काठमाडौँ- अक्टोबर इन्टेकमा जापान लगायत अन्य शैक्षिक गन्तव्यहरूको भिसा प्राप्त गरेका विद्यार्थीलाई प्यासन फाउन्डेसनले बिदाइ गरेको छ । केही दिनअघि काठमाडौँस्थित एक पार्टी प्यालेसमा कार्यक्रम आयोजना गर्दै फाउन्डेसनले जापान अध्ययनका लागि जान लागेका विद्यार्थीलाई बिदाइ गरेको हो ।
बिदाइ कार्यक्रममा भिसा प्राप्त गरेका विद्यार्थी तथा उनीहरूका अभिभावक सहभागी थिए । जापान जाने तयारीमा रहेका विद्यार्थीले भिसा प्राप्त गरेको खुसी एक आपसमा साटासाट गरेका थिए । कार्यक्रममा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरूले समेत सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रमका विशेष अतिथि नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा)का अध्यक्ष सन्तोष खनालले विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई सही सूचना र परामर्श आवश्यक रहेको बताए । विद्यार्थीले आफू जाने देशको शिक्षा प्रणाली, भाषा र वातावरणबारे पर्याप्त जानकारी लिएर आफ्नो भविष्यको लक्ष्यअनुसार अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रयु’ले विदेश अध्ययनमा जान लागेका विद्यार्थीले आफ्नो शैक्षिक उद्देश्यलाई प्राथमिकतामा राख्नुपर्ने बताए । जापानमा अध्ययनसँगै त्यहाँको भाषा, संस्कृति र नियमबारे जानकारी हासिल गरेर जिम्मेवार विद्यार्थीका रूपमा अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै प्यासन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत तथा कार्यक्रमका सभापति पुष्पराज पहराईले भिसा आउनु मात्रै सबै कुरा नभएको बताए । जापान पुगेपछि आफ्नो अध्ययनलाई प्राथमिकतामा राख्दै अध्ययन पूरा गरेर नेपाल फर्किन उनले विद्यार्थीलाई आग्रह गरे । जापान जानुअघि जापानी भाषामा राम्रो दक्खल बनाउनुपर्नेमा जोड दिँदै पहराईले भिसा लागेर जापान जानु मात्र सफलताको मापदण्ड नभएको बताए । जापानमा अध्ययनका क्रममा अनुशासन कायम गर्दै आफ्नो लक्ष्य पूरा गर्न उनले विद्यार्थीलाई सुझाव दिए ।

प्यासन फाउन्डेसनले जापानसँगै कोरिया, अस्ट्रेलिया, बेलायत, अमेरिका लगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको जनाएको छ । फाउन्डेसनले विदेश अध्ययनको तयारीमा रहेका विद्यार्थीलाई नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
