Matra Education आइतबार, साउन १० २०८३

इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर बने राष्ट्रिय क्रिकेटर अर्जुन कुमाल

इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर बने राष्ट्रिय क्रिकेटर अर्जुन कुमाल

  • मात्र एजुकेशन
  • आइतबार, असार १४ २०८३


काठमाडौँ- राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनिङ ब्याटर अर्जुन कुमाल इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सी प्रालिको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्।

काठमाडौँको सिनामंगलस्थित होटेल रोयल प्यालेसमा आइतबार आयोजित विशेष कार्यक्रममा कन्सल्टेन्सी र कुमालबिच दुई वर्षका लागि ब्रान्ड एम्बासडर सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। आपसी सहमतिमा उक्त सम्झौता प्रत्येक वर्ष नवीकरण गरिने कम्पनीले जनाएको छ।

कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेल प्रमुख अतिथि तथा निवर्तमान अध्यक्ष शेषराज भट्टराई विशेष अतिथिका रूपमा सहभागी थिए। त्यस्तै इक्यानका पूर्व अध्यक्ष द्वय दीपक गुरुङ र अरुण लामिछाने, नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष पदम खड्का, केन्द्रीय सदस्य दुर्गाराज पाठक तथा पूर्व राष्ट्रिय क्रिकेटर शरद भेषवाकरको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवातमा इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सीकी प्रबन्ध निर्देशक श्रेया पौडेलले स्वागत मन्तव्य राखेकी थिइन्। उनले कम्पनीको बारेमा जानकारी दिँदै प्रतिभावान् खेलाडी सँग जोडिन पाएकोमा खुसी व्यक्त गरिन्।

पूर्व राष्ट्रिय क्रिकेटर भेषवाकरले राष्ट्रिय खेलाडीलाई निजी क्षेत्रबाट प्राप्त हुने यस्ता सहयोगले खेलाडीको मनोबल बढ्ने भन्दै इलाइट मुभर्सलाई धन्यवाद दिए।

ब्रान्ड एम्बासडर नियुक्त भएका कुमालले यस्ता व्यावसायिक सहकार्यले आफूजस्ता युवा खेलाडीलाई थप हौसला मिल्ने बताए। खेलमा केन्द्रित भएर उत्कृष्ट प्रदर्शन गर्न यस्तो सहयोग प्रेरणादायी हुने उल्लेख गर्दै उनले निजी क्षेत्रबाट खेलाडीमा हुने लगानीले नेपाली क्रिकेटलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।

विशेष अतिथि भट्टराईले इक्यानले क्रिकेट र फुटबलको विकासमा काम गर्दै आएको उल्लेख गरे। २०/२५ जना राष्ट्रिय खेलाडीलाई यसरी ब्रान्ड एम्बेसडरका रूपमा आफूहरूले जोडेको बताएका उनले शिक्षा र खेलकुदको विकास सँगसँगै हुनुपर्ने धारणा राखे। उनले निजी शैक्षिक परामर्श क्षेत्रले राष्ट्रिय खेलाडीलाई प्रोत्साहन गर्दै आएको उल्लेख गर्दै यस्ता प्रयासले समग्र खेलकुदको विकासमा सकारात्मक योगदान पुग्ने बताए। साथै राज्यले यो क्षेत्रको महत्त्व नबुझेको र आउँदै गरेको नियमावलीमा शैक्षिक परामर्श संस्थालाई एउटै दृष्टिकोणबाट हेर्न खोजेको भन्दै उनले आपत्ति जनाए। उनले अर्जुनलाई कन्सल्टेन्सी क्षेत्रमा स्वागत गर्दै दुवै पक्षलाई बधाई तथा शुभकामना दिए।

कार्यक्रमकै अवसरमा पूर्व राष्ट्रिय क्रिकेटर शरद भेषवाकर र खेल पत्रकार विनोद पाण्डेलाई सम्मान गरिएको थियो। साथै इलाइट मुभर्स ट्राभल्स एन्ड टुर्सको औपचारिक घोषणा पनि गरिएको थियो।

सम्झौतापछि कन्सल्टेन्सीका सञ्चालक तथा उक्त कार्यक्रमका सभापति वनले नेपाली क्रिकेटसँग जोडिनु कम्पनीका लागि गर्वको विषय भएको बताए। कम्पनीले युवामुखी सेवामा केन्द्रित भएर काम गर्दै आएकाले युवा खेलाडी अर्जुन कुमालसँगको सहकार्यले विद्यार्थी र युवामाझ सकारात्मक सन्देश पुग्ने विश्वास व्यक्त गरे। यसअघि पनि कम्पनीले राष्ट्रिय क्रिकेटर आसिफ शेखसँग सहकार्य गरेको स्मरण गर्दै उनले अर्जुनसँगको सहकार्यले दुवै पक्षलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा रहेको बताए ।

प्रमुख अतिथि पौडेलले इक्यानले लामो समयदेखि नेपाली क्रिकेटलाई सहयोग गर्दै आएको उल्लेख गर्दै राष्ट्रिय खेलाडीलाई ब्रान्ड एम्बासडर बनाउने इलाइट मुभर्सको निर्णय प्रशंसनीय भएको बताए। शिक्षा र खेलकुद एक अर्काका परिपूरक क्षेत्र भएकाले यस्तो सहकार्यले दुवै क्षेत्रलाई थप बलियो बनाउने विश्वास उनले व्यक्त गरे।

काठमाडौँको डिल्लीबजारमा केन्द्रीय कार्यालय रहेको इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सीको बानेश्वर, बुटवल र इटहरीमा शाखा सञ्चालनमा छन्। विदेश अध्ययन गर्न चाहने विद्यार्थीलाई विश्वविद्यालय तथा कलेज छनोट, अध्ययन कार्यक्रमको परामर्श, आवेदन प्रक्रिया, भर्ना, अफर लेटर तथा छात्रवृत्तिसम्बन्धी सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ।

२० वर्षीय अर्जुन कुमाल हालै युएईविरुद्धको खेलबाट नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन्। त्यसपछि ओमानविरुद्ध ४८ रनको योगदान दिएका उनले नेपाल यु–१९, नेपाल ए र राष्ट्रिय टोली हुँदै आफ्नो क्रिकेट यात्रा अघि बढाएका छन्।

घरेलु क्रिकेटमा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएका अर्जुन लगातार दुई संस्करण प्रधानमन्त्री कपमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। पछिल्लो संस्करणमा उनले ९ खेलमा दुई शतकसहित ५०४ रन बनाउँदै एकै संस्करणमा ५०० रन पूरा गर्ने पहिलो खेलाडीको कीर्तिमानसमेत बनाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड