काठमाडौँ- नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्व तथा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का निवर्तमान अध्यक्ष शेषराज भट्टराईले दक्षिण एसियाली देशहरूबिच अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा साझा आवाज निर्माण गर्न क्षेत्रीय गठबन्धन गठनको प्रस्ताव गरेका छन्।
बङ्गलादेशको राजधानी ढाकास्थित प्यान प्यासिफिक सोनारगाँव होटेलमा आयोजित FACD-CAB को १४औँ अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गरेका भट्टराईले अन्तर्राष्ट्रिय शिक्षा, विद्यार्थी गतिशीलता र आप्रवासन नीतिका विषयमा दक्षिण एसियाली मुलुकहरूले समन्वय गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका हुन्। कार्यक्रममा बङ्गलादेश सरकारकी परराष्ट्र मन्त्रालयकी राज्यमन्त्री तथा सांसद शमा ओबैद इस्लाम, FACD-CAB का अध्यक्ष जुल्फीकार अलि ज्वेल, विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधि, शिक्षा नीति–निर्माता तथा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।
भट्टराईले नेपाल र बङ्गलादेश विश्वका प्रमुख अन्तर्राष्ट्रिय विद्यार्थी स्रोत राष्ट्रका रूपमा स्थापित रहेको उल्लेख गर्दै विद्यार्थीलाई असर गर्ने अन्तर्राष्ट्रिय शिक्षा तथा आप्रवासन नीतिका निर्णयमा दक्षिण एसियाली देशहरूको धारणा पनि प्रतिबिम्बित हुनुपर्ने बताए। उनका अनुसार अन्तर्राष्ट्रिय शिक्षा अब केवल अध्ययनको विषयमा सीमित नरही आप्रवासन, श्रम बजार, आर्थिक नीति र भू–राजनीतिसँग प्रत्यक्ष रूपमा जोडिएको छ।
यसै सन्दर्भमा उनले दक्षिण एसियाका समान उद्देश्य भएका शिक्षा संस्थाहरूको व्यावसायिक क्षेत्रीय गठबन्धन स्थापना गर्न प्रस्ताव गर्दै यसको नेतृत्व FACD-CAB ले गर्न सक्ने विश्वास व्यक्त गरे। प्रस्तावित गठबन्धनले नीति संवाद, अनुसन्धान, ज्ञान आदान–प्रदान, नैतिक मापदण्ड र अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा सामूहिक वकालतलाई अघि बढाउने उनको भनाइ थियो।
सम्बोधनका क्रममा भट्टराईले नेपाललाई सुरक्षित, किफायती र गुणस्तरीय उच्च शिक्षाको उदाउँदो अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा प्रस्तुत गर्दै ‘स्टडी इन नेपाल’ अभियानमा बङ्गलादेशका विश्वविद्यालय, शिक्षा परामर्श संस्था तथा सरोकारवालालाई सहकार्यका लागि औपचारिक आह्वान समेत गरे। उनले नेपाल सरकार र नेपालस्थित बङ्गलादेशी सरोकारवालाबिच अन्तर्राष्ट्रिय शिक्षा सहकार्य विस्तार गर्न अनुकूल वातावरण रहेको उल्लेख गरे।
भट्टराईले दक्षिण एसियाली राष्ट्रहरूबिच शिक्षा सहकार्य सुदृढ भए विद्यार्थी, विश्वविद्यालय तथा अनुसन्धान संस्थाबिचको साझेदारी विस्तार हुने र यसले क्षेत्रीय विकासमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।