Matra Education आइतबार, साउन १० २०८३

शैक्षिक परामर्श क्षेत्रको आधिकारिक महासंघ खुल्दै, व्यवसाय गर्न पाउने वातावरण बनाउन पहल गर्ने

शैक्षिक परामर्श क्षेत्रको आधिकारिक महासंघ खुल्दै, व्यवसाय गर्न पाउने वातावरण बनाउन पहल गर्ने

  • मात्र एजुकेशन
  • मंगलबार, जेष्ठ १२ २०८३


काठमाडौँ- नेपाली विद्यार्थीलाई विदेश अध्ययन गर्नका लागि सहजीकरण गर्दै आएका शैक्षिक परामर्श व्यवसायीहरूले आधिकारिक महासंघ बनाउने पहल थालेका छन्। मंगलबार काठमाडौँमा सम्पन्न एक बैठकले यस सम्बन्धी निर्णय गरेको स्रोतले ‘मात्र एजुकेसन’ लाई बतायो।

केही शैक्षिक परामर्श संघहरु बिच आज भएको छलफल पछि उक्त निर्णय भएको बताइएको छ। यस क्षेत्रमा दिनानुदिन बढ्दै गएको चुनौतीका कारण तमाम व्यवसायीहरूलाई एकताबद्ध बनाउनु पर्ने र व्यवसाय क्षेत्र नै संकटमा पर्न लागेको बेला त्यसलाई जोगाउनु पर्ने भएकाले महासंघको परिकल्पना गरिएको बताइएको छ। अहिले एउटा प्रा.लि. कम्पनीलाई महासंघ भनेर चर्चा गरिएको, त्यसले पनि व्यवसायीका हकहितका लागि भन्दा साना उद्यमी, व्यवसायीलाई विस्थापित गराउन खोजेको, राजनीति गर्ने थलो मात्रै बनाएको र राज्यलाई यस क्षेत्रका बारेमा बुझाउनुपर्नेमा आफैँले चिठी लेखेर सिन्डिकेट लगाउन खोजेको भन्दै उनीहरूले त्यसकै विकल्पका रूपमा शैक्षिक परामर्श क्षेत्रको आधिकारिक महासंघ बनाउने निर्णय गरेको स्रोतको भनाई छ।

छलफलमा सहभागी एक शैक्षिक परामर्श संघका अध्यक्षले मात्र एजुकेसन सँगको संवादमा व्यवसाय जोगाउनकै लागि पनि महासंघको आवश्यकता भएको बताए। “देशमै लगानी गरेर, आफ्नै देशमा केही गर्छु भन्दा राज्यले अपराधी जस्तो व्यवहार गरेको छ।” उनले भने, “यो क्षेत्रको वास्तविकता र महत्त्व बुझाउने, नेपाल सरकारका विभिन्न निकायमा समन्वय गर्ने र मर्यादित रूपमा व्यवसाय गर्न पाउने वातावरण बनाउन यो महासंघले भूमिका खेल्नेछ।” नीति नियमको अधीनमा रहेर व्यवसाय गर्छु भन्ने सबै व्यवसायी जोगाउनु आफूहरूको पहिलो काम हुने उनले बताए।

आजको बैठकले महासंघ घोषणाको मोडालिटी पनि तयार गरेको स्रोतले बताएको छ। कोठे बैठक बाट महासंघ नबन्ने भन्दै उनीहरूले सार्वजनिक रूपमा वृहत् कार्यक्रम आयोजना गरेर, सातै प्रदेश बाट परामर्श व्यवसायीहरूलाई सहभागी गराएर उनीहरूको बिचमा छलफल गराउने र घोषणा गर्ने निर्णय गरेका छन्। देशभरका परामर्श व्यवसायीहरू र तिनका विभिन्न संघहरुलाई सिन्डिकेट विरुद्ध एक ठाउँमा उभिन र आधिकारिक महासंघमा आबद्ध हुन अपिल गरिएको छ। सहभागी संघहरु र अन्य जानकारी छिटै सार्वजनिक गर्ने तयारी रहेको बुझिएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड