काठमाडौँ — नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) को समन्वयमा ब्रिटिस काउन्सिल नेपालमा ल्याब भिजिट तथा सूचना आदानप्रदान (इन्फर्मेसन सेसन) कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मार्फत नेक्साका सदस्यहरूले ब्रिटिस काउन्सिलको सेवा प्रणाली, परीक्षा सञ्चालन प्रक्रिया तथा आईईएलटीएस सम्बन्धी पछिल्ला अद्यावधिकबारे जानकारी प्राप्त गरेका छन्।
कार्यक्रमको समन्वय नेक्साका सदस्य सम्राट जंग पाण्डेले गरेका थिए। कार्यक्रममा ब्रिटिस काउन्सिलका प्रतिनिधिहरूले आईईएलटीएस परीक्षासम्बन्धी विभिन्न महत्त्वपूर्ण जानकारी गराएका थिए।
ब्रिटिस काउन्सिलका अनुसार कम्प्युटर-आधारित आईईएलटीएस परीक्षाको नतिजा सामान्यतया २४ घण्टाभित्र प्रकाशित हुने गर्दछ। साथै, ‘वन स्किल रिटेक’ (OSR) सुविधा उपलब्ध रहेको र यसका लागि परीक्षार्थीले आफैँ आवेदन दिनुपर्ने जानकारी दिइएको छ।
हाल पेपर-आधारित आईईएलटीएस परीक्षाको शुल्क ३६ हजार २०० रुपैयाँ तथा कम्प्युटर-आधारित आईईएलटीएसको शुल्क ३६ हजार रुपैयाँ रहेको जनाइएको छ। ‘वन स्किल रिटेक’ का लागि २२ हजार रुपैयाँ शुल्क तोकिएको छ। पेपर-आधारित आईईएलटीएस सेवा जुन २७ सम्म उपलब्ध रहने जानकारी पनि कार्यक्रममा दिइएको थियो।
परीक्षाका क्रममा कुनै प्राविधिक समस्या वा त्रुटि देखिएमा तत्काल सम्बन्धित केन्द्रमा जानकारी गराउन परीक्षार्थीलाई आग्रह गरिएको छ। समस्या पुष्टि भएमा आवश्यकताअनुसार अतिरिक्त शुल्कबिनै पुनः परीक्षा मिति तय गर्न सकिने ब्रिटिस काउन्सिलले जनाएको छ।
यसै गरी, समयमै आईईएलटीएस परीक्षा बुक गर्ने परीक्षार्थीका लागि ‘IELTS Ready Premium’ सुविधा उपलब्ध रहेको जानकारी दिइएको छ। निःशुल्क तयारी सामग्रीका लागि ‘Free IELTS Familiarization Test’ मार्फत अभ्यास गर्न सकिने बताइएको छ।
नेक्साका सदस्य संस्थामा आबद्ध शिक्षकहरूका लागि निःशुल्क ‘Teacher Familiarization Test’ को सुविधा पनि उपलब्ध रहेको जानकारी कार्यक्रममा गराइएको थियो।
कार्यक्रममा सहभागीहरूले आईईएलटीएस परीक्षार्थी, शैक्षिक परामर्शदाता तथा शिक्षकहरूका लागि उपयोगी जानकारी प्रदान गरेको भन्दै ब्रिटिस काउन्सिल टोलीप्रति आभार व्यक्त गरेका थिए।