Matra Education बुधबार, भाद्र २४ २०८३

चार शैक्षिक परामर्श संघहरुको संयुक्त विज्ञप्ति, कन्सल्टेन्सीलाई कारबाही अघि दर्ता-नवीकरणको समय देऊ

चार शैक्षिक परामर्श संघहरुको संयुक्त विज्ञप्ति, कन्सल्टेन्सीलाई कारबाही अघि दर्ता-नवीकरणको समय देऊ

  • मात्र एजुकेशन
  • मंगलबार, जेष्ठ १२ २०८३


काठमाडौँ- चार शैक्षिक परामर्श संघहरुले कन्सल्टेन्सीमाथि कारबाही अघि दर्ता तथा नवीकरणका लागि पर्याप्त समय दिन सरकारसँग माग गरेका छन्। मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले वैधानिक प्रक्रिया खुला नगरी सिधै नियन्त्रण र कारबाहीको नीति अपनाउँदा शैक्षिक परामर्श क्षेत्रमा त्रास र अन्योल बढेको बताएका छन्।

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल, एसोसिएसन अफ अस्ट्रेलियन एजुकेसन रिप्रेजेन्टेटिभ्स इन नेपाल, राष्ट्रिय शैक्षिक परामर्श संघ, नेपाल शैक्षिक परामर्श सेवा संघ लगायतका संस्थाले जारी गरेको संयुक्त विज्ञप्तिमा हाल सञ्चालनमा रहेका दर्ताविहीन तथा नवीकरण नभएका कन्सल्टेन्सीलाई कानुनी दायरामा ल्याउन सहजीकरण गर्नुपर्ने उल्लेख गरिएको छ।

विज्ञप्तिमा शिक्षा ऐन २०२८ अनुसार अनुमति नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न नपाइने व्यवस्था रहे पनि वर्षौँदेखि दर्ता प्रक्रिया बन्द हुँदा धेरै संस्था बाध्य भएर दर्ताविनै सञ्चालनमा आएको दाबी गरिएको छ। संघहरुले करिब तीन हजार कन्सल्टेन्सी दर्ताविना सञ्चालन भइरहेको उल्लेख गर्दै उनीहरूलाई जरिवाना सहित दर्ताको अवसर दिनुपर्ने बताएका छन्।

त्यस्तै, लगातार तीन वर्ष नवीकरण नगरेमा इजाजत पत्र स्वतः रद्द हुने कानुनी व्यवस्था भए पनि नवीकरण नगरेकै आधारमा व्यवसायीलाई पक्राउ गर्नु कानुनसम्मत नभएको विज्ञप्तिमा उल्लेख छ। सम्बन्धित संस्थालाई नवीकरणका लागि समय सीमा र सहजीकरण उपलब्ध गराउनुपर्ने माग पनि गरिएको छ।

संघहरुले सामान्य प्रशासनिक कमजोरीलाई समेत फौजदारी प्रकृतिको विषय बनाउँदै व्यवसायीलाई नियन्त्रणमा लिने कार्यले सम्पूर्ण क्षेत्रमा भय र असुरक्षाको वातावरण सिर्जना भएको बताएका छन्। यसले इमानदारीपूर्वक काम गरिरहेका व्यवसायी समेत निरुत्साहित हुने र दक्ष जनशक्ति पलायन हुने जोखिम बढाएको उनीहरूको भनाइ छ।

विज्ञप्तिमा ठगी, नक्कली कागजात, वित्तीय हिनामिना जस्ता आपराधिक कार्यमा संलग्न व्यक्ति वा संस्थामाथि भने कडा कानुनी कारबाही गर्नुपर्ने स्पष्ट धारणा राखिएको छ। साथै अनुसन्धान तथा कारबाही निष्पक्ष, पारदर्शी र न्यायिक सिद्धान्तअनुसार हुनुपर्नेमा जोड दिइएको छ।

संघहरुले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विद्यार्थीमैत्री बनाउन सरकारलाई स्पष्ट नीति, कानुनी सुधार तथा व्यवसायमैत्री वातावरण निर्माण गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड