काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) तथा सक्रिय शैक्षिक परामर्श संघ (एइक्यान) का नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेको छ। आइतबार अनामनगर स्थित किम्ची रेस्टुरेन्टमा आयोजित एक औपचारिक कार्यक्रमका बिच
संघले दुई परामर्श व्यवसायी संघलाई बधाई तथा शुभकामना दिएको हो।
फेकन अध्यक्ष उमेश कुश्वारको सभापतित्वमा सम्पन्न कार्यक्रममा फेकनका निवर्तमान अध्यक्ष राजु निरौला सहित कार्यसमिति र सदस्यहरू उपस्थित थिए। त्यस्तै इक्यान अध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रयु’ सहित नवनिर्वाचित कार्यसमिति तथा एइक्यान अध्यक्ष किशोर तिवारी सहित नवनिर्वाचित कार्यसमितिको सहभागिता कार्यक्रममा रहेको थियो।
फेकन महासचिव दिपेन्द्र पोखरेलले कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै कार्यक्रमलाई औपचारिकता दिएका थिए। समान उद्देश्य बोकेका परामर्श व्यवसायी संघहरु बिच सहकारी गरेर साझा उद्देश्य परिपूर्तिका लागि अघि बढ्नुपर्नेमा उनको जोड थियो।
उपस्थित अतिथिहरूलाई स्वागत गर्दै आयोजक फेकनका वरिष्ठ उपाध्यक्ष छविन्द्र ओझाले परामर्श व्यवसायीहरू विभाजित हुँदा राज्यले आफ्नो नीति लाद्न सकेको बताए। उनले मिलेर जाँदा एजेन्डा स्थापित गर्न सहज हुने हुँदा साझा हितका लागि सबै मिल्नुपर्ने बताए। त्यसका लागि अरू संघ संस्था सँग सहकार्य गर्न फेकन तयार रहेको भन्दै उनले अरूलाई पनि सहकार्यको अपिल गरे।
एइक्यान अध्यक्ष तिवारीले सुन्दर कार्यक्रम आयोजना गरेको भन्दै फेकनलाई धन्यवाद दिए। आफूहरू साझा मुद्दामा सहकार्यका लागि तयार रहेको भन्दै उनले फेकन र इक्यान दुवैलाई ‘कोअर्डिनेसन कमिटी’ बनाउन अनुरोध गरे। कानुन नभएर निर्देशिकाकै भरमा चल्दा एउटा मन्त्री फेरिने बित्तिकै चलखेल हुने गरेको र आफूहरू समस्यामा पर्ने गरेको उनको गुनासो थियो। शैक्षिक परामर्श क्षेत्रको छुट्टै कानुन बनाउन उनले माग गरे।
इक्यान अध्यक्ष पौडेलले परामर्श व्यवसायी संघ धेरै भए भनेर चिन्ता लिनु नपर्ने बताए। बरु सबै संघ मिलेर बाहिर रहेका व्यवसायीहरूलाई समेत समेट्न सके व्यवसाय क्षेत्रलाई नै मर्यादित बनाउन सकिनेमा उनको जोड थियो। पौडेलले भने, “३ वटा संस्थाको कार्यसमिति नै यति ठुलो छ भने हामीले मिलेर जाँदा के गर्न सक्छौँ होला?” उनले अगाडी थपे, “हामी सबै मिलेर नीति निर्माणमा आफ्नो आवाज समेट्न सहकार्य गरौँ, गलत गर्नेलाई गलत हो भनेर कारबाही गर्ने हिम्मत गरौँ । यो व्यवसाय बिना अन्तर्राष्ट्रिय शिक्षा सम्भव नै रहेनछ भन्ने बनाउनु अब हाम्रो प्राथमिकता हुनुपर्छ।” उनले कार्यक्रमका लागि फेकनलाई धन्यवाद दिँदै भविष्यमा पनि सहकार्य गर्नुपर्नेमा जोड दिए।
फेकनका निवर्तमान अध्यक्ष निरौलाले परामर्श व्यवसायको इज्जत नै जाने गरी काम भइरहेकाले राज्यले व्यवसायीलाई हेर्ने नजर फरक भएको बताए । परामर्श व्यवसाय क्षेत्र बचाउन संघ संस्थाहरूको भूमिका र सहकार्य अपरिहार्य भएको उनको भनाइ थियो । यो क्षेत्रलाई समेट्ने भन्दै केही व्यक्तिहरूको स्वार्थका कारण महासंघ जन्माइएको हुँदा पटक पटक प्रस्ताव लैजाँदा पनि फेकनको साधारण सभाले त्यसलाई अस्वीकार गरेको उनले बताए। कोठा भित्र बसेर कसैले गरेको निर्णय फेकनले नमान्ने उल्लेख गरेका उनले व्यवसायलाई शुद्धीकरण गर्ने र मर्यादित बनाउनेमा सबै लाग्नुपर्ने, दर्ता बिना चलेका संस्थाहरू बन्द गराउनुपर्ने र ‘स्टडी इन नेपाल’ प्रोमोट गर्न सबै लाग्नुपर्नेमा जोड दिए।
कार्यक्रमका सभापति तथा फेकन अध्यक्ष कुश्वारले मित्र संघहरु बिच सहकार्यको आवश्यकतामा जोड दिए। उनले परामर्श व्यवसाय क्षेत्रलाई व्यवस्थित गर्नका लागि सम्पूर्ण नवनिर्वाचित कार्यसमितिहरूले भूमिका खेल्नुपर्ने उल्लेख गरे । विद्यार्थी र अभिभावकको अधिकतम हितका लागि काम गर्नुपर्ने, नेपाली विद्यार्थीले तिरेको डेढ दुई अर्ब कर उनीहरूको हितमा प्रयोग गरिनुपर्ने र परामर्श व्यवसाय क्षेत्रलाई उद्योगका रूपमा लिइनुपर्ने भनाई राखे। धरौटी राखेर व्यवसायका समस्या समाधान नहुने भन्दै उनले विदेश तिर जस्तै विशेष कोर्स गरेर मात्रै व्यवसाय गर्न पाइने व्यवस्था गर्नुपर्नेमा जोड दिए। भोलिको दिनमा सामूहिक हितका लागि सहकार्य गर्ने बाटो खुलोस् भनेर फेकनले कार्यक्रम आयोजना गरेको भन्दै उनले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरे।
कार्यक्रममा इक्यान र एइक्यानको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान पत्र हस्तान्तरण गरिएको थियो।