काठमाडौँ– नेपाली विद्यार्थीमाझ लोकप्रिय अस्ट्रेलियाको नेशनल एकेडेमी अफ प्रोफेसनल स्टडिज (न्याप्स) कलेजले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावितका लागि १० लाख रुपैयाँ राहत सहयोग गर्ने घोषणा गरेको छ।
कलेजले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम योगदान गर्ने जनाएको हो। नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराउन लागिएको कलेजले जनाएको छ।
नेपालसँग लामो समयदेखि शैक्षिक तथा सामुदायिक सम्बन्ध रहेको उल्लेख गर्दै न्याप्सले विपद्मा ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै कठिन परिस्थितिमा नेपाली समुदायसँग आफूहरू साथमा रहेको जनाएको छ।
कलेजले उक्त सहयोगलाई संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गतको पहलका रूपमा लिएको जनाएको छ। आपत्कालीन अवस्थामा उपलब्ध गराइने यो सहयोगले राहत तथा पुनः स्थापनाका प्रयासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। शिक्षा क्षेत्रमा जोडिएको सम्बन्धलाई मानवीय तथा सामुदायिक सहयोगमार्फत थप बलियो बनाउने प्रतिबद्धता पनि संस्थाले जनाएको छ।
न्याप्सले अस्ट्रेलियाका विभिन्न स्थानबाट उच्च शिक्षा तथा व्यावसायिक अध्ययनका कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाका सिड्नी, मेलबर्न र प्यारामाटा लगायत क्षेत्रमा क्याम्पसहरू रहेका छन्।
नेपालमा बाढी पहिरोबाट ठुलो जनधनको क्षति भएपछि स्वदेश तथा विदेशबाट राहत सहयोग जुट्ने क्रम बढेको छ। विभिन्न देश, अन्तर्राष्ट्रिय संस्था तथा निजी क्षेत्रले प्रभावितको उद्धार, राहत र पुनः स्थापनाका लागि आर्थिक तथा मानवीय सहयोग घोषणा गरिरहेका छन्।