काठमाडौँ- अस्ट्रेलियाले १ जुलाई २०२६ देखि विद्यार्थी भिसाको आवेदन शुल्क बढाएको छ। नयाँ व्यवस्थाअनुसार अध्ययन भिसाका मुख्य आवेदकले अब २,५०० अस्ट्रेलियन डलर शुल्क तिर्नुपर्नेछ। यसअघि यो शुल्क २,००० अस्ट्रेलियन डलर थियो।
नयाँ शुल्कअनुसार १८ वर्ष वा सोभन्दा माथिका अतिरिक्त आवेदकका लागि १,५३० अस्ट्रेलियन डलर र १८ वर्षभन्दा कम उमेरका अतिरिक्त आवेदकका लागि ५०० अस्ट्रेलियन डलर शुल्क तोकिएको छ।
अस्ट्रेलियाको गृह मामिला विभागका अनुसार भिसा शुल्क समय–समयमा परिवर्तन हुन सक्ने भएकाले आवेदन दर्ता भएको मितिमा कायम रहेको शुल्क नै लागू हुन्छ। विभागले १ जुलाई २०२६ देखि अद्यावधिक शुल्क सूची सार्वजनिक गरेको हो।
गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण, बहु सांस्कृतिक समाज तथा अध्ययनसँगै सीमित रोजगारी गर्ने अवसरका कारण अस्ट्रेलिया लामो समयदेखि नेपाली विद्यार्थीको प्रमुख अध्ययन गन्तव्यका रूपमा रहँदै आएको छ। अध्ययन अवधिमा विद्यार्थीले प्रत्येक दुई सातामा अधिकतम ४८ घण्टा काम गर्न पाउने व्यवस्था छ।
यद्यपि पछिल्ला वर्षहरूमा अस्ट्रेलियाको विद्यार्थी भिसा प्राप्त गर्ने प्रक्रिया भने थप कडा बन्दै गएको छ। सन् २०२६ को जनवरीदेखि मार्चसम्म दक्षिण एसियाबाट उच्च शिक्षाका लागि अस्ट्रेलिया आवेदन दिने विद्यार्थीमध्ये भिसा अस्वीकृत हुने दर ३५ देखि ७० प्रतिशतसम्म पुगेको विभिन्न अन्तर्राष्ट्रिय प्रतिवेदनले देखाएका छन्। नेपालका आवेदकको अस्वीकृति दर करिब ६९ प्रतिशत रहेको उल्लेख गरिएको छ।
यसले विद्यार्थी र अभिभावकका लागि आवेदन प्रक्रिया पहिलेभन्दा बढी तयारी, स्पष्ट योजना र प्रमाणमा आधारित बन्नुपर्ने सन्देश दिएको छ। अब केवल विश्वविद्यालयबाट भर्ना स्वीकृति र अध्ययन पुष्टि पत्र प्राप्त गर्नु मात्र पर्याप्त नहुने, विद्यार्थीको शैक्षिक पृष्ठभूमि, आर्थिक स्रोत, विषय छनोट तथा अध्ययनको वास्तविक उद्देश्य विश्वसनीय रूपमा पुष्टि गर्नुपर्ने अवस्था रहेको शिक्षा क्षेत्रका जानकारहरू बताउँछन्।
यसैबिच, अस्ट्रेलियाको नेशनल एकेडेमी अफ प्रोफेसनल स्टडिज (न्याप्स) का क्षेत्रीय निर्देशक मुकेश धमलाले शुल्क वृद्धिसँगै विद्यार्थी भिसाको आवेदन अझ जिम्मेवार निर्णय बन्न पुगेको बताएका छन्। उनका अनुसार अस्ट्रेलिया अझै पनि नेपाली विद्यार्थीका लागि गुणस्तरीय शिक्षा र राम्रो भविष्यको अवसर भएको गन्तव्य भए पनि कमजोर तयारीका साथ आवेदन गर्दा ठुलो आर्थिक जोखिम हुन सक्छ। “भिसा शुल्क २,५०० अस्ट्रेलियन डलरसम्म पुगेको अवस्थामा विद्यार्थी र अभिभावकले आवेदनअघि आफ्नो कागजात, विषय छनोट, आर्थिक प्रमाण र अध्ययनको उद्देश्य पर्याप्त रूपमा बलियो छ वा छैन भन्ने गम्भीर रूपमा मूल्याङ्कन गर्नुपर्छ,” उनले भने।
धमलाका अनुसार अहिले धेरै विद्यार्थी साथीभाइ वा अरूको अनुभवका आधारमा आवेदन गर्ने प्रवृत्ति देखिन्छ। तर प्रत्येक आवेदन व्यक्तिगत शैक्षिक अवस्था, प्रमाण र विश्वसनीयताका आधारमा मूल्याङ्कन हुने भएकाले सबैको नतिजा एउटै नहुने उनको भनाइ छ। उनले अभिभावक र विद्यार्थीलाई मौखिक आश्वासनका भरमा निर्णय नगर्न आग्रह गर्दै बैंक विवरण, आम्दानीका प्रमाण, प्रायोजकसँगको सम्बन्ध, अध्ययनमा आएको अन्तर, भाषा दक्षता, विषय छनोट तथा भविष्यको योजनालाई पुष्टि गर्ने कागजात स्पष्ट र विश्वसनीय हुनुपर्ने बताए।
भिसा आवेदन अस्वीकृत भएमा तिरेको आवेदन शुल्क सामान्यतया फिर्ता नहुने व्यवस्था रहेकाले आर्थिक जोखिम पनि बढेको छ।
शिक्षा क्षेत्रका विज्ञहरूका अनुसार अस्ट्रेलिया अध्ययनका लागि अझै आकर्षक गन्तव्य भए पनि पर्याप्त तयारीबिनाको आवेदन, अविश्वसनीय कागजात, असम्बन्धित विषय छनोट तथा यथार्थपरक योजना अभावले विद्यार्थी र परिवार दुवैलाई आर्थिक तथा मानसिक रूपमा ठुलो असर पार्न सक्छ।
उनीहरूको सुझाव छ—विद्यार्थीले आवेदनअघि आफ्नो शैक्षिक नतिजा, अध्ययनमा आएको अन्तरको कारण, भाषा दक्षता, आर्थिक स्रोत, बैंक कारोबार, शैक्षिक ऋण, सम्पत्तिको विवरण, रोजेको विषयको सान्दर्भिकता तथा अध्ययनपछि त्यसको उपयोगिताबारे स्पष्ट योजना तयार गरेर मात्र प्रक्रिया अघि बढाउनु उपयुक्त हुन्छ।