Matra Education आइतबार, साउन १० २०८३

शैक्षिक परामर्श क्षेत्रका समसामयिक विषयमा फेकनको विशेष अन्तरक्रिया सम्पन्न

शैक्षिक परामर्श क्षेत्रका समसामयिक विषयमा फेकनको विशेष अन्तरक्रिया सम्पन्न

  • मात्र एजुकेशन
  • बुधबार, जेष्ठ ६ २०८३


काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले आफ्ना सदस्य व्यवसायीहरू सँग समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। मंगलबार बागबजार स्थित होटल हार्दिकमा आयोजित कार्यक्रममा संघका अध्यक्ष उमेश कुस्वारको अध्यक्षतामा शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिएको हो।

संघका महासचिव दिपेन्द्र पोखरेलका अनुसार अन्तरक्रियाबाट विभिन्न निष्कर्ष तथा कार्ययोजनाहरू तय गरिएको छ। केही सदस्य कम्पनीहरूको विशेष परिस्थितिलाई ध्यानमा राख्दै आवश्यक सहजीकरण तथा सहयोग गर्ने निर्णयसमेत गरिएको जनाइएको छ।

बैठकले पूर्ण रूपमा दर्ता तथा नवीकरण भएका सदस्य कम्पनीहरूको सूचीकरण गर्ने, विभिन्न कारणले संघ वा प्रदेशतर्फ नवीकरण छुटेका सदस्य कम्पनीहरूलाई तत्काल निवेदन पेस गर्न आग्रह गर्ने तथा प्राप्त विवरणका आधारमा सम्बन्धित निकायमा आवश्यक पहल र पैरवी गर्ने निर्णय गरेको छ।

त्यस्तै, अनुगमन सम्पन्न भएर पनि स्वीकृति पत्र लिन बाँकी रहेका सदस्य कम्पनीहरूको विषयमा आवश्यक समन्वय गर्ने तथा फाइल बुझाइसकेका तर अनुगमन हुन बाँकी सदस्य कम्पनीहरूको विवरण संकलन गरी आवश्यक पहल गर्ने कार्ययोजना तय गरिएको छ।

अन्तरक्रियामा नियमन तथा अनुगमन पूर्व सूचनाका आधारमा हुनुपर्ने धारणा व्यक्त गरिएको थियो। सहभागीहरूले दर्ता प्रक्रिया बन्द गर्नु व्यवसाय गर्न पाउने संवैधानिक अधिकारसँग जोडिएको विषय भएको उल्लेख गर्दै आवश्यक परे कानुनी प्रक्रियासम्म जानुपर्ने बताएका थिए। साथै एड टेक कम्पनीहरूको अनुगमन सम्बन्धी विषयमा समेत प्रश्न उठाइएको थियो।

कार्यक्रममा अन्य छाता सङ्गठनहरू सँग आवश्यक कार्यगत एकता र समन्वयका विषयमा पनि छलफल भएको फेकनले जनाएको छ। सम्पूर्ण विषयमा आवश्यक रणनीति बनाउन तथा कार्यान्वयनको जिम्मेवारी फेकन कार्यसमितिले लिएको जानकारी दिइएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड