Matra Education आइतबार, साउन १० २०८३

कन्सल्टेन्सी माथिको अनुसन्धानमा निष्पक्षता अपनाउन नेक्साको आग्रह

कन्सल्टेन्सी माथिको अनुसन्धानमा निष्पक्षता अपनाउन नेक्साको आग्रह

  • मात्र एजुकेशन
  • मंगलबार, जेष्ठ ५ २०८३


काठमाडौँ-नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) ले शैक्षिक परामर्श संस्थामाथि भइरहेको अनुसन्धान तथा कारबाही प्रक्रियामा निष्पक्षता र पारदर्शिता अपनाउन सरकारसँग आग्रह गरेको छ।

संघका महासचिव गणेश बेल्वासेले जारी गरेको प्रेस विज्ञप्तिमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय तथा विभिन्न सरकारी निकायबाट शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) हरूमाथि गरिएको अनुगमन, छापा र अनुसन्धानप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको हो।

नेक्साले विद्यार्थी तथा अभिभावकको हित, शैक्षिक क्षेत्रको गरिमा र कानुनी शासनलाई मध्यनजर गर्दै निष्पक्ष र तथ्यपरक छानबिन हुनुपर्नेमा आफूहरूको पूर्ण समर्थन रहेको उल्लेख गरेको छ। कुनै संस्था वा व्यक्तिले गैर कानुनी काम गरेको प्रमाणित भए प्रचलित कानुनअनुसार कारबाही हुनुपर्नेमा पनि नेक्साले स्पष्ट धारणा राखेको छ।

यद्यपि, अनुसन्धान प्रक्रिया जारी रहेका बेला पर्याप्त प्रमाण र आधिकारिक निष्कर्ष नआउँदै कुनै संस्था वा व्यक्तिलाई मिडिया ट्रायलमार्फत दोषी ठहर गर्ने कार्य नगर्न संघले आग्रह गरेको छ। नेपालको संविधानको धारा २० (५) अनुसार अदालतबाट दोषी प्रमाणित नभएसम्म कुनै पनि व्यक्ति कसुरदार नमानिने संवैधानिक व्यवस्था रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

नेक्साले विशेष गरी वैधानिक रूपमा दर्ता नगरी सञ्चालनमा रहेका कन्सल्टेन्सीमाथि कानुनी कारबाही हुनुपर्ने माग गर्दै यस्ता गतिविधिले सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रको विश्वसनीयता र प्रतिष्ठामा नकारात्मक असर परेको जनाएको छ।

संघले दर्ता नगरी सञ्चालन भएका संस्थालाई कानुनी दायरामा ल्याउने कार्य आवश्यक भए पनि सामान्य प्रशासनिक त्रुटिलाई लिएर दर्ता भएका संस्थामाथि असमान व्यवहार हुन नहुने उल्लेख गरेको छ। साथै, शिक्षा मन्त्रालयले भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कन्सल्टेन्सी दर्ता प्रक्रियालाई सहज, सरल र व्यवस्थित बनाउनुपर्नेमा पनि जोड दिएको छ।

नेक्साले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी, मर्यादित र उत्तरदायी बनाउन स्पष्ट मापदण्डसहितको “शैक्षिक परामर्श सेवा संस्था सञ्चालन सम्बन्धी नियमावली” तत्काल लागू गर्न सरकारसँग आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड