काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का उपाध्यक्ष विकल्प राज पोखरेलले नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थीका लागि आकर्षक शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्न बङ्गलादेशसँग सहकार्यको प्रस्ताव गरेका छन्।
बंगलादेशमा आयोजित ‘फ्याड क्याब’ शैक्षिक मेलाको समापन समारोहलाई सम्बोधन गर्दै पोखरेलले इक्यानले अघि बढाइरहेको ‘स्टडी इन नेपाल’ अभियानमा बङ्गलादेशको शैक्षिक परामर्श क्षेत्रलाई सहकार्यका लागि आह्वान गरेका हुन् नेपालमा विदेशी विद्यार्थी आकर्षित गर्ने उद्देश्यसहित अघि बढाइएको ‘स्टडी इन नेपाल’ अभियानमार्फत बङ्गलादेशसहित अन्य मुलुकका विद्यार्थीलाई नेपालमा अध्ययनका लागि आकर्षित गर्न खोजिएको उनले बताए। पोखरेलले नेपाल र बङ्गलादेशबिच लामो समयदेखि सामाजिक, सांस्कृतिक, शैक्षिक तथा जनस्तरको सम्बन्ध रहेको उल्लेख गर्दै शिक्षा दुई देशबिचको सम्बन्धलाई थप बलियो बनाउने महत्त्वपूर्ण माध्यम भएको बताए।
उनले ‘स्टडी इन नेपाल’ अभियानलाई सफल बनाउन बङ्गलादेशको शैक्षिक परामर्श क्षेत्रबाट सहयोग र सहकार्य आवश्यक रहेको बताए। साथै, आगामी दिनमा विद्यार्थी आदानप्रदान, संस्थागत सहकार्य, संयुक्त शैक्षिक परियोजना तथा अन्य शैक्षिक गतिविधिमा दुई देशका संस्थाबिच सहकार्य गर्नुपर्नेमा उनले जोड दिए। इक्यान र बङ्गलादेशको शैक्षिक परामर्श क्षेत्र बिचको सम्बन्धलाई थप विस्तार गर्न आफूहरू इच्छुक रहेको बताउँदै पोखरेलले बङ्गलादेशी प्रतिनिधिलाई आगामी अगस्टको अन्त्यमा नेपालमा आयोजना हुने ‘इक्यान डे’ मा सहभागी हुन औपचारिक निमन्त्रणा समेत दिए।
‘यो एउटा कार्यक्रमको अन्त्य नभई इक्यान र फ्याड क्याब बिचको सहकार्यको नयाँ यात्राको सुरुवात हो,’ पोखरेलले भने।
दक्षिण एसियाको शैक्षिक परामर्श क्षेत्रलाई थप बलियो बनाउन तथा क्षेत्रीय स्तरमा व्यवसायीहरूको आवाजलाई एकताबद्ध बनाउन दुई देशबिचको सहकार्य महत्त्वपूर्ण हुने उनको भनाइ थियो। पोखरेलले नेपाल र बङ्गलादेशका शैक्षिक परामर्श व्यवसायीबिच अनुभव आदानप्रदान, विद्यार्थीको आवागमन र संस्थागत सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्नुपर्नेमा जोड दिए।
उक्त कार्यक्रममा बङ्गलादेशका जलस्रोत मन्त्री, बङ्गलादेशका लागि नेपाली राजदूत, रुसी राजदूत, फ्याड क्याबका पदाधिकारी तथा सदस्यहरू सहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, शैक्षिक परामर्श व्यवसायी तथा अतिथिहरूको उपस्थिति थियो।