Matra Education बुधबार, भाद्र ३ २०८३

‘स्टडी इन नेपाल’ अभियानलाई सघाउन बङ्गलादेशसँग राजदूत भण्डारीको आग्रह

‘स्टडी इन नेपाल’ अभियानलाई सघाउन बङ्गलादेशसँग राजदूत भण्डारीको आग्रह

  • मात्र एजुकेशन
  • सोमबार, साउन २५ २०८३


काठमाडौँ- बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले नेपालमा अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्ने उद्देश्यले अघि बढाइएको ‘स्टडी इन नेपाल’ अभियानलाई सघाउन बङ्गलादेशको शैक्षिक परामर्श क्षेत्रसँग आग्रह गरेका छन्।

बङ्गलादेशमा आयोजित ‘फ्याड क्याब’को १४औँ शिक्षा मेलाको समापन समारोहलाई सम्बोधन गर्दै राजदूत भण्डारीले ‘स्टडी इन नेपाल’ र ‘फ्याड क्याब’बिचको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्नुपर्ने बताएका हुन्।

नेपालका विभिन्न विश्वविद्यालय तथा कलेजमा उपलब्ध आधुनिक पूर्वाधार, प्रविधि र शैक्षिक अवसरबारे अन्तर्राष्ट्रिय विद्यार्थीलाई जानकारी गराउँदै नेपाललाई शिक्षा तथा नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने प्रयास भइरहेको उनले बताए।

नेपाल र बङ्गलादेशबिच दशकौँदेखि शिक्षा साझेदारी महत्त्वपूर्ण सम्बन्धका रूपमा रहँदै आएको उल्लेख गर्दै राजदूत भण्डारीले हाल करिब २ हजार ७ सय नेपाली विद्यार्थी बङ्गलादेशमा अध्ययनरत रहेको बताए। तीमध्ये अधिकांश चिकित्सा शिक्षामा अध्ययनरत रहेको उनको भनाइ थियो।

त्यस्तै, केही बङ्गलादेशी विद्यार्थी नेपालमा अध्ययनरत रहेको र ठुलो सङ्ख्यामा बङ्गलादेशी पर्यटक नेपाल भ्रमणमा आउने गरेको उनले बताए। शिक्षा र जनस्तरको सम्बन्धले दुई देशबिचको सम्बन्धलाई थप बलियो बनाइरहेको उनको भनाइ थियो।

बङ्गलादेशमा गुणस्तरीय र सुलभ उच्च शिक्षा खोज्ने ठुलो युवा जनसङ्ख्या रहेको उल्लेख गर्दै उनले नेपालले आफ्ना शैक्षिक अवसरबारे बङ्गलादेशी विद्यार्थीमाझ जानकारी पुर्‍याउनुपर्ने बताए।

‘स्टडी इन नेपाल’ अभियानको मुख्य उद्देश्य नेपालका विश्वविद्यालय तथा कलेजमा अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्नु रहेको उल्लेख गर्दै राजदूत भण्डारीले अभियानलाई बङ्गलादेशमा विस्तार गर्न शैक्षिक परामर्श व्यवसायीको सहकार्य महत्त्वपूर्ण हुने बताए।

उनले ‘स्टडी इन नेपाल’का तर्फबाट शिक्षा मेलामा सहभागी विकल्प राज पोखरेल, शेषराज भट्टराई र मुकेश धमलाको सहभागिताको प्रशंसा गर्दै उनीहरूले ‘फ्याड क्याब’सँग सहकार्य अघि बढाएको उल्लेख गरे। आगामी दिनमा यो सहकार्य औपचारिकतामा मात्र सीमित नभई दुई देशबिचको शैक्षिक साझेदारी विस्तार गर्ने महत्त्वपूर्ण आधार बन्नुपर्ने उनको भनाइ थियो।

नेपालको दूतावास यस्ता पहललाई आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै राजदूत भण्डारीले शैक्षिक आदानप्रदान विस्तार गर्नुका साथै नेपाल र बङ्गलादेशबिचको शिक्षा साझेदारीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए।

बङ्गलादेशमा आयोजित उक्त शिक्षा मेलामा दुई दिनमा करिब २२ हजार आगन्तुकले सहभागिता जनाएको र ८६ वटा प्रदर्शनी कक्ष रहेको जानकारी दिँदै राजदूत भण्डारीले आयोजकलाई सफल आयोजनाका लागि बधाई समेत दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड