Matra Education आइतबार, साउन १० २०८३

जेपिटि नेपालको ‘मिट एण्ड ग्रिट’ कार्यक्रम भव्यताका साथ सम्पन्न

जेपिटि नेपालको ‘मिट एण्ड ग्रिट’ कार्यक्रम भव्यताका साथ सम्पन्न

  • मात्र एजुकेशन
  • सोमबार, फाल्गुन १८ २०८२


काठमाडौँ- जापनिज प्रोफिसियन्सि टेस्ट (जेपिटि) नेपालले आयोजना गरेको ‘मिट एण्ड ग्रिट’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। आइतबार धुम्बाराही स्थित स्मार्ट महलमा आयोजित कार्यक्रम जेपिटि नेपाल बारे छलफल, अन्तरक्रिया तथा साझेदारहरूलाई सम्मान गर्दै सम्पन्न भएको हो।

जेपिटि नेपालका अध्यक्ष थानेश्वर भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा जेपिटि जापान प्रमुख र्योसुके कितादा रहेका थिए। जेपिटि बंगलादेशका प्रमुख अन्जान दास विशेष अतिथि रहेको उक्त समारोहमा जापनिज भाषा स्कुल संघ (जाल्सान) का कार्यवाहक अध्यक्ष महेश श्रेष्ठ, सक्रिय शैक्षिक परामर्श संघ (एइक्यान) का अध्यक्ष किशोर तिवारी सहित अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको आतिथ्य रहेको थियो। कार्यक्रममा जेपिटिका साझेदार परामर्श व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै जेपिटि नेपालका सह-संस्थापक नरेश भण्डारीले आपसी सद्भाव र मित्रता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले सबैको साथले संस्था यहाँसम्म आइपुगेको उल्लेख गर्दै आगामी दिनमा पनि साझा उद्देश्य प्राप्तिका लागि सहकार्य जारी रहने भनाई राखे।

एइक्यान अध्यक्ष तिवारीले जेपिटि नेपालमा टेस्टहरू मध्ये पछिल्लो चरणमा आएको भए पनि राम्रो व्यावसायिक वृद्धि गरिरहेको बताए। १२ महिना नै परीक्षा दिन पाउने भएकाले यो अरूभन्दा राम्रो भएको उनको भनाई थियो। जापानी भाषा परीक्षामा अलग पहिचान बनाएको जेपिटिले भोलिका दिनमा पनि सफलता पाओस् भन्ने कामना उनले गरे।

जाल्सनका कार्यवाहक अध्यक्ष श्रेष्ठले आफ्नो संस्थालाई आमन्त्रण गरेकोमा आयोजकलाई धन्यवाद दिए। उनले यस्तै जापानी भाषा परीक्षाहरूकै कारण आफूहरूको व्यवसाय सहज भएको उल्लेख गरे। परीक्षाहरू व्यवस्थित र मर्यादित हुनुपर्नेमा जोड दिएका उनले जल्सानले त्यसका लागि विभिन्न परीक्षाहरू सँग सहकार्य गरेर समय समयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको र भोलिका दिनमा पनि गर्ने बताए।

साझेदार परामर्श व्यवसायीहरूको प्रतिनिधित्व गर्दै मन्तव्य दिएका लाइफलाइन अब्रोड स्टडीका सञ्चालक मुकेश खतिवडाले जेपिटिले राम्रो सेवा दिइरहेको बताए। प्रत्येक महिना परीक्षा हुने हुँदा यसले विद्यार्थीलाई धेरै सहज बनाएको उनको भनाई थियो। खतिवडाले प्रमाणपत्रहरू बिग्रिए तुरुन्तै सच्चाउन पाउने सुविधाले पनि जेपिटिलाई पृथक् बनाएको बताए। नमुना प्रश्नहरूको कम्तीमा १० वटा सेट उपलब्ध गराए अझै राम्रो हुने उनको सुझाव थियो।

कार्यक्रममा जेपिटि नेपाली आगामी वर्ष २०२६ को क्यालेन्डर उद्घाटन तथा नयाँ ‘सिस्टम’ उद्घाटन समेत गरिएको थियो। सह-संस्थापक नरेश भण्डारीले उक्त ‘सिस्टम’ बारे जानकारी गराएका थिए। त्यस्तै कार्यक्रममा जेपिटिका करिब १०० साझेदारलाई प्रमाणपत्र सहित सम्मानित गरिएको थियो।

जेपिटि बंगलादेशका प्रमुख दासले नेपाल आएर खुसी लागेको भन्दै फेरि आउने चाहना व्यक्त गरे। उनले आफूले बंगलादेशमा प्रयोग गर्दै आएको
कार्यक्रममा ‘जेपिटि सिस्टम’ बारे जानकारी दिँदै नेपालमा पनि त्यो प्रयोग होस् भन्ने चाहना राखे। जापान जाँदा भाषा दक्षता नै सफलताको चाबी भएको बताएका उनले बंगलादेशमा जेपिटि को अवस्था बारे प्रस्तुतीकरण समेत दिए।

कार्यक्रमका प्रमुख अतिथि कितादाले जेपिटि १५ वटा देशमा सञ्चालनमा रहेको बताए। सन् २०२५ मा मात्रै नेपाल बाट मात्रै १५००० ले यो परीक्षा दिएको र विश्वकै दोस्रो स्थानमा नेपाल रहेको जानकारी दिए। यो वर्ष अझै उल्लेखनीय रूपमा विद्यार्थी सहभागिता बढोस् भन्ने आफूहरूको चाहना रहेको उनले बताए। अहिले नेपाल बाट आधारभूत भाषा परीक्षा (इलिमेण्ट्रि) मात्रै भएको र आउँदो अप्रिल महिना बाट भोकेसनल तथा विश्वविद्यालय तहको परीक्षा पनि लिने तयारी गरिएको उनले बताए। यसले जापानमा भाषा पढेर दीक्षित भएकालाई समेत फाइदा गर्ने उनको भनाई थियो। उनले जापानको तर्फबाट गर्नुपर्ने सबै कामका लागि सहयोग हुने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका सभापति भण्डारीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै औपचारिक कार्यक्रम समापन गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड