काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी कार्यसमिति चयनका लागि हुने निर्वाचनमा प्यानलगत प्रतिस्पर्धा हुने तय भएको छ। मंगलबार भएको उम्मेदवारी दर्ताका क्रममा वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रयु) र महासचिव दीपकराज भुसालले आ-आफ्नो प्यानल सहित अध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि दुई प्यानल बिच प्रतिस्पर्धा हुने निश्चित भएको हो। निर्वाचनको कार्यसूची सहित इक्यानको २० औँ साधारणसभा आगामी पुस २८ गते हुँदै छ।
१८ पदका लागि हुने आगामी निर्वाचनका लागि ३४ जनाले उम्मेदवारी दिएका छन्। पौडेल र भुसाल बिच अध्यक्षका लागि प्रतिस्पर्धा हुँदा ३ उपाध्यक्षका लागि इक्यान सदस्यहरूले ७ जनाको विकल्प पाएका छन्। गीता सिवाकोटी, वासुदेव दाहाल, पुष्पराज भट्टराई, मन्जित ढकाल, फिलिपकुमार डाँगी क्षेत्री, विकल्पराज पोखरेल र रत्न बहादुर भट्टराईले उपाध्यक्षको उम्मेदवारी दर्ता गराएका हुन्।
इक्यान महासचिवको एक पदका लागि वर्तमान कार्यसमितिका सचिव भवनाथ हुमागाईँ र जीआइइसीका सञ्चालक नवराज केसी खत्रीले उम्मेदवारी दिएका छन्। हुमागाईँ भुसाल प्यानल र केसी पौडेल प्यानलका उम्मेदवार हुन्।
यता २ जना सचिवको लागि ४ जनाले उम्मेदवारी दर्ता गरेका छन् भने १ जना कोषाध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ। सचिवमा सुरज सिलवाल र आसिक कार्की तथा कोषाध्यक्षमा उमा खड्काले भुसाल प्यानल बाट उम्मेदवारी दिएका छन् भने पौडेल प्यानलबाट भूपाल केसी र एलवि तामाङ सचिवको उम्मेदवार बन्दा साधना पुडासैनीले कोषाध्यक्षमा उम्मेदवारी दिएकी छिन्। सहकोषाध्यक्षमा भुषाल प्यानलबाट गोविन्द खनाल र पौडेल प्यानलबाट भिमबहादुर थापाले उम्मेद्वारी दर्ता गरेका छन्।
९ जना सदस्य चाहिनेमा १४ जनाको उम्मेदवारी परेको छ। सदस्यको उम्मेदवारहरूमा अशोक कुमार हाथि, प्रकाश रिजाल, अनन्तराज घिमिरे, विवेक बस्नेत, दामोदर शर्मा न्यौपाने, सञ्जीव पाण्डे, नवराज नेपाल, उद्धव वन, कमल प्रसाद तिमल्सिना, वसन्त पाण्डे, प्रभात पौडेल, भेषराज राय, दिनेश पौडेल, शिव प्रसाद अर्यालले उम्मेदवारी दिएका छन्।