काठमाडौँ- नेपाल बाट अध्ययनका लागि दक्षिण कोरिया जान चाहने नेपाली विद्यार्थीहरूले ‘अपोइन्टमेन्ट डेट’ नपाएर सास्ती व्यहोर्नुपरेको छ। भिसा आवेदन प्रक्रियाका लागि कागजातहरू प्रमाणीकरण र भिसा आवेदन दिनका लागि लिनुपर्ने ‘अपोइन्टमेन्ट’ नपाउँदा समस्या भएको हो। दक्षिण कोरियाको नेपालस्थित दूतावासले विद्यार्थीको समस्या समाधानमा चासो नदिँदा समस्या विकराल बन्दै गएको हो।
दूतावासले ‘अपोइन्टमेन्ट डेट’ लिनका लागि अनलाइन व्यवस्था गरेको भए पनि त्यो साइट हप्तामा दुई पटक सोमबार र बुधवार मात्रै खोल्ने गरेको छ। सातामा दुई पटक खुल्ने साइट पनि बिहान १० बजे खुल्ना साथ डेट लिन नमिल्ने गरी बन्द हुने गरेको विद्यार्थीहरू बताउँछन्। यसरी डेट नपाउँदा आफूले योजना गरेको इन्टेक पढ्न नभ्याउने सम्मका समस्याहरू नेपाली विद्यार्थीहरूले झेल्दै आएका छन्।
विद्यार्थीले डेट लिन नसक्ने उक्त साइटमा एजेन्टहरूको भने पहुँच रहने गरेको जानकारहरू बताउँछन्। यस्ता एजेन्टहरूले प्रति विद्यार्थी पन्ध्र देखि पच्चीस हजार रुपैयाँ सम्म लिएर भनेकै समयमा डेट बुक गरिदिने गरेका छन्। पछिल्लो समय भने दूतावासले एजेन्ट मार्फत डेट बुक गर्नेहरूलाई फर्काइदिने गरेको छ। यसो गर्दा विद्यार्थीहरू दोहोरो मारमा पर्ने गरेको भए पनि दूतावास समस्या समाधानमा उदासीन देखिन्छ।
कोरियन दूतावासले समस्या समाधान नगरेपछि विद्यार्थी, अभिभावक तथा परामर्श व्यवसायी चिन्तित छन्। लामो समय देखि कोरिया अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श दिँदै आएका एक व्यवसायीले भने, “दूतावासले पहिलो कुरा त आफ्नो साइट गतिलो बनाउनुपर्ने हो। अध्ययनका लागि कोरिया जान पछिल्लो समय आकर्षण देखिएको भए पनि यही समस्याका कारण कतिपय विद्यार्थीले कोरिया जाने आफ्नो निर्णय बारे नै पुनर्विचार गर्नुपरेको हामीलाई बताउँछन्। एजेन्टले बुक गर्न सक्ने तर विद्यार्थीले नसक्ने यो कस्तो प्रणाली ? त्यही एजेन्ट मार्फत बुक गरेकोलाई पनि पछिल्लो समय फर्काइएको छ। अनि उनीहरूलाई परेको दोहोरो मारको जिम्मा कसले लिने ? उनले समस्या समाधानका लागि कोरियन दूतावासलाई अनुरोध समेत गरेका छन्।