Matra Education आइतबार, साउन १० २०८३

महत्त्वपूर्ण छलफल गर्दै फेकनको १५ औँ वार्षिक साधारण सभा सम्पन्न

महत्त्वपूर्ण छलफल गर्दै फेकनको १५ औँ वार्षिक साधारण सभा सम्पन्न

  • मात्र एजुकेशन
  • आइतबार, पौस २७ २०८२


काठमाडौँ- शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिवार राजधानीको गैरीधारा स्थित सिल्भर ओक बैक्वेट एन्ड इभेन्ट्समा आयोजित एक भव्य समारोह बिच संस्थाले साधारण सभा सम्पन्न गरेको हो। परामर्श व्यवसाय क्षेत्रका महत्त्वपूर्ण मुद्धाहरुमा गहन छलफल गर्दै उक्त साधारण सभाले ती समस्याहरूमा राज्यको ध्यानाकर्षण गराएको छ।

फेकन अध्यक्ष उमेश कुश्वारको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षा मन्त्रालय अन्तर्गत शैक्षिक परामर्श प्रमाणीकरण शाखा प्रमुख सेमान्त कोइराला प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा विशेष अतिथिका रूपमा नेपालका लागि न्युजिल्यान्डकी मानार्थ वाणिज्यदूत लिसा चोइगल, भिक्टोरिया, अस्ट्रेलियाका लागि नेपालको मानार्थ वाणिज्यदूत नीराजन गौली, न्युयोर्क, अमेरिकाका लागि नेपालका पूर्व वाणिज्यदूत तथा फेकन सल्लाहकार नारायण प्रसाद मैनाली, अस्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत महेश दाहाल, बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख रुद्र शर्मा, त्रिभुवन विश्वविद्यालयका पूर्व सहायक डिन तथा फेकनका सल्लाहकार प्रा डा खेमबन्धु कोइराला लगायत उपस्थित थिए। कार्यक्रममा आइडिपी तथा ब्रिटिस काउन्सिलका प्रतिनिधि, विभिन्न छाता संगठनका प्रतिनिधि, विभिन्न शैक्षिक संस्था तथा साझेदारहरूका प्रतिनिधि तथा अन्य आमन्त्रित व्यक्तिहरू अतिथिका रूपमा रहँदा फेकन सदस्य परामर्श व्यवसायीहरूको बाक्लो उपस्थिति कार्यक्रममा रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै फेकनका वरिष्ठ उपाध्यक्ष छविन्द्र ओझाले फेकनको स्थापना काल देखि हालसम्म खेलेका भूमिकाको बारे संक्षिप्त चर्चा गरे। उनले संस्थालाई यहाँसम्म ल्याउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिए। ओझाले विभिन्न ठाउँ र समयमा संस्थाले लिएको नेतृत्वदायी भूमिका बारे उपस्थित सबैलाई स्मरण गराउँदै राज्यले परामर्श व्यवसाय क्षेत्रलाई समयमा कानुन समेत दिन नसकेको र सञ्चालन प्रक्रियामा समेत अवहेलना गरेको बताए। यस्तो समस्या छिटै समाधान हुनुपर्ने उनको माग थियो।

कार्यक्रम सञ्चालक तथा संस्थाका महासचिव दिपेन्द्र पोखरेलले पनि उपस्थित अतिथिलाई संस्थाले विभिन्न समयमा खेलेको भूमिका बारे जानकारी गराउँदै फेकनले प्राथमिकताका साथ उठाउँदै आएको नेपाललाई शैक्षिक हब बनाउने अभियान बारे अवगत गराए। उनले सबैलाई रचनात्मक सल्लाह, सुझाव र आवश्यक सहयोगका लागि अपिल पनि गरे।

फेकनलाई शुभकामना दिन पुगेका विभिन्न संस्थाका प्रतिनिधिहरूले परामर्श व्यवसाय क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन १५ वर्ष सम्म फेकनले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै बधाई तथा शुभकामना दिए।

फेकन गण्डकीका निवर्तमान अध्यक्ष सञ्जय सुवेदी, फेकनका संस्थापक अध्यक्ष मान ब राई र पूर्व अध्यक्ष युवराज कटवालले शैक्षिक परामर्श व्यवसाय क्षेत्रका समस्या र समाधानका उपाय बारे साधारण सभाको ध्यानाकर्षण गराए।

फेकनका निवर्तमान अध्यक्ष राजु निरौलाले परामर्श व्यवसायका समस्या र त्यस प्रति सरकारको उदासीनता बारे चर्चा गरे। प्रदेशमा दर्ता भएका व्यवसायहरू समेत समस्यामा रहेको उनको भनाई थियो। प्रदेश र केन्द्र बाट लाइसेन्स नलिएकाहरू तत्काल बन्द गर्न र राम्रो सँग काम गरिरहेकाहरूलाई समेत उनीहरूले गराएको बदनामी बाट मुक्त गराउन राज्य सँग उनको माग थियो।

कार्यक्रमका विशेष अतिथि शर्माले प्रदेश सरकारले शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित गर्न गरिरहेका कामहरूको चर्चा गरे। उनले तिन तहको सरकारको जिम्मेवारी कानुनले नै परिभाषित गरिदिएको भन्दै ७२१ वटा संस्था त्यसैको आधारमा प्रदेश सरकारमा दर्ता भएको बताए। शिक्षा मन्त्रालयले प्रदेश बाट स्वीकृति प्राप्त संस्थाको समेत अपनत्व लियोस् भन्ने चाहना रहेको उनले बताए। शर्माले प्रदेश सरकार बाट जारी भएका स्वीकृति पत्र मान्य हुनेमा ढुक्क रहन व्यवसायीहरूलाई आग्रह गरे। साधारण सभा जस्ता फोरममा सरकार पक्ष र सरोकारवाला बिच छलफल हुनुपर्ने उनको भनाई थियो।

न्युजिल्यान्डकी मानार्थ वाणिज्यदूत चोइगलले एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा पहिलो पटक आरोहण गरेको चर्चा गर्दै नेपाल-न्यु जिल्यान्ड सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गरिन्। न्यु जिल्यान्ड पढ्न अझै धेरै नेपाली विद्यार्थी आउन् र उनीहरू गुणस्तरीय शिक्षा लिएर नेपाल फर्किउन् भन्ने आफूहरूको चाहना रहेको उनले बताइन्। फेकनको कार्यक्रमहरूमा यस अघि पनि आफू आएको स्मरण गर्दै उनले फेकन सँग निरन्तर संवाद जारी राख्ने उल्लेख गरिन्।

कार्यक्रमका प्रमुख अतिथि कोइरालाले फेकनले १५ औँ वर्ष पार गरेकोमा बधाई तथा शुभकामना दिए। उनले संघीय सरकारले एक किसिमले काम गरिरहेको र प्रदेश र स्थानीयले आफ्नै हिसाबले काम गरिरहेको बताए । कानुन निर्माणको ढिलाइ र समन्वयको अभावले समस्या उत्पन्न भएको उनको भनाई थियो। शिक्षा मन्त्रालयले प्रदेशका सामाजिक विकास मन्त्रालयहरूलाई प्रदेशहरूले दिएको स्वीकृतिको विवरण मागेको हुँदा अब केही समयमै स्वीकृत संस्थाहरू र दर्ता बिना चलेका संस्थाहरू छुट्टिने उनले बताए। एनओसी विदेशी मुद्रा सँग जोडिने हुँदा प्रदेशमा दिन नसकिने तर जिल्ला जिल्लामा रहेका संघीय सरकारकै संरचना बाट दिन सकिने उनको भनाई थियो। स्वीकृति नलिएकालाई बन्द गराउन मन्त्रालय तयार रहेको र हाल जारी रहेको नवीकरणको सकिएपछि त्यो काम अघि बढ्ने उनले बताए।

औपचारिक कार्यक्रमको खुला सत्रलाई समापन गर्दै कार्यक्रमका सभापति तथा फेकन अध्यक्ष कुश्वारले १५ औँ वार्षिक साधारण सभालाई सभ्य र भव्य बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए। उनले संस्थालाई नेतृत्व गरेर यहाँसम्म ल्याउने सबैलाई धन्यवाद दिँदै फेकनको यो कार्यसमिति संस्थालाई अझै बृहत् र बलियो बनाउन लागिपरेको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड