Matra Education सोमबार, साउन ११ २०८३

इक्यानको २७ औँ वार्षिकोत्सव आज, औपचारिक कार्यक्रम गरेर मनाइँदै

इक्यानको २७ औँ वार्षिकोत्सव आज, औपचारिक कार्यक्रम गरेर मनाइँदै

  • मात्र एजुकेशन
  • बुधबार, भाद्र १३ २०८०


काठमाडौँ- नेपालको शैक्षिक परामर्शको क्षेत्रमा सबैभन्दा जेठो संघ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आज २७ औँ वार्षिकोत्सव मनाउँदै छ। वानेश्वर स्थित होटेल एभरेस्टमा एक औपचारिक कार्यक्रम आयोजना गर्दै संस्थाले भव्य रूपमा स्थापना दिवस मनाउने तयारी गरेको छ । कार्यक्रममा शैक्षिक परामर्श क्षेत्रका वर्तमान अवस्था र नीतिगत व्यवस्थापन विषयको विज्ञहरू सँग छलफल चलाउने, संघमा आबद्ध विभिन्न सदस्य कम्पनीहरूको योगदानको आधारमा विविध विधामा ‘एक्सिलेन्स अवार्ड’ प्रदान गर्ने र सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुन र अन्य संस्थाहरूलाई सहयोग गर्ने लगायतका तयारी गरेको छ।

यो पटक इक्यानले आफ्नो स्थापना दिवस साताव्यापी विभिन्न कार्यक्रम गरेर पनि मनाएको छ। आज आयोजित औपचारिक कार्यक्रम अघि नै संस्थाले विभिन्न गतिविधिहरू गरेर हप्ताभर २७ औँ वार्षिक स्थापना दिवस मनाएको हो। ‘जर्नी बियोण्ड बाउण्ड्रिज’ भन्ने नारा तय गरेर सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भदौ ७ गते होटेल हार्दिक बागबजारमा रक्तदान एवं निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो। त्यस्तै भदौ ८ गते शैक्षिक परामर्श क्षेत्रमा आबद्ध तथा यस व्यवसाय सँगको सहकार्यमा रहने महिला व्यवसायी तथा उद्यमीहरूको साझा समस्या, अवसर तथा चुनौतीका सम्बन्धमा ‘इक्यानमा महिला नेतृत्व: सशक्तीकरण र प्रेरणा’ विषयक छलफल कार्यक्रम आयोजना गरिएको थियो। भदौ १२ गते संघ सँग आबद्ध ब्यवसायीहरुको साझा समस्या र सो को समाधानको निमित्त, शैक्षिक परामर्श क्षेत्रका चुनौती, अवसर र भावी योजना शीर्षकमा भर्चुअल अन्तरक्रिया आयोजना इक्यानले गरेको थियो।

इक्यानले साता व्यापी कार्यक्रम अन्तर्गत नै भदौ १२ गते बिहान बिहान ७ बजे देखि ९ बजे सम्म शैक्षिक परामर्श क्षेत्र सँग सम्बन्धित जनचेतनामूलक सन्देशहरू लेखिएको प्लेकार्ड बोकेर प्रभातफेरि आयोजना गरेको थियो। ब्यानरमा ‘शिक्षा लगानी हो, खर्च हैन, शैक्षिक परामर्श क्षेत्रमा धरौटीको आवश्यकता छैन, इक्यान सदस्यहरू बाटै परामर्श लिऊँ, नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हबको रूपमा विकास गरौँ, शिक्षण शुल्कको बिमा गरौँ, अन्तर्राष्ट्रिय शिक्षामा जाने विद्यार्थीले तिर्ने ३ प्रतिशत कर खारेज गर, विद्यार्थीले तिरेको कर विद्यार्थीको लागि सदुपयोग गरौँ उद्धार कोष बनाऊँ, शिक्षा सबैको लागि, स्वदेशमा होस या विदेशमा, ब्रेन गेनको पक्षमा हाम्रो प्रतिबद्धता, इक्यान अन्तर्राष्ट्रिय शिक्षामा तपाईँको साथी, शैक्षिक परामर्शमा विदेशी फ्रेनचाइज, एफडिआइ, एडटेक चाहिँदैन लगायतका नाराहरू लेखिएको थियो भने डिल्लीबजारबाट पुतलीसडक, कमलादी, घण्टाघर, बागबजार, पुतलीसडक, पदमोदयमोड, भृकुटीमण्डप, भद्रकाली हुँदै माइतीघर मण्डलासम्म पुगेर सभामा परिणत भएको थियो । यी बाहेक इक्यानका विभिन्न शाखाहरूले पनि देशभर विभिन्न कार्यक्रमको आयोजना गरेका थिए। आजको औपचारिक वार्षिकोत्सव कार्यक्रम सँगै इक्यानको सप्ताहव्यापी कार्यक्रम पनि सम्पन्न हुनेछ।

इक्यानको २७ औँ स्थापना दिवसको पूर्व सन्ध्यामा मात्र एजुकेसन सँग कुरा गर्दै इक्यान अध्यक्ष शेषराज भट्टराईले संस्थालाई यहाँ सम्म पुर्‍याउन भूमिका खेल्ने सबै प्रति आभार व्यक्त गरे। उनले आम नेपाली परामर्श व्यवसायीहरूका साझा समस्या बोक्ने अग्रणी संस्थाका रूपमा इक्यान आज सम्म स्थापित भएको र आगामी दिनमा त्यो भूमिका अझै सशक्त हुने प्रतिबद्धता व्यक्त गरे। परामर्श व्यवसायमा दैनिक रूपमा देखिएका विभिन्न समस्या र चुनौतीहरूको सामना गर्ने, विदेश अध्ययन गर्न जाने विद्यार्थीले गुणस्तरीय र भरपर्दो परामर्श पाउन् भन्ने कुराको सुनिश्चित गर्ने र इक्यान सदस्यहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्दै जाने आगामी लक्ष्य इक्यानको रहेको उनको भनाई थियो। उनले इक्यानको साताव्यापी कार्यक्रम सफल बनाउन प्रत्यक्ष परोक्ष भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै आज (बुधवार) आयोजना हुने औपचारिक कार्यक्रममा सक्रिय सहभागिताका लागि पनि अपिल गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड