काठमाडौँ– नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचन २०८२ का लागि लालबहादुर तामाङ (एलबी) ले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। यही पौष २८ गते सम्पन्न हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै उनले इक्यानलाई पारदर्शी, मितव्ययी, प्रविधिमैत्री र व्यवसायीमैत्री संस्था बनाउने लक्ष्यसहित सचिव पदमा औपचारिक उम्मेदवारी दिएको जानकारी गराएका हुन्।
आजीवन सदस्यसमेत रहेका तामाङ शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि सक्रिय व्यवसायी हुन्। अरिना इन्टरनेशनल एजुकेसन सर्भिसेसमा आबद्ध उनी इमान्दारिता, जिम्मेवारी बोध र संस्थागत निष्ठाका साथ काम गर्ने प्रतिबद्धतासहित निर्वाचनमा होमिएका छन्। इक्यान कुनै व्यक्तिको निजी संगठन वा विरासत नभई सम्पूर्ण शैक्षिक परामर्श व्यवसायीहरूको साझा छाता संगठन भएको उनको स्पष्ट धारणा छ।
हाल शैक्षिक परामर्श क्षेत्र विभिन्न समस्याबाट प्रभावित भइरहेको उल्लेख गर्दै तामाङले ती चुनौती समाधान गर्न सक्षम, ऊर्जाशील र योजनाबद्ध नेतृत्व आवश्यक रहेको बताएका छन्। संघ नै शक्ति भएको उल्लेख गर्दै उनले इक्यानभित्र नयाँ सोच, नयाँ जोस–जाँगर र व्यावहारिक योजना भएका उम्मेदवारहरूलाई अवसर दिनुपर्ने आवश्यकता औँल्याएका छन्।
आगामी निर्वाचनलाई लक्षित गर्दै सचिव पदका उम्मेदवार तामाङले सम्पूर्ण इक्यान सदस्यहरूबाट साथ, सहयोग र विश्वासको अपेक्षा गरेका छन्। सदस्यहरूको समर्थन पाएमा इक्यानलाई अझ सशक्त, समावेशी र व्यवसायी–केन्द्रित संस्थाका रूपमा अगाडि बढाउन आफू निरन्तर सक्रिय रहने विश्वास उनले व्यक्त गरेका छन्।