी यी गायिका हाल अत्यन्तै लोकप्रिय छिन् । पहिलो चर्चित गीत ‘फोटो फिरिममा’ सार्वजनिक भएको दुई वर्ष नहुँदै उनको स्वर एक हजारभन्दा बढी गीतमा गुन्जिइसकेको छ । स्टेजमा पनि उत्तिकै व्यस्त रचनाले यो सफलताको जग बाल्यकालमै बसालेकी हुन्।
झापाको चन्द्रगढीमा सामान्य परिवारमा जन्मिएकी हुन् रचना । आमाले दुई वर्ष अगाडिसम्म घरछेउमै घुम्ती पसलमा चटपटे बेच्थिन् । बुवा पहिले वैदेशिक रोजगारीमा थिए । अहिले घर फर्किएर अटो चलाउँछन् । तीन दिदी-बहिनीमा माइली रचना सानैदेखि भजन गाउँथिन् । भजन गाएको मन पराएर कतिले उनलाई पैसा समेत दिन्थे । कक्षा ४ देखि प्राइभेट विद्यालय पढेकी रचना सोही वर्ष विद्यालयको प्रतियोगितामा गीत गाएर प्रथम भइन् । त्यसपछि शिक्षकहरूले सिकाएर बाहिरको प्रतियोगिताहरूमा समेत लैजान थाले । कक्षा ५ मा पढ्दा रचनाले विद्यालयस्तरीय प्रतियोगितामा गाएकी थिइन् । सो प्रतियोगितामा उनले तारादेवीको गीत ‘उकाली ओरालीहरूमा’ गाएकी थिइन्, प्रथम भइन् । ‘पुरस्कार स्वरूप डायरी र पाँच सय रुपैयाँ पुरस्कार पाएकी उनलाई त्यो दिनबाट गाउन सक्छु जस्तो लाग्यो र गायनमा एकदमै प्रोत्साहित भइन् ।

विद्यालयमा नृत्य सिकाउने एक जना शिक्षिका थिइन्, जसले गीत एकदमै रुचाउँथिन् । उनले रचनालाई गीत गुनगुनाउन लगाइरहन्थिन् । गुनगुनाउन लगाउने मात्र होइन, गाउँदै गरेको भिडियो मोबाइलले खिचेर आफ्नै अकाउन्टबाट एउटा ग्रुपमा समेत पोस्ट गरिदिन्थिन् । सो ग्रुपमा जसले पनि गीत गाएर पोस्ट गर्न मिल्थ्यो । त्यति बेला रचना कक्षा ९ मा पढ्दै थिइन् । ग्रुपमा पोस्ट गरिएका भिडियोमा एकदमै राम्रो प्रतिक्रिया आउँथ्यो । शिक्षिकाले ती प्रतिक्रियाहरू देखाउँदा फुरुङ्ग हुन्थिन् रचना ।
सोही ग्रुपमा प्रतियोगिता समेत राखिएको थियो, जसको धेरै लाइक कमेन्ट आउँछ ऊ विजेता हुने । तिनै शिक्षिकाले रचनाको भिडियो पोस्ट गरिदिइन् । रचना विजेता बनिन् अनि हार्मोनियम जितिन् । त्यसपछि उनीमा सङ्गीतको नसा एकदमै बढेर गयो र उनले सोही हार्मोनियममा ‘सारेगमप‘’ सिकिन् । आमा-बुबाबाट पनि उनलाई सधैँ गायनमा साथ र सहयोग मिल्यो।
घरछेउमै रहेको चटपटे पसलमा साँझबिहान र बिदाको समयमा रचनाले आमालाई पालो दिन्थिन् । पसलमा गीत गुनगुनाउँदै बस्थिन्, चटपटे खान आएका ग्राहकलाई बनाएर दिन्थिन् । चटपटे बनाउने क्रममा केही युट्युबर त्यहाँ पुगेर रचनाको अन्तरवार्ता लिए । र, युट्युबमा ‘चटपटेवाली गायिका’का रूपमा प्रस्तुत गरे । जुन भिडियो श्रोता-दर्शकले निकै रुचाए । सोही भिडियोबाट रचनालाई ‘चटपटेवाली गायिका’ भनेर चिन्नेहरू प्रशस्त भइसकेका थिए ।
रचना ‘चटपटेवाली गायिका’ भनेर भाइरल भएकी थिइन् । त्यति बेला उनी बेलाबेला गीत गाएर भिडियोहरू फेसबुकमा पोस्ट समेत गर्थिन् । सङ्गीतकार वसन्त सापकोटालाई आफैँले रिक्वेस्ट पठाएर फेसबुकमा साथी बनाइसकेकी थिइन् । रचनाले फेसबुकमा गीत गाएर पोस्ट गरेको ‘क्लिप’ सापकोटालाई मन परेको रहेछ । एक दिन सङ्गीतकार सापकोटाको रचनालाई म्यासेज आयो, ‘नानी तिम्रो स्वर एकदमै राम्रो लाग्यो । काम गर्नुपर्छ ल ।’ सापकोटाको म्यासेजले रचनामा खुसीको सीमा रहेन । सापकोटाले गीत रेकर्डिङका लागि काठमाडौँ बोलाए । बुबालाई लिएर काठमाडौँ आइन्, वसन्तको शब्द तथा सङ्गीतमा रचनाको पहिलो गीत रेकर्ड भयो, ‘रुमाल चिनो’ । जतिबेला रचना कक्षा १० मा पढ्दै थिइन् ।

