काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आफ्नो ३०औँ स्थापना दिवसको उत्सव कार्यक्रम स्थगित गर्दै बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै संघले देशव्यापी रूपमा आएको बाढी तथा विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत र पुन:स्थापनाका लागि सहयोग गर्ने जनाएको हो। संघले आफ्ना सम्पूर्ण सदस्यहरू, शैक्षिक परामर्श व्यवसायीहरू, विश्वविद्यालय तथा कलेजहरू, अन्तर्राष्ट्रिय शिक्षा प्रदायकहरू, साझेदार संस्थाहरू र सम्पूर्ण सरोकारवालाहरूलाई पनि स्वैच्छिक रूपमा सहयोग गरी राष्ट्रिय राहत अभियानमा हातेमालो गर्न हार्दिक अपिल गरेको छ।
संघका अनुसार इक्यान मार्फत संकलित सहयोग रकम पारदर्शी रूपमा सरकारको सम्बन्धित राहत कोष वा सम्बन्धित निकायमार्फत प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापना कार्यमा योगदान पुग्ने गरी हस्तान्तरण गरिनेछ।
इक्यानले विपद्का कारण ज्यान गुमाएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। बेपत्ता भएका सम्पूर्ण नागरिक शीघ्र सकुशल आफ्ना परिवारको सम्पर्कमा आउन सकुन् भन्ने कामना पनि गरेको छ। प्रभावित सम्पूर्ण परिवार तथा नागरिकप्रति इक्यान परिवारले गहिरो सहानुभूति, ऐक्यबद्धता र साथ व्यक्त गरेको छ।
संघले आफ्नो विज्ञप्तिमा भनेको छ – “आज हामीले उत्सव स्थगित गरेका छौँ, तर हाम्रो सामाजिक दायित्व स्थगित भएको छैन।”
सबैलाई विपद्को यस कठिन घडीमा राष्ट्र र नागरिकका लागि एकजुट हुन आह्वान गर्दै इक्यानले भनेको छ – “आजको हाम्रो सहयोग कसैको भोलिको आशा बन्न सक्छ।”

