Matra Education आइतबार, साउन १० २०८३

इक्यानका सफल कोषाध्यक्ष आसिक कार्की अब सचिव पदका दाबेदार

इक्यानका सफल कोषाध्यक्ष आसिक कार्की अब सचिव पदका दाबेदार

  • मात्र एजुकेशन
  • शुक्रबार, पौस २५ २०८२


काठमाडौँ– नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का वर्तमान कोषाध्यक्ष आसिक कार्कीले आगामी कार्यसमितिका लागि सचिव पदमा उम्मेदवारी दर्ता गरेका छन्। उनलाई इक्यानको आगामी सचिवको बलियो र सशक्त दाबेदारका रूपमा हेरिएको छ।

मुखले होइन, काम गरेर देखाउने शैलीका कार्कीले कार्यसमिति सदस्य हुँदै कोषाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएका छन्। इक्यानको आर्थिक कोषलाई पारदर्शी र प्रभावकारी रूपमा परिचालन तथा व्यवस्थापन गरेको भन्दै व्यवसायी सदस्यहरूबिच उनको प्रशंसा हुने गरेको छ।

गत निर्वाचनमा कोषाध्यक्ष पदको उम्मेदवार हुँदा अघि सारेका अधिकांश एजेन्डा र कार्ययोजना निर्वाचित भएपछि कार्यान्वयन गरेको कार्कीले बताएका छन्। ‘मैले गरेको बाचा र बोकेको जिम्मेवारी पूरा गर्ने सन्दर्भमा कतै प्रश्न उठ्ने ठाउँ दिएको छैन,’ उनले भने, ‘कोषको आम्दानी बढाउने, अनावश्यक खर्च कटौती गर्ने र व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि संस्थागत पहल गर्नु नै मेरो मुख्य जिम्मेवारी थियो।’

कार्कीले कोषाध्यक्षसँगै इक्यानको मिडिया विभाग संयोजकको जिम्मेवारी पनि प्रभावकारी रूपमा निर्वाह गर्दै आएका छन्। संस्थागत प्रचारप्रसारमा उल्लेखनीय भूमिका खेलेका उनी सञ्चारकर्मीमाझ सरल र व्यवहारिक छविका रूपमा चिनिँदै आएका छन्।

उनकै पहलमा करसम्बन्धी देशव्यापी तालिम तथा गोष्ठी सञ्चालन गरी व्यवसायीहरूलाई करसम्बन्धी सही जानकारी प्रदान गरिएको थियो। काठमाडौँ धाउनुपर्ने बाध्यता हटाउँदै ओडीएमबी सेवामार्फत जापान, युके र अस्ट्रेलियाको बायोमेट्रिक सेवा मोफसलबाटै उपलब्ध गराउने व्यवस्था मिलाइएको छ, जसले व्यवसायीहरूको समय र खर्च दुवै बचत भएको छ।

यसै गरी बैंकहरू सँग समन्वय गरी विना धितो १५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने व्यवस्था, स्ट्यान्डर्ड चार्टर्ड र सिटिजन्स बैंक सँग सहकार्यमा क्युआर तथा फोन पे मार्फत क्रेडिट सेवा सहजीकरण गर्ने काम पनि उनको कार्यकालका महत्त्वपूर्ण उपलब्धिहरूमा पर्दछन्। कोभिड–१९ पछि रोकिएका ४ हजार १०० जापान भिसा आवेदनको समस्या समाधान गर्नुका साथै पिटिई परीक्षाको मिति सहज रूपमा उपलब्ध हुने अवस्था सिर्जना गर्न पनि उनको भूमिका उल्लेखनीय रहेको छ।

इक्यानका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक पर्दा फण्ड कलेक्सनमा विशेष योगदान दिएका कार्कीले कतिपय अवस्थामा आफ्नै कम्पनीबाट प्रायोजन गरेर समेत कार्यक्रम सफल बनाएका छन्।

शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, सशक्त र सम्मानित बनाउने अभियानमा लामो समयदेखि सक्रिय कार्कीले अब सचिवको जिम्मेवारी लिएर संस्थागत सुदृढीकरण र प्रशासनिक सुधारमा अझ प्रभावकारी भूमिका खेल्ने बताएका छन्। ‘इक्यानमा थिति बसालेका छौँ, अब गति दिनेछौँ,’ उनले भने, ‘संस्थागत मजबुती र व्यवसायी हकहितका लागि समर्पित भएर काम गर्ने अवसर चाहन्छु।’

कोषाध्यक्षका रूपमा इक्यानलाई कर्पोरेट उचाइमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएको स्मरण गर्दै कार्कीले आगामी जिम्मेवारीका लागि सम्पूर्ण इक्यान सदस्यहरूसँग साथ, सहयोग र अमूल्य मतको आग्रह गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड