काठमाडौँ- नेपालको शैक्षिक परामर्श सेवा क्षेत्रमा स्थापित नाम कंगारु एजुकेशन फाउण्डेशनले आफ्नो २० औँ स्थापना दिवस (‘कंगारु डे’) विविध कार्यक्रम सहित उत्साहपूर्वक मनाएको छ।
काठमाडौँको बागबजारस्थित पर्पल हाउसमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले देशभर फैलिएका ११ वटा शाखामार्फत सेवा दिँदै आएको छ। २० वर्षको यात्रालाई संस्थाले उत्सवको रूपमा मात्रै नभई उपलब्धि, विश्वास, सेवा र भविष्यप्रतिको प्रतिबद्धता झल्काउने अवसरका रूपमा प्रस्तुत गरेको जनाएको छ।
सो अवसरमा देशभरका सबै कार्यालयहरूमा विभिन्न गतिविधि सञ्चालन गरिनुका साथै मुख्य कार्यक्रम काठमाडौँ स्थित केन्द्रीय कार्यालयमै आयोजना गरिएको थियो। वैदेशिक अध्ययनका लागि अष्ट्रेलिया, न्युजिल्याण्ड, युके, अमेरिका र क्यानडा जान इच्छुक विद्यार्थीहरूलाई परामर्श दिँदै आएको संस्थाले सोही दिन “युके तथा न्युजिल्याण्ड भर्ना दिवस” समेत आयोजना गरेको थियो।
भर्ना दिवसमा युके र न्युजिल्याण्डका ४५ भन्दा बढी शैक्षिक संस्थाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्रत्यक्ष परामर्श, आवेदन प्रक्रिया सहज बनाउने सेवा, छात्रवृत्तिका अवसर र विभिन्न छुट सुविधा पाएका थिए।
२० औँ स्थापना दिवसकै सन्दर्भमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गर्नुका साथै महिला फुटबल खेलाडीहरूलाई सम्मान गरेको, पुस्तकालय स्थापना गर्ने घोषणा गरेको र देशभरका कार्यालय प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी र शाखाहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो। साथै, आगामी पाँच वर्षका लागि संस्थागत विकास, डिजिटल रूपान्तरण, सेवा विस्तार र गुणस्तरीयता केन्द्रित रणनीतिक योजना सार्वजनिक गरिएको जानकारी दिइएको छ।
साँझको समयमा कर्मचारी, विश्वविद्यालय तथा कलेज साझेदार र शुभेच्छुकहरूको सहभागितामा विशेष उत्सव कार्यक्रम समेत आयोजना गरिएको थियो, जसले २० वर्षे यात्रालाई थप उल्लासमय बनाएको थियो।
संस्थाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेश बाबु तिमल्सिनाले २० वर्षको यात्रा विश्वास, निरन्तरता र समर्पणको प्रतिफल भएको उल्लेख गर्दै आगामी दिनमा प्रविधिमैत्री, गुणस्तरीय र प्रभावकारी सेवा विस्तारमार्फत नयाँ उचाइमा पुग्ने लक्ष्य रहेको बताए ।
विद्यार्थी, अभिभावक, साझेदार संस्था, कर्मचारी तथा शुभेच्छुकहरूको साथ र विश्वासप्रति आभार व्यक्त गर्दै संस्थाले आगामी दिनमा अझ विद्यार्थी केन्द्रित र आधुनिक सेवामार्फत अघि बढ्ने प्रतिबद्धता जनाएको छ।