काठमाडौँ- शुक्रवार काठमाडौँ उपत्यकामा सञ्चालनमा रहेका केही शैक्षिक परामर्श केन्द्र (एजुकेसन कन्सल्टेन्सी) मा छापा मारेको प्रहरीले ६९ जना सञ्चालकहरूलाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले जारी गरेको सूचनामा विदेश अध्ययनका नाममा नेपाली नागरिकलाई ठगी गर्ने गरिएको गुनासो आएकाले पक्राउ गरिएको उल्लेख छ। सोही सूचनामा पक्राउ परेका शैक्षिक कन्सल्टेन्सीका सञ्चालकविरुद्ध उजुरी दिन समेत अनुरोध गरिएको छ। यसले पक्राउ पर्नेहरूको कसुर के हो ? भन्ने जिज्ञासा परामर्श व्यवसाय क्षेत्रमा रहेको छ ।
मात्र एजुकेसनले यही जिज्ञासा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई राखेको थियो। उनले दर्ता नगरी व्यवसाय सञ्चालन गर्नेहरू पक्राउ परेको बताए। “मापदण्ड पुरा नगर्ने, दर्ता नवीकरण नगर्ने र प्रचलित कानुन उल्लङ्घन गर्नेहरू पक्राउ परेका हुन्” उनले भने, “पक्राउ परेकाहरू विरुद्ध अहिले थप अनुसन्धान भइरहेको छ , हामीले ठगीमा परेकाहरू सँग पनि उजुरी मागेका छौँ। यो अभियान भोलिका दिनमा पनि निरन्तर रहन्छ।”
दर्ता भएका, नवीकरणको प्रक्रिया पुरा गरेका (प्रदेशको सूचनाको आधारमा ) तर सम्बन्धित कार्यालयले नै प्रमाणपत्र नदिएका कारण कार्यालयमा प्रमाणपत्र देखाउन नसकेकाहरू पनि पक्राउ गरिएको रहेछ नि ? भन्ने हाम्रो प्रश्नमा त्यस्ता व्यवसायीहरूले दर्ता/नवीकरणको प्रमाणपत्र ल्याए छोडिने उनले बताए। तर ठगी लगायतका अन्य कसुरहरू त्यस्ता व्यवसायीमाथि लागको हुन नहुने उनको भनाई थियो।
यस अघि कार्यालयले सार्वजनिक सूचना जारी गर्दै विदेश अध्ययनका नाममा नेपाली नागरिकलाई ठगी गरिएको गुनासो प्राप्त भएको जनाएको थियो । शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका २०७३ अनुसार तोकिएका मापदण्ड पूरा नगरी, दर्ता नवीकरण नगरी तथा अनुमति बिना शैक्षिक परामर्श, भाषा शिक्षण र पूर्व तयारी कक्षा सञ्चालन गर्ने संस्थामाथि निगरानी बढाइएको कार्यालयको भनाई छ।
कार्यालयले विदेश पठाइदिने प्रलोभनमा नपर्न र कानुनी प्रक्रिया पूरा गरेका संस्थाबाट मात्र सेवा लिन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ।