रचना आफ्नो भिडियोमा आउने कमेन्ट पढिरहन्थिन् । ‘नेपाल आइडलमा जाऊ’ भन्ने कमेन्टहरू थुप्रै आउँथे उनलाई । रचना आफैँ पनि नेपाल आइडलको नियमित दर्शक थिइन्, उनलाई त्यहाँ गएर गाउने धोको थियो । अडिसनबारे जानकारी पाएपछि नेपाल आइडलमा जाने आँट गरिन् । सयौँबाट छानिइन्, प्रस्तुति दिँदै गइन् । श्रोता-दर्शकबाट तारिफ बटुल्दै उत्कृष्ट आठसम्म पुगिन् । उनले तीन पटकसम्म सबैभन्दा बढी भोट पाएकी थिइन् । उत्कृष्ट ८ बाट भने उनी बाहिरिइन्। तर त्यसपछि उनको सांगीतिक यात्रामा ब्रेक लाग्नुको साटो झन् वेग तीव्र हुँदै गयो ।
ठिक त्यही समयमा कलाकार शिशिर भण्डारी नयाँ गीत ल्याउने तयारीमा थिए । आफ्नो शब्द तथा संगीत रहेको ‘फोटो फिरिममा’ गीत कुन गायिकालाई गाउन दिँदा ठिक होला रु भनेर शिशिरले फेसबुकमा प्रश्नसहितको स्ट्याटस राखेका थिए । त्यो स्ट्याटसमा धेरैले रचनाको नाम लिएपछि उनले ‘फोटो फिरिममा’ गीत गाउन पाइन्।
उनको गायकीलाई मात्र होइन, उनले गर्ने रमाइला जवाफलाई रुचाउनेहरू पनि प्रशस्त भेटिन्छन् । उमेर सुहाउँदो उनको निर्दोषपन अनि रमाइला खालका कुरालाई लिएर कति ‘ट्रोल’ समेत बन्ने गरेका छन् ।आफूलाई सोचेर बोल्न नआउने र जे मनमा लाग्यो त्यो भनिहाल्ने बानीका कारण त्यसो भएको उनको भनाइ छ। सांगीतिक क्षेत्रमा आएपछि श्रोता-दर्शकले दिएका कतिपय कमेन्टहरूलाई भने उनले मनन गर्दै लागेकी छिन्।

आफू यो स्थानसम्म आउँछु भनेर कहिल्यै नसोचेको भए पनि आज उनले यो स्तरको सफलता हात पारेकी छिन। साँघुरो घर भत्काएर पक्की घर बनाउने सानै देखिको धोको उनी हाल पुरा गर्दै छिन। सांगीतिक क्षेत्रकै कमाइले झापामा पक्की घर ठड्याउँदै गरेकी उनी सिकाइ कहिल्यै नमर्ने हुँदा पढाइलाइ सँगसँगै लाने सोचमा छिन। एसइईमा ‘ए ग्रेड’ ल्याएकी उनले यसै वर्ष ‘ए ग्रेड’मै कक्षा १२ उत्तीर्ण गरेकी छन् । ललितकला क्याम्पसमा सङ्गीतमा स्नातक पढ्ने तयारी गरिरहेकी उनले धेरै गायक गायिकाका गुरु एवं सङ्गीतकार चण्डीप्रसाद काफ्लेसँग संगीत शिक्षा पनि प्रारम्भ गरेकी छन् ।
नेपाल आइडल टप ८ बाटै बाहिरिएकी रचनाको लोकप्रियता यो र अन्य रियालिटी सो जित्ने कलाकारको भन्दा बढी छ। त्यसैले तपाइले कुनै पनि काममा असफल भएँ भनेर हार मान्नु हुँदैन। जसरी रचनाको जीवनमा उनको शिक्षिकाले गरेको सहयोग र प्रोत्साहन महत्त्वपूर्ण छ त्यसै गरी तपाइले पनि आफूलाई सही मार्गमा डोर्याउन सहयोग गर्न सक्ने व्यक्तिबाट अनुभवहरू बटुल्नुपर्छ। असफलता नै सफलताको पहिलो खुड्किलो हो भनेर अघि बढ्नुभयो भने रचनाले जस्तै तपाईँले पनि सफलतालाई आफ्नो दास बनाउन सक्नुहुन्छ।